दाजुभाइ दिदीबहिनीहरुको पुनर्मिलनको अवसर तिहार

A notice in Nepali from Mechinagar Ward No. 10

दशैंपछिको दोस्रो महान चाड तिहार नेपालीको घर आँगनमा आइसकेको छ । हिन्दुहरुको महान चाड वडादशैं पछिको अर्काे ठूलो चाड तिहार शनिबारबाट घर घरमा भित्रिइसकेको छ । उज्यालोको पर्वका रूपमा चिनिने नेपालीहरूको दोस्रो ठूलो चाड तिहारलाई यमपञ्चक पनि भनिन्छ ।

पाँच दिनसम्म मनाइने र यमराज जोडिएका हुँदा यो पर्वलाई यमपञ्चक भनिएको शास्त्रमा उल्लेख छ । पाँच दिनसम्म मनाइने यमपञ्चकमा यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले पनि यी पाँच दिनलाई यमपञ्चक भनिएको हो भन्ने विश्वास छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन पर्वत र भाइ पूजा गरिन्छ । पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी मनाउने चाडका रुपमा तिहारलाई हेर्ने गरिन्छ ।

तिहारको अवधिमा यमराजले आफ्नी बहिनी यमुनाकहाँ पाचदिनसम्म बसेर भाइटीका लगाएको मान्यता छ । तिहार दाजुभाइ दिदीबहिनीहरुको पुनर्मिलनको अवसर पनि हो । यो चाडले मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गरेको छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय र पवित्र स्नेह एवम् सम्बन्धलाई पनि प्रष्ट पारेको छ ।

यो चाड शनिबारबाट हाम्रो गाउँघर र शहर बजारमा भित्रिसकेको छ । हाम्रो मौलिक चाड तिहारको पाच दिन घरको ढोकामा तेल हाल्ने र साझ दियो बत्ती बालेर झिलीमिली बनाउने गरिन्छ । त्यसकारण पनि तिहार भित्रिए लगत्तै गाउँघरमात्र होईन शहर बजारहरु झिलीमिली बत्तीले सजिएका छन् । अर्थात तिहार लागेसँगै राजधानी काठमाडौंलगायत प्रमुख शहरहरू झिलीमिली बत्तीले सजिन शुरु भएका छन् ।

हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने यो पर्व यमराज र उनका दूतहरूको पूजा गरेर मनाइन्छ । तिहारको पहिलो दिन भगवान् धन्वन्तरीको जन्म भएको हुनाले यस दिनलाई धन्वन्तरी जयन्ती पनि भनिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार शनिबार धनतेरस र यमदीपदान, आइतबार काग तिहार र धनवन्तरी जयन्ती,(सूर्योदयकालमा त्रयोदशी तिथि परेकाले काग तिहार आइतबार मनाइनेछ) सोमबार कुकुर तिहार र लक्ष्मीपूजा, (बिहान कुकुर तिहार र रातमा औँसी तिथि परेकाले साँझमा लक्ष्मीपूजा एकै दिन परेको हो ।) मङ्गलबार तिहारको कुनै पर्व परेको छैन ।, बुधबार गाईपूजा, गोवद्र्धन पूजा, म्ह पूजा (आत्मपूजा) तथा नेपाल संवत् ११४६ को नयाँ वर्ष प्रारम्भ, बिहीबार भाइटीका (किजापूजा) र भाइटीकाको साइत बिहान ११ः३९ बजेमा रहेको छ ।

टीका लगाइमाग्ने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्कनुपर्ने र साइतमा टीका लगाउन नभ्याउनेहरूका लागि दिनभरि टीका लगाउन सकिने समितिले जनाएको छ । तिहारमा मानव जीवनसँग गाँसिएका कुकुर, काग, गाई, गोरु आदिको पूजा गरिन्छ भने गोवर्धन पर्वतको पूजा पनि गरिने भएकाले पनि तिहार प्रकृतिसँग नजिक हुने पर्व भएको पंण्डित टिकाप्रसाद खनाल बताउँछन् ।

तिहारको दोस्रो दिन समाचार र सूचनाबाहक कागको पूजा गरिन्छ । कागलाई मीठा मीठा खानेकुरा दिइन्छ । यो पर्व कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ । कागको पूजा गरी कागतिहार मनाउने गरिएकालाई यस दिनलाई काग तिहार पनि भनिन्छ । यसको पूजा गर्नुका थुप्रै कारण छन् । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रियभक्त भएकाले पनि यस दिन कागको पूजा गरी कागतिहार मनाउने गरिएको धार्मिक विश्वास रहेको ज्योतिषी पंण्डित एकराज वशिष्ठ बताउँछन् ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाइन्छ । कुकुर तिहार यमपञ्चकको दोस्रो दिन हो । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुरलाई यमदूतका रूपमा पनि लिइन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो । कुकुरलाई आज्ञापालक एवम् रक्षक जनावरको रुपमा लिइन्छ । विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने काममा तथा अध्ययन अनुसन्धान गर्ने कार्यमा पनि हिजोआज कुकुरको प्रयोग गरिन्छ । कुकुरले घरको रेखदेख तथा मानिसलाई सहयोग गर्दै आएको छ । त्यसैले कुकुर तिहारमा कुकुरलाई पूजा गरी मनाउँने गरीएको छ ।

