बेवारिसे शव जलाएर व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेत फरार भएका छन् । उनीविरुद्ध उनका पूर्व सहकर्मी सपना रोका मगरले प्रहरीमा किटानी जाहेरी दिएपछि बस्नेत फरार भएका हुन् ।
सपनाले आफू विरुद्ध अभद्र व्यवहार गर्ने गरी जथाभावी बोल्दै हिँडेको भन्दै शुक्रबार काठमाडौं प्रहरी परिसरमा बस्नेतविरुद्ध जाहेरी दिएकी हुन् ।
बस्नेत विरुद्ध सपनाले अभद्र व्यवहारको किटानी जाहेरी दिएको परिषरले जनाएको छ । जाहेरी पाएसँग विनयजंग बस्नेतलाई पक्राउ गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतमा गई आइतबार पक्राउ पुर्जी लिएको थियो ।
उनी अहिले फरार रहेको र उनको खोजी कार्य भईरहेको परिषरका प्रहरी उपरीक्षक रमेश बस्नेतले नेपालन्युजलाई बताएका छन् ।
‘पीडितले किटानी जाहेरी दिएपछि अदालतले पनि विनयजंग बस्नेतलाई पक्राउ गर्न अनुमति दिईसकेको अबस्था छ ।’, उनले भने– ‘हामीले निजलाई पक्राउ गर्ने कोशिसमा छौँ । अहिले उनी फरार छन् । खोजी कार्य भईरहेको छ ।’
कोरोना महामारीका बेला विनय र सपना बाबु छोरीको रुपमा वेवारिसे शबहरु बटुलेर जलाउँदै गरेको अबस्थामा देखिएको थियो । दुबै जनाको यस्तो कामलाई समाजले राम्रै तारिफ समेत गरिएको थियो ।
बीबीसीको एक सय प्रभावशाली महिलाको सूचीमा सपना अटाएपछि उनीहरुको सम्बन्धमा चिसिएको थियो । त्यसपछि विनयले सपनाको विरुद्ध अपाच्य अभिव्यक्तिहरु दिँदै आएका थिए ।

























