३० असोज, मेचीनगर : झापाको मेचीनगरमा रहेको चारआली साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १७ औँ परिषद् सभा बिहिबार सम्पन्न भएको छ । परिषद्मा विभिन्न रचनात्मक र सामाजप्रति जिम्मेवार बन्ने गरेको प्रस्तावहरुलाई छलफलका लागि अघि सारिएको थियो ।
मेचीनगर–१२ स्थित संस्थाको सभाहलमा भएको कार्यक्रममा अध्यक्ष राजन चिमरियाले प्रस्तुत गरेको आगामी कार्यक्रमको प्रतिवेदनमा समाज र उपभोक्ताहरुलाई प्रत्यक्ष लाभ पुग्ने प्रस्तावहरु छलफलको विषयवस्तुका रुपमा अघि सारिएको हो । नगरको वडा नम्बर ११, १२, १३ र १४ का तीन हजार सात सय १० उपभोक्ता रहेका छन् । संस्थाको क्षमता तीन हजार पाँच हजार ६८ मात्र हो । सरसफाइ तथा स्वास्थ्य क्षेत्रलाई निक्कै प्राथमिकता राखेर का मगर्दै आएको यो संस्थाले अब उप्रान्त उपभोक्ता स्वयम्को निधन भए निधन भएको महिनाको रकम मिनाह गर्ने मात्र होईन धारा नामसारी गर्दा लाग्ने सवै शुल्क पनि मिनाह गर्ने प्रस्ताव परिषद्मा प्रस्तुत गरिएको छ ।
संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका प्रमुख शुरतलाल चौधरीले रिमोर्टको स्वीच थिचेर डिजिटल बोर्डबाट विधिवत रुपमा उद्घाटन गरेको परिषद्कै अवसरमा संस्थाका उत्कृष्ट दुई जना कर्मचारी (प्लम्बर) रोशन रिजाल र विनोद घिमिरेलाई जनही १५ हजार पाँच सय ५५ रुपैयाँसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । त्यस्तै संस्थाका कर्मचारी डम्वर ओझालाई दीर्घसेवा सम्मानबाट पुरस्कृत गरिएको संस्थाका अध्यक्ष चिमरियाले बताए । शुरुदेखि नै सामाजिक उत्तरदायित्वप्रति गम्भीर र जिम्मेवारीपूर्वक अघि बढेको यो संस्थाले यो पुण्य कामलाई पुनः निरन्तरता दिनका लागि आगामी वर्ष अःशक्त भई वेडमा बस्न बाँध्य संस्थाका सदस्यको प्रयोगका लागि हस्पिटल बेड र ह्विलचियरको व्यवस्था गरिने प्रतिवेदनमा उल्लेख छ ।

प्लाष्टिकजन्य वस्तुको न्यूनिकरणका लागि प्रत्येक उपभोक्ताको घरमा संस्थाको स्टिकरसहितको पाँच केजीको कपडाको झोला वितरण गरिने, प्राङ्गारिक मल बनाउन कुहिने प्रकुतिको फोहोरलाई संकलन गरेर मल उत्पादन गर्न स्थानीय सरकार, उपभोक्ता र संस्थाको थ्रीपी मोडलमा व्यवस्थापन गरेर फोहोरलाई मोहोरमा रुपान्तरण गरिने, स्वास्थ्य सम्बन्धी विज्ञबाट गोष्ठी तथा अन्तरक्रिया गरिने, ‘हामीले नगरे कस्ले गर्ने, किन नगर्ने ’भन्ने नारासहित स्वच्छ वातावरण बनाउन निम, सिरिस, स्वामी, धुपीलगायतका वृक्ष रोपण लगायतका कार्यक्रम प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले अघिल्लो वर्षहरुमा क्यालेण्डर प्रकाशन गर्दै आए पनि यसवर्ष त्यसलाई रोकेर त्यस वापतको एकलाख २० हजार रुपैयाँबाट चार वटा वडाका सामुदायिक विद्यालयका प्रत्येक कोठामा पानीको जार, बाटा र बोतल वितरण गरिएको अध्यक्ष चिमरियाले बताए । संघिय सरकारबाट विनियोजित एक करोड ६० लाख र स्रोत सुनिश्चितता गरी लगभग १५ करोडको क्रमागत बजेटमार्फत थप चार लाख ५० हजार रुपैयाँको लागतमा नयाँ ओभरहेड ट्याङ्कीसहित ६५ किलोमिटर पाइपलाइन विस्तार गर्ने कामलाई प्राथमिकता दिएको, पाइपलाइनलाई व्यवस्थित र प्रविधिमैत्री बनाउन भौगोलिक सूचना प्रणाली (जीआइएस) सञ्चालनको प्रयास गरिने पनि उनले जानकारी दिए ।
प्रमुख अतिथि चौधरीले संस्थाका समस्या र बजेटका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । कार्यक्रममा इटहरीका ल्याव प्रमुख रमेशकुमार यादव, बुधबारे खानेपानी उपभोक्ता समितिका अध्यक्ष ध्रुब ओली, चारआली खानेपानीका सल्लाहकार ओमनाथ भण्डारी लगायतले बोलेका थिए |
चारआली साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष राजन चिमरियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष मैया कार्कीले र सञ्चालन सचिव प्रेमराज घिमिरेले गरेका थिए ।





