तिहारमा गाईको पूजा गरिन्छ । गाई नेपालको राष्ट्रिय जनावर हो । यति मात्र होइन गाईलाई देवीका रुपमा पनि पुज्ने गरिन्छ । गाईलाई लक्ष्मीको प्रतीक मानिन्छ । गाईपूजा र लक्ष्मीपूजा एकैदिन मनाइन्छ । यसदिन साँझमा घरघरमा दीपावली गरिन्छ भने बेलुका भैलो खेल्ने चलन छ ।

गाईको गहुँत र गोबर पनि हिन्दूधर्ममा पवित्र छ । यसर्थ पनि कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नुअघि गाईको गोबरले घरआँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर, कोठाचोटा पवित्र तुल्याउने हिन्दूहरूको संस्कार छ । गाईलाई पशुधनका रूपमा लिइन्छ । हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रूपमा पनि मान्छन् । माता लक्ष्मीको विशेषरूपमा पूजाआजा तिहारको तेस्रो दिनको विशेषता हो ।

गोरु तिहार, हल तिहार वा गोवर्धन पूजाको रुपमा तिहारको चौथो दिन मनाइन्छ । पौराणिक कथन अनुसार गोवर्धन गोकुल शहरनजिकै रहेको एक पर्वत हो । कृष्ण भगवान् गोकुलमा गोपालहरूसँग बस्थे । गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रबाट उनीहरूले केही पाउँदैनथे । कृष्णले एकदिन गोकुलवासीहरूलाई केही नदिने इन्द्रको पूजा गर्नुभन्दा खनिज, घाँस, पानी र दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राख्छन् र सबैजना त्यसै गर्न राजी पनि हुन्छन् । उनीहरु गोवर्धन पर्वतको पूजा पनि गर्छन् । त्यसै दिन नेपालीहरूले सालभरि अन्न उब्जाउन हलो तानी मानिसहरूको पालनहारी गोरूको पनि पूजा गर्दछन् । यस दिन बेलुका घरघरमा देउसी खेल्ने परम्परा छ ।

भाइतिहार अर्थात् भाइटीका तिहारको अन्तिम दिन मनाइन्छ । कार्तिक शुक्ल द्वितीया तिथिका दिन पर्ने यो पर्व विशेष उत्साहका साथ मनाउँदै दिदीबहिनी र दाजुभाइबीचको आत्मीयता साटासाट गरिन्छ । यस दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई तथा भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा मिष्ठान्न दिने, दिदीबहिनीलाई दानदक्षिणा एवम् वस्त्र दिने परम्परा छ । तिहारमा दिदीबहिनी ‐चेलीबेटी) हरुले दाजुभाइ ‐माइती)लाई सप्तरंगी टिका र माला लगाएर दिर्घायूको कामना गर्दछन् । मीठा मीठा खानेकुराहरु खान दिन्छन् । भाइटीका गर्न आवश्यक पर्ने ओखर, तोरीको तेलबिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठा–मीठा परिकारको अघिबाटै चेलीबेटीहरुले व्यवस्थापन गरेका हुन्छन् । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरङ्गी टीका; पहेंलो, नीलो, सुन्तला रङ्गको, सेतो, हरियो, रातो र कालो सात रङ्गका टीकालाई निधारमा उद्ध्र्वाकार रेखामा सिधा लगाइन्छ । दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ । पूजा–पाठ पछि टीका थाप्दा आत्मामा धेरै आनन्दानुभूति प्राप्त हुन्छ । टीका लगाइदिएपछि दिदीबहिनीले उपहार दिन्छन् भने दाजुभाइले पनि आफ्नो गच्छेअनुसार वस्त्र तथा दक्षिणा आदि प्रदान गरि भाइटिका पर्व धुमधामसँग मनाउँछन् ।

