लक्ष्मी उप्रेती
८ असार, मेचीनगर : नेपालको सुदूरपूर्व झापाको मेचीनगर नगरपालिका-६ काँकरभिट्टा सीमा नाकामा आजबाट ‘एकीकृत जाँच इकाई’ (यात्रु जाँचपास इकाई) सञ्चालनमा आएको छ । नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टा नाका भारत, पश्चिम बंगाल राज्यको दार्जिलिङ्ग जिल्लाको रानीग्राम पञ्चायत अन्तर्गत पानीट्याँकी नाकासँग जोडीएको छ ।

भदौ २३-२४ को प्रदर्शनका क्रममा ती सवै संरचनामा आग्जनी भएर क्षति पुगेपछि तीनै तहका कर्मचारीले आ-आफ्नै तरीकाले चेकजाँच गर्दै आएका थिए । लामो समयपछि त्यहाँका भवनको मर्मत तथा सम्भार गरी झण्डै १० महिनापछि मेची भन्सार कार्यालय काँकरभिट्टा, सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हे.क्वा. काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाले संयुक्तरुपमा ‘एकीकृत जाँच इकाई’ (यात्रु जाँचपास इकाई) सञ्चालनमा ल्याएका हुन् ।
इकाईमा मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएका सुरक्षाकर्मीले यात्रुले आफ्ना साथमा ल्याएका मालवस्तु संयुक्तरुपमा चेकजाँच गर्ने छन् ।

एक्स-रे मेसिन सञ्चालनमा ल्याइएसँगै मेची भन्सारले प्रयोगमा ल्याइएको एक्सरे मेसिन र एकद्वार भन्सार चेकजाँच प्रणालीले उपभोक्ता तथा पर्यटकहरुलाई भने पटक–पटक सामान देखाउनु पर्ने झन्झटबाट मुक्ति मिलेको थियो । भदौंको प्रदर्शनपछि यहि समस्या दोहोरिए पनि ‘एकीकृत जाँच इकाई’ (यात्रु जाँचपास इकाई) सञ्चालनमा आए पछि हल भएको छ ।




























