२७ जेठ, मेचीनगर : गत जेठ १८ गते झापाको मेचीनगरमा घरभित्रै संदिग्ध अवस्थामा शव भेटिएको २६ वर्षीया मौसमी कायस्था घटनाको सत्यतथ्य छानबीन तथा दोषीलाई कारवाहीको माग गदैं स्थानीयवासीहरुले स्वत : स्फूतरुपमा प्रदर्शन गरेका छन् ।

घटना भएको एकसाता वितिसक्दासम्म घटनाको सत्यतथ्य कुरा बाहिर नआएको, मृतकका श्रीमान घटना लगत्तै नियमित काममा जान थालेकोलगायतका गतिविधिले अशंका पैदा भएको भन्दैं स्थानीयवासीले बुधबार मौसमीलाई न्याय दे, घटनाको सत्यतथ्य छानबीन गर, दोषीलाई कारवाही गर, हत्यारा शिक्षक मुर्दावाद, हत्यारा शिक्षक चाँहिदैन्, विद्यालय पस्न पाउँदैन्, अपराधी शिक्षक तत्काल हटाउँ जस्ता नाराबाजीसहित प्लेकार्ड बोकेर अस्थायी प्रहरी चौकी सतिघट्टा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा परिसरमा प्रदर्शन गरेका थिए ।

उनीहरुले स्थानीय सरकार मेचीनगर नगरपालिका पुगेर शिक्षा शाखा प्रमुख उपसचिव होमनाथ भण्डारी र उपप्रमुख मीना पोख्रेल उप्रेतीलाई भेटेर घटनाका बारेमा जानकारी गराउँदै मौसमीलाई न्याय दिन र घटनाको उचित छानबीन गरी चाडोभन्दा चाडो सत्यतथ्य कुरा बाहिर ल्याएर घटनामा जो कोही पनि दोषी दोषी ठहरिए कानूनी कारवाही गर्न माग गरेका थिए ।
प्रदर्शनमा उत्रिएका स्थानीयवासीले सम्बन्धित वडाका वडाध्यक्षलाई समेत भेटेर ध्यानाकर्षण गराएको बताइएको छ । प्रदर्शनमा संलग्न एकजना सहभागीका अनुसार ‘घटनाको निष्पक्ष, पारदर्शी, र गहिरो अनुसन्धान हुनुपर्ने, घटनामा कसैको संलग्नता देखिए दोषीलाई कानूनको कठघरामा उभ्याई न्याय दिलाइनु पर्ने राज्यको दायित्व भएकाले स्थानीय सरकार समक्ष पुगेर घटनाका विषयमा जानकारी गराएका हौंँ । ’ उनले भने मौसमी नेपालकी हुन् की भारतकी एउटी नेपाली बुहारी र उनको गर्भमा रहेको शिशुले न्याय पाउनै पर्छ ।

मृतक मौसमीका श्रीमान पंकज कायस्था स्थानीय अरनिको माध्यमिक विद्यालय मेचीनगर-७ को विज्ञान विषयका करार शिक्षक हुन् । घटना शंकाजनक भएकाले तत्काल त्यस विद्यालयबाट शिक्षक पंकजलाई हटाउन नगरपालिकाको शिक्षा शाखामा उनीहरुले भनेका छन् । घटना भएको पछि उनका श्रमिान पंकजलाई प्रहरीले नियन्त्रणमा लिइएको भएपनि तत्कालै छाडेको र विद्यालय जान थालेपछि स्थानीयवासी आक्रोशित भएका थिए । घटनाको झिनोफानो नभईञ्जेल विद्यालयले भने, उनलाई विदा बस्न भनेको समाचार स्रोतको भनाई छ ।
समाचार स्रोतका अनुसार मृतक मौसमीको पेटमा छ महिनाको गर्भ रहेको थियो । भारतको विहार राज्य अन्तर्गत किसनगञ्ज नजीक दालखोला माइती घर भएकी मौसमीको एक वर्ष अघिमात्र झापा मेचीनगर नगरपालिका वडानम्बर-७ सतिघट्टा निवासी पंकज कायस्थासँग बिहे भएको थियो ।

मौसमी गत जेठ १८ गते आफ्नै घरको भान्सा कोठाभित्र झुण्डिएको देखेपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा खवर प्राप्त भए लगत्तै प्रहरी पुगेर कानूनी प्रक्रिया पुरा गरी पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको प्रहरीले जनाएको छ । मौसमीको पोस्टमार्टम पश्चात शव माइती पक्षले भारतर्फ लिएर गएको बताइएको छ ।

























