३० लाख नेपालीमा मिर्गौलाकाे समस्या, जाेगाउन यस्ता छन् विज्ञका सुझाव

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं : शरीरभित्रका अनावश्यक पदार्थलाई पिसाबमार्फत बाहिर फाल्नु मिर्गौलाको मुख्य काम हो। यसले शरीरमा रगतको मात्रालाई समेत सन्तुलनमा राख्ने, शरीरमा रगत बनाउने काम गर्छ जसले गर्दा मानव शरीर सन्चालनको लागि मिर्गौला महत्वपूर्ण अंगको रुपमा लिने गरिन्छ।

बदलिँदो जिवनशैली, खानपानले गर्दा पछिल्लो समय नेपालमा पनि मिर्गौला रोगका विरामीहरु बढ्दै गएको बताइन्छ।

नेपालमा मिर्गौला रोगबाट पीडित कति छन् भन्ने यकिन तथ्याङ्क नभएपनि करिब ३० लाख मानिसमा मिर्गौलासम्बन्धी कुनै न कुनै समस्यामा रहेकाे अनुमान छ। ३० लाखमध्ये ३ लाख मानिसलाई मिर्गौलाको गम्भीर खालको समस्या छ भने करिब ३० हजारको मिर्गौला पुरै बिग्रिएको छ।

त्यसमध्ये ३ हजारको प्रत्यारोपण गर्नुपर्ने अथवा नियमित रुपमा डायलासिस गर्नुपर्ने अवस्था​छ। मिर्गौलासम्बन्धी रोगबाट विश्वभर १९ करोड ५० लाख महिला प्रभावित भएका छन्। त्यसमध्ये मिर्गौला रोगका कारण प्रत्येक वर्ष विश्वमा छ लाख महिलाको मृत्यु हुने गरेको छ। नेपालमा भने कुल जनसंख्याको १० प्रतिशत व्यक्तिमा कुनै न कुनै किसिमको मिर्गौला रोग रहेको बताइएको छ।

नेपालमा सरकारले डायलासिस गर्नुपर्ने मिर्गौला रोगीलाई नि:शुल्क डायलासिस गर्ने व्यवस्था गरे पनि मिर्गौला रोगीको संख्या बढिरहेका छन्। विरामीलाई रोग लागि सकेपछि उपचारभन्दा पनि मिर्गौला रोग लाग्नबाट सचेत बनाउन यो रोग लाग्ने कारण र बच्ने उपायबारे मानिसलाई सचेत गराउनु आवश्यक छ।

यस्ता देखिन्छन् लक्षण

-शरिरमा थकान महसुस हुन्छ या धेरै कमजोर अनुभव हुनु

-राति धेरै पिशाव लाग्नु,

-हातखुट्टा सुन्निनु,

-महिलामा महिनावारी गडबड हुनु,

-आँखा वरपर सुन्निनु,

छाला चिलाउनु र लामो समयदेखि रक्तअल्पताको समस्या हुनु

यस्ता समस्या देखिएमा एक पटक चिकित्सकसँग परामर्श गर्नु अनिवार्य हुन्छ ।

वर्षमा एकपटक मिर्गौला जचाऔँ

जस्तोसुकै शारीरिक अभ्यास गरेपनि र खानपिनमा ध्यान दिएपनि वर्षमा एक पटक मिर्गौला जाँच गराउनुपर्छ। रगतमा क्रियाटिन र पिसाबमा एलोमिन जाच्नुपर्छ। मिर्गौलामा रोग लागेको स्पष्ट थाहा हुँदैन। त्यसैले मानिसहरु मिर्गौलाको समस्याले धेरै नै गालेपछि सुत्न, खान र दैनिक क्रियाकलाप गर्न नसक्ने भएपछि मात्र अस्पतालमा देखाउन आउँछन्। यस्तो अवस्थामा मिर्गौलाको उपचार गर्न ढिलो हुन्छ र मिर्गौला धेरै बिग्रिसकेको हुनसक्छ।

३० वर्ष पार गरेका मानिस वा परिवारमा कसैलाई मिर्गौला रोग भएकालाई यो रोग देखिन सक्छ। धेरै मोटो, उच्च रक्तचाप भएमा र लामो समयसम्म कुनै रोगको औषधी सेवन गरेको मानिसलाई पनि मिर्गौलामा समस्या देखिन सक्ने भएकाले स्वस्थ मिर्गौलाको लागि स्वस्थ जीवनशैली अपनाउनुपर्छ। यसबाट जोगिनका लागि

-सक्रिय जीवन जिउने।

-रगतमा चिनीको मात्र ठीक राख्ने।

-धुम्रपान नगर्ने।

-आफूखुसी औषधि सेवन नगर्ने।

-उच्च रक्तचाप र कोलेस्टेरोल नियन्त्रणमा राख्ने

मिर्गौलाको उपचार

यदि मिर्गौलाले प्राकृतिक रुपमा काम गर्न छोडेपछि कृत्रिम रुपमा उपचार गर्नुपर्छ। मिर्गौला हाम्रो शरीरको एक यस्तो महत्वपूर्ण अंग हो जसलाई हामीले बिग्रिएपछि पनि पुन: फेर्न ( प्रत्यारोपण) गर्न सक्छौँ । तर प्रत्यारोपण नहुँदाको अवस्थामा मिर्गौलाले प्राकृतिक रुपमा काम गर्न छोडेपछि गरिने उपचार भनेको डायलासिस हो।

के हो डायलासिस?

प्राकृतिक रुपमा मिर्गौलाले काम गर्न छोडेपछि कृत्रिम रुपमा गरिने उपचार पद्धतिलाई डायलासिस भनिन्छ। नेपालमा डायलासिस सेवा सरकारले नि: शुल्क गरिदिएको छ। प्राय: मिर्गौला फेल भएका विरामीलाई हप्ताको दुईपटक डायलासिस गर्नु पर्छ। डायलासिस गर्दा मेसिनमार्फत कृत्रिम रुपमा हुने गर्छ।

डायलासिस सामान्यतया दुई प्रकारका हुन्छन्। हेमोडायलासिस र पेरिटोनियल डायलासिस। हेमोडायलासिस भनेको कृत्रिम मृगौला (हेमोडायलाइजर)को सहायताले रगत शुद्धीकरण गर्ने विधि हो भने पेरिटोनियल डायलासिस भनेको पेटमा सर्जरीमार्फत् प्लास्टिकको ट्युब (क्याथेटर) राखी त्यसमा पानी (डायलासेट) पठाएर रगत शुद्धीकरण गर्ने विधि हो। नेपालमा मिर्गौला फेल भएका धेरै विरामीलाई हेमोडायलासिस नै गर्ने गरिएको छ।

प्रत्यारोपण

मिर्गौला फेल भएपछि गरिने अर्को उपचार भनेको प्रत्यारोपण हो। डायलासिस गर्दा पनि काम नलाग्ने अवस्थामा पुगेकाे छ भने मिर्गाैला प्रत्याराेप गर्नुपर्छ। एक स्वस्थ व्यक्तिको मिर्गौला पुन प्रत्यारोपण गर्न सकिए मिर्गौलाले पुन प्राकृतिक रुपमा नै काम गर्न सक्छ। नेपालमा पनि त्रिवि शिक्षण अस्पताल, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण हुँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.