“आडम्बरी”:शार्दूल

A notice in Nepali from Mechinagar Ward No. 10

“पश्चिमाले हेप्छन् र हामीलाई नपत्याएका”……
“व्यावसायिक उत्पादनमा सरकारले साथ दिएन र मात्रै, नत्र ओैषधी बेचेरै खरबौँ कमाउन सकिन्थ्यो”……..
“जाबो कोरोना के हो? हजारौँ वर्ष पुरानो आयुर्वेदमा सबै रोगको उपचार छ”……..
“डब्ल्यू एच् ओ मा पश्चिमाको प्रभाव छ र मात्रै हो। नत्र पहिल्यै प्रमाणित भईसक्ने”……..

आदि आदि…

एक वर्ष जति अघि के जातीको पात र के जाती झारको जरा घोटघाट पारेर मिनिरल बाटरका बोतलमा हल्लाएर ‘कोरोनाको ओैषधी’ तयार पार्ने एक नेपाली ‘डाक्टर’को सार्वजनिक प्रशंशा यस्तै यस्तै तर्कहरु सहित सुनिया’थ्यो, बडेबडे विद्वान सरहरुबाट।

हतारमा ‘आक्रामक प्रचार’ गर्न भ्याईहाल्नुभएका ती विद्वान सरहरुले पछि न त एकपटक “हैन रहेछ” भन्नूभो । न त “तिनका भर नपरौँ है” भन्नुभो। “कोरोनाको ओखती देशमै बन्यो” भनीरहँदापनि तिनको शान (स्वाग्) उस्तै थियो। आफू पुर्णत बहकिएको साबित भईसक्दापनि उनको शान उस्तै छ।

आउनुस् आज एकछिन, हाम्रो समाजमा व्याप्त यस्ता विद्वान र वरिष्ठहरुलाई सम्झौँ। यस्ता विद्वानहरु जसले आफ्नो भनाई, व्यवहार र प्रस्तुति जस्तै बकम्फुस्से भएपनि केन्द्रमा आफैँ रहनुपर्छ भन्ठान्छन् र त्यसै अनुसार व्यवहार गरीरहन्छन् पनि। यिनका अरु विशेषताहरुको चर्चा गरौँ ता कि यिनलाई चिन्न सजिलो होस्।

