१० असोज, मेचीनगर : हिन्दुहरुको महान पर्व दशैं नजिकिँदै गर्दा रोजगारीका लागि भारतीय शहर गएका परदेशीहरु घर फर्किन थालेका छन् । नेपालमा आफ्नो कृषि कर्म सम्पन्न गरी उनीहरु विभिन्न खाडी मुलुकसहित भारतका शहरमा कामको खोजीमा जाने र चाडपर्वका बखत आफ्नो मुल र पुख्र्याेली थलोमा फर्किने गरेका छन् ।
केही दिनदेखि सुदुरपूर्व नेपाल प्रवेशको मुख्यःनाका काँकरभिट्टामा दशैं तिहारकालागि स्वदेश फर्किने परदेशीको लर्काे निक्कै लामो छ । यसरी नेपाल आउने ती मानिसहरुले नाकामा कुनै पनि प्रकारको समस्या वेहार्नु नपरोस भनेर नेपाल प्रहरीले उच्च सतर्कता अप्नाएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । यसले गर्दा काँकरभिट्टा बसपार्कममा यात्रुको चहल पहल र भीडभाड पनि निक्कै छ । जस्तै टाढा भएपनि जसरी पनि घटस्थापनासम्मा सबै परदेशी घर आईपुग्छन् ।
१३ वर्ष मुम्बई र ७ वर्ष दिल्लीको एउटा कम्पनिमा सुपरभाइजरको काम गरी बागलुङका युवराज धौराली शुक्रबार काँकरभिट्टा नाका भएर दशैं मान्न घर फर्किए । उनी एक श्रीमती र दुई छोरासहित दशैं मान्न नेपाल फर्किएका हुन् । उनले अहिले आफु देहरादुनमा एक कम्पनिमा व्यवस्थापकमा कार्यरत रहेको बताए । ‘घरमा ८२ वर्षको बुवा र ७८ वर्षको आमा हुनुहन्छ ’ धौरालीले भने,‘ घरमा रहेका बृद्ध बा— आमाको हातबाट टीका र जमरा अनि आर्शीवाद थाप्न सपरिवार आफ्नो पुख्र्याेली घर फर्केका हौ । ’ धौरालीले थातथलोमा परिवारसँगै बसेर दशैं मनाउन नपाएको तीन वर्ष भएछ ।
यसवर्षको दशै बृद्ध बा आमासहित सवै परिवारसँगै बसेर मनाउने धोकोसहित आफ्ना दुई छोरा र श्रीमतीसहित नेपाल आएको उनको भनाई छ । वर्षमा एकपटक आउने महान चाड दशैंमा सबै आफ्नो मुल र पुख्र्याेली थलोमा भेला भएर वर्षभरिका दुःख सुख बिर्सेर एक छाक भएपनि मिठो मसिनो खार्दै एक आपसमा मनोरञ्जन गर्दै खुशी साटासाट गर्ने चलन छ । त्यहि भएर पनि सायद घर छाडेर बाँध्य भई विदेशिएकाहरु दशैँमा चाँहि जसरी भएपनि घर फकिन्छन् ।
स्याङ्जा पुतली बजारका रामवहादुर पुन भारतीय सेनामा कार्यरत उनी भन्छन्—‘मैले दुईवर्षदेखि बाबा आमाको हातको टीका थापेको छैन् त्यसैले पनि म घर फर्केको हुँ । ’आफुसहित नवलपरासीका एकजना गरी दुईजना घर आएको उनले बताए । उनको पल्टनमा नेपालका विभिन्न जिल्लाका दुईदर्जनबढी नेपाली कार्यरत छन् । यस अघिका दशैंमा नाकामा चेकजाँचका नाममा भारतीय तथा नेपाली सुरक्षाकर्मीबाट अनावश्यक सास्ती पाउने खवर सुनिए पनि यस पटक त्यस्तो केही समस्या नभएको उनको भनाई छ ।
दशैंका बेला नाकामा नेपालीबाटै नेपाली लुटिने, ठगिने गरेको गुनासो बढेपछि स्थानीय प्रशासनले नियमन गर्न नाकामा चेकजाँचलाई कडाई गरेको छ । सीमा क्षेत्रमा भारतलगायत अन्य ठाउँबाट नेपाल फर्किने कुनै पनि नेपालीले दुःख नपाओस् भनेर सुरक्षा व्यवस्था मजबुत बनाइएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।
अटो रिक्सा चालकले बढी भाडा लिएमा, यात्रुलाई अनावश्यक तानातान गरेमा, चेकजाँचका नाममा सुरक्षाकर्मीले दुःख दिएको देखिएमा कारबाहीको दायरामा ल्याइने कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राजन लामाले बताए । सीमा नाकामा विभिन्न बाहानामा यात्रुहरूलाई दुःख दिने, ठग्ने जस्ता कार्य अपराध भएकाले यसमा संलग्नलाई कानूनी कारवाही गर्ने उनले बताए । अटो रिक्सा चालकहरूले यात्रुबाट मनपरी रूपमा भाडा लिएमा , यात्राुलाई तानातान गर्नेलगायत अनय दुःख दिने काम गरेमा तत्काल प्रहरीलाई खवर गर्न उनले भनेका छन् । निर्धारण गरिएको भन्दा बढी भाडा असुल्नेलाई कारबाही गरिने प्रहरी नायव उपरीक्षक लामाले बताए । सीमा नाकामा चेकजाँचमा कडाइ गर्नु राम्रो कुरा भएको पुनको भनाई छ ।