चार नेपाली बालबालिकाको उद्धार

A notice in Nepali from Mechinagar Ward No. 10

कृष्ण सिञ्जाली
२२ साउन, मेचीनगर : भारतका विभिन्न संरक्षण गृहमा रहेका चार जना नेपाली बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता ल्याई परिवारसँग पुनर्मिलन गराइएको छ ।

भारतको पश्चिम बंगाल राज्य सरकार, कोलकातास्थित नेपालको महावाणिज्यदूतावास र नव अभियान नेपालबीचको निरन्तर समन्वय तथा सहकार्यपछि उनीहरूको स्वदेश फिर्ती प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको हो ।

पुनर्मिलन गराइएका बालबालिकामा १५ वर्षीया अनुषा परियार (नाम परिवर्तन) तथा १७ वर्षीय कृष्ण ऋषिदेव, राम ऋषिदेव र श्याम ऋषिदेव (नाम परिवर्तन) रहेका छन् । कृष्ण, राम र श्याम एकै परिवारका तीन दाजुभाइ हुन् ।

सुनसरीको धरानकी अनुषा करिब तीन वर्षको उमेरमा पारिवारिक परिस्थितिका कारण उनका काका जोन मार्फत सिलिगुडीस्थित भावना सोसाइटी अनाथालय गृहमा पुगेकी थिइन्। त्यहाँ रहेर उनले आफ्नो अध्ययनलाई निरन्तरता दिँदै हाल कक्षा १० मा अध्ययन गरिरहेकी थिइन ।
करिब दुई महिनाअघि संरक्षण गृहको दर्ता तथा व्यवस्थापनसम्बन्धी प्रक्रियाका कारण उनलाई सिलिगुडीबाट दार्जिलिङस्थित शैशाली माटीगढा चिल्ड्रेन्स होम फर गर्ल्समा स्थानान्तरण गरिएको थियो । सोही संरक्षण गृहबाट आवश्यक प्रक्रिया पूरा गरी उनलाई नेपाल फर्काइएको हो ।

त्यसैगरी मोरङको रंगेली क्षेत्रका कृष्ण, राम र श्याम भारतमा रोजगारी गरी पैसा कमाउने तथा घर बनाउने सोचमा गाउँका अन्य युवाहरूको कुरामा लागेर भारततर्फ गएका थिए ।
तीनै जना दाजुभाइ किशनगञ्जबाट रेलमार्फत चेन्नईतर्फ जाँदै गर्दा खड्गपुर रेलवे स्टेसनमा भारतीय प्रहरीले फेला पारेको थियो । त्यसपछि उनीहरूलाई पश्चिम मेदिनीपुरस्थित चोक कुमार एसोसिएसन फर सोसल सर्भिसको संरक्षण गृहमा पठाइएको थियो ।
करिब दुई महिना संरक्षण गृहमा बसेपछि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी तीनै जना दाजुभाइलाई नेपाल फर्काइएको हो ।
बालबालिकाको पुनर्मिलन प्रक्रियामा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका महिला तथा बालबालिका शाखाकी प्रहरी नायब निरीक्षक मिलनकुमारी राई, कोलकातास्थित नेपालको महावाणिज्यदूतावासका कार्यालय सचिव सतीश थापा, नव अभियान नेपालका प्रतिनिधिहरू तथा बालबालिकाका अभिभावकहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित निकायबीचको समन्वयमा आवश्यक सबै कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी बालबालिकाहरूलाई सुरक्षित रूपमा अभिभावक तथा परिवारको जिम्मा लगाइएको नव अभियान नेपालका क्षेत्रीय संयोजक इन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

संयोजक बस्नेतका अनुसार जोखिमपूर्ण अवस्थामा रहेका नेपाली बालबालिकाको संरक्षण, उद्धार, कानूनी सहायता तथा परिवारसँग सुरक्षित पुनर्मिलनलाई संस्थाले प्राथमिकताका साथ अघि बढाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.