मुलुकमा नानाथरी ‘बाबा’हरु, ‘स्वामी महाराज’हरु र अनेकथरी ‘माता’हरु जन्माउने, मोटरसाईकलको ईन्जिन ठाडो पारेर पंखा घुमाउनेलाई ‘बैज्ञानिक’ र ‘हेलिकप्टर निर्माता’ बनाईदिने, रटटट पटटट गर्दैमा ‘अलौकिक स्मरणशक्ति’ भिडाईदिईहाल्ने, दारीवालाले अङ्ग्रेजी बोल्यो कि ‘महान् बिचारक’ बनाईदिईहाल्ने, ‘चमत्कार’ र ‘अलौकिक शक्ति’को टिठलाग्दो प्रचार गर्नेमा यिनैखाले विद्वानहरुको समूह सबभन्दा अघि छ। सार्वजनिक समारोहहरुमा यस्ता ‘स्वघोषित विद्वानहरु’ सकभर हप्प परेर बस्छन्। अर्कोको ‘नमस्कार’ पर्खिन्छन्। अलिक पर्तिरको कुर्सी अलिक वर्तिर आफैँ तानेर बस्नुको सट्टा यी बरु एकछिन उभ्भिन्छन् तर कुर्सी अर्कोले तान्दिए मात्र आफ्नो इज्जत हुने भन्ठान्छन्। चिटिक्क पहिरन नभएका सर्वसाधारण सँग यी भरसक बोलिहाल्दैनन्। यिनलाई ठट्टा गर्नपनि खासै आउँदैन, किनकी यिनका बिचारमा गम्भीर हुनु मात्र ‘बरिष्ठ’ हुनु हो। ठट्टा गरिहाल्दा पनि यिनका अधिकांश ठट्यौलीहरु स्त्रीद्वेशी, समुदाय/जाति/लिङ्ग विशेषलाई होच्याउने खाले हुन्छन्। यिनका मजाकहरु पछिल्लो पुस्ताले उनको मानसिकता बुझ्नेगरी ‘अनुचित’ हुने भएकोले पनि मजाक गर्न यिनी समकालीन नै खोज्छन्, तल्लो उमेर समूहसँग गर्दैनन्। तपाँईका घर आए भने यिनले ‘बुबा खोइ?’ सोध्छन्, आमा सँग कामकाजका कुरा गर्न खोज्दैनन्। यिनलाई मन्दिर दर्शन गर्न जाँदापनि चारवटा कलम सर्टमा भिरेर हिँड्ने आदत हुन्छ। पुट्ट भुँडी निस्किसक्ला तर अर्को उमेरसमुह सँग यिनी मरिगए खेलकुद गर्दैनन्। ‘मर्निङ् वाक्’ को लागि सम्म ठिकै छ, तर अन्य खेलकुद र पारिवारिक रमाईलोको लागि ‘वरिष्ठ’हरुसँग समय हुनुहुन्न भन्ने यिनको धारणा हुन्छ। यिनको मुख्य ध्याउन्न आफुले सम्मान पाईरहेको छु या छैन मा हुन्छ।
तपाँईका घरमा चिया खान आए, कसलाई पहिला चिया दिईयो, यिनले ख्याल गरिरहेका हुन्छन्; त्यताबाट तपाँईको दृष्टिकोण बुझ्छन्। कहिलेकहिले कोठाको पल्लो छेउमा छन् भनेपनि यिनलाई पहिला चिया दिनुपर्छ। यिनी मन्चमा अनेक अधिकार र समानताका कुरा गर्छन्। तर यिनका समकालिनहरु घरमा आएभने तिनका अघिल्तिर श्रीमतीलाई ‘आज्ञाकारी’ देखाउनमा यिनको मुख्य ध्यान हुन्छ। साथीहरुले सुन्दैछन् भने श्रिमतीसँग फोनमा बोल्दा निर्देशन दिए जसरी मात्र बोल्छन् यी। बेडरुममा जतिसुकै रोमान्टिक पल्टिएपनि, सडकमा श्रिमतीको हात समाएर हिँड्न यिनलाई यिनको ‘वरिष्ठता’ले रोक्छ। ‘जागीर खाने’ चक्करमा दिउँसो ७ घन्टा यिनी कुर्सीमा बसेका छन् भने बेलुकी केही गर्नै नसक्नेगरी थाकेर यी घर फर्किन्छन्, तर श्रीमती यदि घरै बस्छिन् भने बिहान देखि बेलुकै सम्म काममा खटेपनि थाक्न चैँ थाक्न पाउँदिनन् भन्ने यिनको मान्यता हुन्छ। तपाँईपनि उही लाईनमा तान्न यिनले आफ्नो चाकरी गर्नेहरुको मात्र तारिफ गरिहिँड्छन्। यिनी पाहुना लाग्न आईगए भने तपाँईले सँधै जे खानुहुन्छ, त्यै खुवाउनु ‘सम्मान नपुर्याउनु’ हो। यिनलाई विशेष मानेर मात्र पुग्दैन, सेवामा विशेष गरिनुपर्छ। यिनलाई सबै भन्दा मन नपर्ने भनेको