काठमाडौं । नेपाल चलचित्र संघले आउँदो पुस १० गतेदेखि फिल्म हल खोल्ने घोषणा गरेको छ ।
कोरोना भाइरस महामारी रोकथामका लागि २०७६ चैतमा सरकारले बन्द गरेको फिल्म हलहरु ९ महिना बितिसक्दा पनि खोल्ने निर्णय भएको छैन । तर हल व्यवसायीहरुले हिजो सोमबार पत्रकार सम्मेलन गरी पुस १० गतेदेखि एकतर्फी रुपमा हल खोल्ने घोषणा गरेका हुन् ।
सरकारले बारम्बार आफूहरुको मागलाई बेवास्ता गरेकाले एकतर्फी रुपमा हल खोल्ने घोषणा गर्नुपरेको संघका अध्यक्ष मधुसुदन प्रधानले बताए । ९ महिना हल बन्द हुँदा व्यवसायीलाई २ अर्ब रुपैयाँ भन्दा बढी घाटा लागेको उनको भनाइ छ ।
चलचित्र संघका महासचिव अशोक शर्माले विगत ७ महिनायता सरकारसँग आफूहरुको व्यवसायसँग जोडिएका विभिन्न माग राख्दै आएपनि आश्वासन मात्र दिएको बताए । ‘हरेक पटकको भेटमा हामीलाई आश्वासन मात्र दिने काम भयो । अब बाध्य भएर हामी हल खोल्ने निर्णयमा पुगेका हौं’ उनले भने ।
पुस १० गते हल खोल्दा सरकारले बन्द गराउन खोजेमा आफूहरु गिरफ्तारी दिन पनि तयार रहेको महासचिव शर्माले बताए ।
व्यवसायीहरुले अहिले ५० प्रतिशत अकुपेन्सीमा सुरक्षा मापदण्ड अपनाएर हल खोल्ने तयारी गरेका छन् । पत्रकार सम्मेलनमा शर्माले भने, ‘अहिले नै हामीलाई हलमा दर्शकको मारामार भिड हुन्छ भन्ने लाग्दैन । तर, हल खोल्दा चलचित्र क्षेत्र चलायमान हुने वातावरण बन्छ । यसैले, यो निर्णय गर्न बाध्य भएका हौं ।’