पूर्वीनाकामा ‘एकीकृत जाँच इकाई’ सञ्चालनमा

लक्ष्मी उप्रेती
८ असार, मेचीनगर : नेपालको सुदूरपूर्व झापाको मेचीनगर नगरपालिका-६ काँकरभिट्टा सीमा नाकामा आजबाट ‘एकीकृत जाँच इकाई’ (यात्रु जाँचपास इकाई) सञ्चालनमा आएको छ । नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टा नाका भारत, पश्चिम बंगाल राज्यको दार्जिलिङ्ग जिल्लाको रानीग्राम पञ्चायत अन्तर्गत पानीट्याँकी नाकासँग जोडीएको छ ।

यसअघि मेची भन्सार कार्यालय परिसरमा ‘एक्स-रे मेसिन’ सहित एकद्वार भन्सार चेकजाँच प्रणाली सुरु भएको थियो । मेची भन्सार कार्यालयले चोरी तस्करी र अवैध ओसारप्रसार नियन्त्रण गर्न अत्याधुनिक मेसिनसहित भन्सार चेकजाँच प्रणाली सुरु गरी मेची भन्सार कार्यालयको भन्सार जाँच टोली, जनपद प्रहरी र सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हे.क्वा. काँकरभिट्टाको संयुक्त टोलीले एकै ठाँउबाट चेकजाँच गर्दै आएको थियो ।
भदौ २३-२४ को प्रदर्शनका क्रममा ती सवै संरचनामा आग्जनी भएर क्षति पुगेपछि तीनै तहका कर्मचारीले आ-आफ्‌नै तरीकाले चेकजाँच गर्दै आएका थिए । लामो समयपछि त्यहाँका भवनको मर्मत तथा सम्भार गरी झण्डै १० महिनापछि मेची भन्सार कार्यालय काँकरभिट्टा, सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हे.क्वा. काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाले संयुक्तरुपमा ‘एकीकृत जाँच इकाई’ (यात्रु जाँचपास इकाई) सञ्चालनमा ल्याएका हुन् ।
इकाईमा मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएका सुरक्षाकर्मीले यात्रुले आफ्‌ना साथमा ल्याएका मालवस्तु संयुक्तरुपमा चेकजाँच गर्ने छन् ।

मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपाने, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक निशेष चापागाईँ र सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हे. क्वा. काँकरभिट्टा गणपति सशस्त्र प्रहरी उपरीक्षक विकास थापाले ‘एकीकृत जाँच इकाई’ (यात्रु जाँचपास इकाई) सञ्चालनमा आएको एकसाथ घोषणा गरेका थिए । हाल परिसरमा ‘एक्स-रे मेसिन’ नभए पनि तत्कालै यसको व्यवस्थापन गर्ने जनाइएको छ ।
एक्स-रे मेसिन सञ्चालनमा ल्याइएसँगै मेची भन्सारले प्रयोगमा ल्याइएको एक्सरे मेसिन र एकद्वार भन्सार चेकजाँच प्रणालीले उपभोक्ता तथा पर्यटकहरुलाई भने पटक–पटक सामान देखाउनु पर्ने झन्झटबाट मुक्ति मिलेको थियो । भदौंको प्रदर्शनपछि यहि समस्या दोहोरिए पनि ‘एकीकृत जाँच इकाई’ (यात्रु जाँचपास इकाई) सञ्चालनमा आए पछि हल भएको छ ।

पूर्वी नाकाबाट नेपाल प्रवेश गर्ने यात्रु तथा व्यवसायीहरुले ल्याउने विभिन्न समाग्रीको भन्सार छली, कम मूल्यांकन तथा चोरी तस्करीलाई निरुत्साहित गर्दै सुरक्षा व्यवस्था सुदृढ पार्न तीनै तहका सुरक्षा अधिकारीहरु लागेका छन् । यसअघि नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारका कर्मचारीहरुले बेग्लाबेग्लै स्थानबाट चेकजाँच गर्ने गरेका थिए । चेकजाँचकै क्रममा तीनवटा संगठन बीच पटक–पटक झगडा तथा विचलन हुँदै आएको थियो ।

Exit mobile version