९ माघ, मेचीनगर : नेपालको पूर्वी नाकासँग सीमा जोडिएको भारतको पश्चिम बंगालमा घातक ‘निपाह भाइरस’को संक्रमण पुष्टि भएसँगै स्थानीय सरकारले सीमा नाकामा उच्च सतर्कता (हाइ अलर्ट) अपनाएको छ । छिमेकी मुलुक भारतमा निपाह भाइरसको संक्रमण देखिएपछि नेपालमा पनि संक्रमण फैलिन नदिन स्थानीय सरकारले उच्च शतर्कता अपनाएको जनाएको हो । भारतको पश्चिम बंगालमा केही साताअघि निपाह भाइरसको संक्रमण पुष्टि भएपछि नाकाबाट भित्रिने यात्रुमाथि कडा निगरानी शुरु गरिएको हो ।
नेपाल प्रवेशको पहिलाद्वार काँकरभिट्टासँग पश्चिम बंगाल राज्यको रानीगञ्ज पानीट्याँकी नाकाको दुरी खासै टाढा नरहेका कारण खुला सीमाका कारण नेपालमा यसको जोखिम ‘उच्च’ रहने भन्दै स्थानीय सरकार मेचीनगर नगपालिकाले काँकरभिट्टा नाकामा उच्च सतर्कता (हाइ अलर्ट) अपनाएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

भारतको पश्चिम बंगालमा निपाह भाइरसको संक्रमण देखिएपछि नेपालले सबै हवाई तथा थल नाकाबाट भित्रिने यात्रुको निगरानी शुरु गरेसँगै भारतको पश्चिम बंगालसँग सीमा जोडिएको काँकरभिट्टा नाकामा कडा गरिएको नगरपालिकाले जनाएको छ । स्थल मार्गबाट नेपाल भित्रिने यात्रुहरूको कडा निगरानी सुरु गरिएको हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरुको भनाई छ । यो नाका भएर हवाईमार्ग तथा स्थलमार्ग हुँर्दै नेपाल घुम्नका लागि लागि पश्चिम बंगालको शिलीगुढी, नक्शलबाडी, दार्जिलिङ, खर्साङ, कालेम्पोङ्ग, मिरिक, सिक्किमलगायत रोजगारीका लागि दिल्ली बम्बै, कलकत्ता गएका नेपालीहरु फर्किने गरेको बताइएको छ । काठमाडौं जान चन्द्रगढी विमानस्थल नजीक पर्ने भएको यो नाका भएर मानिसहरु आउने गरेका छन् ।
भारतमा संक्रमण बढ्दो क्रममा रहेको र झापा जिल्लाको १४४ दशमलव २ किलो मिटर खुला सीमाका कारण नेपालमा यसको जोखिम ‘उच्च’ रहेको भन्दै स्थानीय सरकारले सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । चिकित्सकहरुले सर्वसाधारणलाई व्यक्तिगत सरसफाइ र खानपानमा विशेष ध्यान दिन आग्रह गरेका छन् । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य कार्यालय झापाले सीमा नाकामा निगरानी बढाउनेदेखि निपाहसँग मिल्दाजुल्दा लक्षण भएका बिरामीको विवरण संकलन गर्नेसम्मका काम अगाडि बढाउन भनिसकेको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
संक्रमित फलफूल खाने चमेरा, सँगुर वा बंगुरसँग सम्पर्क हुनाले, दुषित कुवा इनारको पानीको प्रयोग गर्नाले, चमेरा बस्ने गुफा वा आश्रय स्थलमा प्रवेश गर्नाले जनावरबाट मानिसमा यो फैलिन सक्ने स्वास्थ्य विज्ञहरुको भनाई छ । संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा आउनाले, शरीरका तरल पदार्थ र्याल, थुक सँग सम्पर्कमा आउनाले , स्याहारकर्ता तथा स्वास्थ्यकमीृहरुमा जोखिम बढि हुनाले पनि मानिसबाट मानिसमा सर्ने गर्दछ । चमेराको र्याल वा पिसावसँग सम्पर्कमा रहेको दुषित फलफूल खानाले, काँचो खजुराको रस पिउनाले, नछोपिएका जुस वा खानेकरा सेवन गर्नाले दुषित खाना पेय पदार्थमार्फत यो संक्रमण सर्दछ । फलफूल राम्रोसँग धुने, काँचो खजुराको रस सेवन नगर्ने, हातको सरसफाई अप्नाउने । बिरामी व्यक्तिसँग सम्पर्क नगर्नाले आफूलाई सुरक्षित राख्न सकिने डाक्टर पिताम्बर ठाकुरको सुझाँव छ । डाक्टर ठाकुरका अनुसार निपाह भाइरस सर्ने मुख्य? मार्गहरु बुझ्नाले संक्रमणबाट बच्न मद्धत मिल्ने छ । निपाह भाइरस चमेरो, सुँगुर र संक्रमित व्यक्तिबाट सर्ने भएकाले ती माध्यमलाई विशेष ध्यान दिएर रोकथामका उपाय अपनाइएकोमेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
‘अहिले हामीसँग जे स्रोत साधन छ त्यसैबाट काम चलाई रहेका छौ, यहाँबाट हामी स्क्यानिङ गर्ने काम गछौं, कुनै मानिसमा निपाह भाइरसको लक्षण देखिए उनको सवै विवरण लिएर सम्बन्धित जिल्लामा खवर गछौं । त्यहाँबाट अन्य प्रक्रिया अघि बढ्छ । ’एकजना स्वास्थ्यकर्मीले भने । स्रोत साधन भएर प्रादेशकि अस्पताल भद्रपुरसम्म पुर्याउने सम्मको काम हुने उनले बताईन् । प्रभावित क्षेत्रबाट आउने व्यक्तिहरूलाई निश्चित समयका लागि सम्पर्कबाट टाढा रहन र क्वारेन्टाइनमा बस्न स्वास्थ्यकर्मीहरुले सुझाइएको पनि उनले बताए । निपाह भाइरसको जोखिम उच्च भएकाले संक्रमित शंका भएका व्यक्तिलाई अस्पतालमा उपचारका लागि तोकीएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार निपाह भाइरस कोरोनाभन्दा पनि बढी घातक मानिन्छ । यसको मृत्युदर ४० देखि ७० प्रतिशत सम्म छ । यो भाइरस मुख्यतयाः संक्रमित चमेरो र सुंगुरबाट मानिसमा सर्छ । संक्रमित पशुले जुठो हालेका फलफूल वा तिनीहरूको मासु खाँदा सर्छ । संक्रमित व्यक्तिसँगको नजिकको सम्पर्कबाट पनि यो फैलिन सक्छ । संक्रमण भएको ३ देखि १४ दिनभित्र ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने र श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण देखिन्छन् । जटिल अवस्थामा यसले मस्तिष्क सुन्निने र बिरामी २४ देखि ४८ घण्टाभित्रै कोमामा पुग्न सक्ने जोखिम रहन्छ । भारतमा यसअघि पनि विभिन्न समयमा यो भाइरसको संक्रमण फैलिएको थियो।


































