एउटा लघु कथा

A notice in Nepali from Mechinagar Ward No. 10

पदमबहादुर कार्की

साँझको बेला थियो। गाउँको आकाशमा हरियो–गुलियो उज्यालो मिसिएको थियो। यशोदा घरमा कपडा सिउँदै थिई। अचानक सियो हातबाट खस्न पुग्यो।
“ए… सियो कहाँ गयो?” उनले भनी र खोज्न थालिन्।
खाटमुनि हेरिन, भाँडाको ढक्कनमुनि हात पुर्याइन्, कपडाको गादी ओल्टाइन्— तर सियो कतै भेटिएन।
थकित भएर उनी बाहिर निस्किइन्। आँगन पारीको बाटोमा बत्ती बलिसकेको थियो। हावासँग खेल्दै उज्यालो धरहराजस्तो चम्किरहेको थियो। यशोदा त्यही उज्यालोमा झुकेर धुलो खोज्न थालिन्।
त्यतिबेलासम्म छोरा लोमश स्कुलबाट फर्किसकेको थियो। उसले आमालाई देख्यो— हातमा खाली धागो, आँखामा चिन्ता।
“आमा, तपाईं के खोज्दै हुनुहुन्छ?”
“सियो,” यशोदाले छोटकरीमा भनिन्।
“तर सियो त घरभित्र हराएको होइन र?” लोमशले अचम्म मान्दै भन्यो।
यशोदा मुस्कुराइन्, हल्का ओठ काँप्दै बोले—
“हो, भित्र हराएको हो। तर भित्र अँध्यारो छ, यहाँ उज्यालो छ, त्यसैले यहाँ खोज्दै छु।”
लोमश हाँस्यो, तर केहीबेरमा उसको हाँसो थामियो। आमाको उत्तरमा कुनै गहिरो कुरा लुकेको महसुस भयो।
यशोदा बिस्तारै उठिन् र आकाशतिर हेर्दै भनिन्,
“बाबु, कहिलेकाहीँ हाम्रो दुःख, हाम्रो गल्ती, हाम्रो सम्झना— सबै मनभित्र हराउँछन्। तर हामी तिनलाई बाहिर खोज्छौं, जहाँ उज्यालो छ, जहाँ सबैले देख्छन्। भित्र पस्न डर लाग्छ, किनकि त्यहाँ अँध्यारो छ।”
लोमश निःशब्द रह्यो।
त्यो साँझ ऊ पहिलोपटक बुझ्यो—
साँचो खोज सधैं उज्यालोमा होइन, कहिलेकाहीँ अँध्यारोमा गर्नुपर्ने रहेछ।
यशोदाले ढोका खोलिन्, कोठाभित्र गइन्।
मलिनो दीप बालिन्, अनि त्यो उज्यालोको मद्धिम छायाँमा,
सियो चम्किरहेको थियो— त्यहीँ, जहाँबाट हराएको थियो।
उनले सियो उठाइन्, हौसिँदै भनिन्,
“हे बाबु, हेर्, सियो भेटियो। भित्रको अँध्यारोमा पनि उज्यालो लुकेको रहेछ।”
र त्यसपछि कोठा शान्त रह्यो—
तर लोमशको मनभित्र,
एउटा नयाँ उज्यालो बलिसकेको थियो ।

[मेचीनगर नगरपालिकाका आर्थिक प्रशासन प्रमुख कार्कीको मुहारपुस्तिकाबाट हामीले लिएका हौं । ]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.