आलोचना हो, सबैभन्दा मनपर्ने भनेको चाकरी हो। नाम मात्र लिएको नरुचाउने यिनलाई मन्चहरुबाट सम्बोधन गर्दा अरु केही नभेटे ‘भुतपुर्व साधारण सदस्य’, समेत भन्नुपर्ने हुन्छ। कार्यक्रमहरुमा यिनी जानीजानी अलिकति ढिला आउँछन्, किनकी पर्खिने ‘साना’ले हो र पर्खाउने ‘ठूला’ले हो। एकैपटकमा यिनलाई चिन्न चाहने हो र यदि तपाईं चैँ सर्वसाधारण हुनुहुन्छ भने, यिनलाई उनका नामका पछाडी ‘जी’ हालेर बोलाईदिनुस्; ‘सर’, ‘साब्’, ‘ज्यु’ चाहिने यिनको अनुहारमा असन्तुष्टि देखिईहाल्छ। व्यावसायिक या ओेैपचारिक सम्बन्ध मात्र छ र यदि तपाँईपनि उस्तै ओहदामा हुनुहुन्छ भनेपनि अघिकांश समय यिनले ‘भाइ’, ‘बाबू’, ‘नानी’, ‘बैनी’ लगाएर तपाँईलाई उनिसँग बराबरी नरहेको आभाष गराईरहन्छन्; तपाँईका नामा ‘जी’ हालेर बोल्दैनन्। एक नम्बरका ‘अटेनसन् सीकर्’हरु यी ‘कन्स्पिरेसी थिओरी’ हरुका प्रचारक पनि हुन्छन्।
चियापसलतिर यिनीहरु पहिला पहिला “राजा, माओवादी, भारत, अमेरिका सबै भित्रभित्रै मिलेका छन्” भन्दै गफ चुट्थे र ध्यान आकर्षण गर्थे। आजकल यिनीहरु ‘कोरोना पश्चिमाले जानीजानी जन्माएको’ या ‘एम् सी सी आए सेना लगाएर भोलिपल्टै नेपाल कब्जा गर्ने अमेरिकाको योजना हो’ भन्दै ध्यान खिच्छन्। श्रेय लिन सबै भन्दा अघिल्तिर यी हुन्छन्। पहिलो पटक भेट्दै हुनुहुन्छ भने आफ्नै पहुँच र योगदान बारे बढी बोल्छन्, तपाँईको बारे अलिकति मात्रै सोध्छन्। यी फेसबुकमा भेटेका अनलाईनका खबर मात्र पढ्छन् र सबै मिलाएर अलेली ‘सस्पेन्स्’ थपिओरी चोकबजारमा गफ दिनेमा अगाडि देखिन्छन् जस मध्येका केही आजकल अनलाईनका पोस्टहरुमा कमेन्टमा छिरेर गाली बक्नेमा पनि सक्रिय छन्। टोल छिमेकमा छोईनसक्नु स्वाग् भएका यिनीहरु आजकल अनलाईनखबर, सेतोपाटी आदिका समाचार मुन्तिर गएर समाचारमा उल्लेखित नेतालाई “खाते”, “कुकुर”, “डाँका” आदि लेख्नमा पनि अलेली सक्रियता देखाउन थालेका छन्। घरमा खाना बनाउने या सघाउनेमा आफ्नो जिम्मेवारी देख्दै नदेख्ने भएकोले खाना खान नबोलाईन्जेल मनमौजी गरीबस्नु यिनको आदत हुन्छ। सिक्नु-सोध्नु त परको कुरो, “मलाई त्यो बारे ज्ञान छैन” भनेकै यिनीबाट भरसक सुनिन्न। विशेषगरी बुहारी या छरछिमेकका महिलाहरु सँग चैँ ति महिलाहरु जतिसुकै सक्षम र जानकार भएपनि यिनले विषयगत बहस गर्न‌ै खोज्दैनन्। अर्को पुरुष भन्दा आफू कमजोर साबित हुनुले केही नगर्ला तर सार्वजनिक मन्चहरुमा कोहि महिला आफु भन्दा ‘जानकार’ या ‘प्रतिभावान’ साबित हुनुले यिनलाई बढी दुखाउँछ। र समग्रमा, अक्सर यिनै प्रगतीशिल र समाजलाई अघि बढाउनुपर्छ भन्नेहरु हुन्छन्। यिनकै पहुँच राम्रो हुन्छ। यिनकै कुरो बिक्छ। धेरैले यिनैलाई पत्याउँछन् पनि।

यी बाट बच्नुपर्छ, बचौँ। बालबच्चा को मनोबिज्ञानलाई यिनकै सिको गर्नबाट रोक्नुपर्छ, रोकौँ। मान्छे चिनौँ र बच्न तर्फ लागीहालौँ।

( सुनसरी,इटहरी निवासी शार्दूल समय सान्दर्भिक विभिन्न विषयमा कलम चलाउदै आएका एक कुशल सर्जक हुन् । )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.