दाजु–भाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्छन् । पानी तथा तेलले सात घेरा हाली दाजुभाइलाई छेक्ने चलन पनि छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिने,सगुनका रूपमा दही दिने प्रचलन पनि छ । खासगरी भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्व रहेको पंण्डित खनालको भनाई छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंगकहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । अझ लक्ष्मीपूजाका दिन महिलाहरुले खेल्ने भैलो र गोवद्र्धन पूजाको दिन पुरुषहरुले खेल्ने देउसीले तिहारलाई झन रौनक थप्ने गरेको छ । देउसी भैलो परम्पराले तिहारलाई थप उल्लासमय बनाएको छ, भने ज्योतिको पर्वका रूपमा मनाइने तिहार, दीपावली, म्हपूजा, आदि पर्वको मिश्रित रूप पनि हो । धनकी देवी लक्ष्मीको पूजा गर्दा धनधान्य हुने विश्वास गरिन्छ ।

घरको रक्षक कुकुर, ‐लक्ष्मी) गाई गोरु र गोबरको पुजा गरिन्छ । पशुपंक्षी र जनावरको समेत पुजा गरीने भएकाले प्रकृतिसंगको सम्बन्ध पनि तिहार हो भन्दा अत्यूक्ति नहोला । विशेषगरी नाचगान गर्दै खेलिने देउसी भैली तिहारको अरू चाडभन्दा पृथक विशेषता हो । तिहारको बेलामा देउसी भैलो खेलेर रकम संकलन गर्ने उपयुक्त मौका पनि हो । संघसंस्था, क्लब, आमा समूह, राजनैतिक पार्टी र तिनका भातृसंस्था सबैले तिहारमा देउसी भैलो खेलेर रकम संकलन गर्ने गरेका थुप्रै उदाहरण पनि छन् । त्यसरी संकलन भएको रकमले समाजमा केही न केही नवीनतम काममा लगाईने गरिएको छ । यस क्रममा उठाइने पैसा सामाजिक सेवामा लगाउने क्रम बढ्दै गएकाले पनि स्वतःस्फूत रुपमा रकम दिने गरिन्छ । वास्तवमा रमाइलो र मनोरञ्जनका लागि खेलिने देउसी भैलो रकम संलकन गर्ने माध्यम बन्दै गएको छ । देउसी भैलोको मौलिक र सांस्कृतिक पक्ष भए पनि पछिल्लो समय पश्चिमा संस्कृतिका कारण संकटमा पदैं गएको जानकारहरु बताउँछन् ।

तर, जिल्ला प्रशासन कार्यालय झापाले भने, तिहारको अवसरमा खेलिने देउसी–भैलो राति ९ बजेसम्ममात्र खेल्न आग्रह गरेको छ । कार्यालयले सार्वजनिक गरेको सूचनामा शान्ति सुरक्षाको कारण देउसी–भैलो जस्ता सांस्कृतिक कार्यक्रम राति ९ बजेपछि नगर्न अनुरोध गरेको हो । चार्डपर्वलाई लक्षित गर्दै प्रशासनले आठ बुँदे सूचना पनि जारी गर्दैं देउसी–भैलो राति ९ बजेसम्म सीमित गर्न, जुवातास र डाइस खेल नगर्न, आतंक सिर्जना हुने गरी पटका पड्काउन वा आतिशबाजी गर्न निषेध गरिएको छ । त्यसैगरी, प्लास्टिकका फूलमाला प्रयोग नगरी प्राकृतिक फूल र माला प्रयोग गर्न, अखाद्य तथा म्याद गुज्रिएका वस्तु बिक्री नगर्न, मूल्य वृद्धि र कृत्रिम अभाव सिर्जना नगर्न र सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नराख्न आग्रह गरिएको छ ।

तिहारसँग नेवार समुदायको समधुर सम्बन्ध पनि छ । नेपालको आफ्नै मौलिक सम्वत् पनि तिहारकै बेलाबाट शुरु हुने हुुँदा नेपाल सम्वत ११४२ पनि प्रारम्भ हुदैंछ । नेपाल सम्वतको महत्व शंखधर शाख्वाले काठमाडांैवासीको ऋण तिरिदिएको हुँदा उनलाई सम्झिने दिन पनि नेपाल सम्वत् भएको नेवाः समाज मेचीनगरका पूर्व अध्यक्ष उदयकुमार श्रेष्ठको भनाई छ । उनका अनुसार तिहारकै बेला नेवार सम्प्रदायले आत्मसुद्धि गर्ने, म्ह पुजा गर्ने र नया“ वर्ष नेपाल सम्वत् मनाउने गर्दछ । जुनसुकै रुपमा तिहार मनाइए पनि यसले नेपालको सांस्कृतिक विशेषतालाई नै उजागर गर्छ । उज्यालो पर्व तिहारले सबै नेपालीजनमा सद्बुद्धिका दिओस् । शुभकामना । शुभ तिहार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.