५ असार, मेचीनगर : नेपाल स्काउटको ७५औँ स्थापना दिवसको अवसरमा नेपाल स्काउट मेचीनगरद्वारा आयोजित अन्तर स्काउट दल निबन्ध लेखन प्रतियोगिता बिहीबार मेचीनगर–४ स्थित सरस्वती माध्यमिक विद्यालयमा सम्पन्न भएको छ।
‘लागुऔषध दुर्व्यसन एक सामाजिक समस्या’ शीर्षकमा आयोजित प्रतियोगितामा मेचीनगर नगरपालिकाभित्रका २० वटा विद्यालयका स्काउट दलको सहभागिता रहेको थियो। प्रतियोगितामार्फत विद्यार्थीहरूमा सिर्जनात्मक लेखन क्षमता अभिवृद्धि गर्नुका साथै लागुऔषध दुर्व्यसनजस्ता सामाजिक विकृतिप्रति सचेतना फैलाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
नेपाल स्काउट मेचीनगरका स्थानीय प्रमुख आयुक्त रीता थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेचीनगर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष अर्जुन कार्की प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी राष्ट्रिय प्रशिक्षक एवं राष्ट्रिय परिषद् सदस्य भूवन सुब्बा विशिष्ट अतिथि तथा सहायक राष्ट्रिय प्रशिक्षक एवं प्रदेश परिषद् सदस्य मीनाकुमारी कटुवाल विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
प्रमुख अतिथि अर्जुन कार्कीले समाजमा बढ्दो लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि परिवार, विद्यालय, समुदाय र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई सिर्जनात्मक गतिविधिमा सहभागी गराउँदै सामाजिक विषयमा सचेत बनाउनु आजको आवश्यकता भएको धारणा व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि भूवन सुब्बाले स्काउट केवल अतिरिक्त क्रियाकलाप नभई जीवन जिउने कला सिकाउने अभियान भएको बताउनुभयो। उहाँले निबन्ध लेखन प्रतियोगिताले विद्यार्थीहरूलाई समाजका समस्या बुझ्न, विश्लेषण गर्न र समाधान खोज्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।
अतिथि तथा सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक भीमकुमार श्रेष्ठले विद्यालयमा यस्ता रचनात्मक तथा चेतनामूलक कार्यक्रम सञ्चालन हुँदा विद्यार्थीहरूको बौद्धिक तथा सामाजिक विकासमा टेवा पुग्ने बताउनुभयो।
प्रतियोगितामा हिमालयन स्काउट दलकी प्रस्तुती भण्डारी प्रथम, सूर्योदय स्काउट दलकी तिन्जिन तामाङ द्वितीय तथा धुलाबारी स्काउट दलकी कृतिका सिवाकोटी तृतीय हुन सफल भएका थिए। विजेता विद्यार्थीहरूलाई प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरूद्वारा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
स्थानीय सुशासन, स्रोत तथा वित्त आयुक्त भारती निरौलाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन स्थानीय परिषद् सदस्य टिकेन्द्र ढकालले गर्नुभएको थियो ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष रीता थापाले स्काउट अभियानले विद्यार्थीहरूमा नेतृत्व, अनुशासन, सामाजिक उत्तरदायित्व तथा सकारात्मक सोचको विकास गर्दै आएको बताउनुभयो। उहाँले लागुऔषध दुर्व्यसन जस्तो गम्भीर सामाजिक समस्याविरुद्ध युवापुस्तालाई सचेत बनाउने माध्यमका रूपमा यस्ता प्रतियोगिताहरू प्रभावकारी हुने धारणा राख्नुभयो।
उहाँले स्काउटको मूल उद्देश्य असल नागरिक निर्माण गर्नु रहेको उल्लेख गर्दै सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो





























