गड्याङगुडुङ् र चट्याङ् सहितकाे रातभरकाे झरीपछि भालेकाे डाकमा उठेर खाेलाबाढी हेर्न गएकाे सानैदेखिका यादहरु छन् मेरा । खाेलाबाढी आउँदा खाेला थुनेर खाेलाखेत पटाएकाे याद आउँछ । थाेरै फल्दैनथ्याे धान बाढी पटाएकाे खेतमा । धेरैले खाेला खेतलाई मायाँ गर्थे भात खाने खेत भनेर । खाेला खेत सबै मासिसकेर बिघा, कठ्ठा हुँदै हामी पनि टाढा धुरमा समेटिएका थियाैँ ।
आज रातिकाे गड्याङ्गुडुङ् झरीले अँध्यारै मेराे मनमा टाढाकाे खाेला हेर्न जाऊँ जाऊँ लाग्याे । जाँदाजाँदै उज्यालो भयाे । मैले खाेला पुग्नु परेन । खाेलाे त बाैलाएर बजार पसिसकेकाे रहेछ । मान्छेकाे काेकाेहाेलाे सुन्न पुगेँ ।
– हरे हरे शिव शिव याे के देख्नु पर्याे ।याे खाेलाे बाैलायाे ।
– ऊः घरै बग्दै छ ।
– बस्तुभाउ, सुँगुर खसी सबै बगायाे
– लाै न नि मान्छेकाे लास पाे बगाउँदै छ ।
– दरवार जत्रा घर लडायाे याे खाेलाे किन बाैलाएकाे ?
– बिचरा , माथ्ला टाेलमा एउटा घरका सपरिवार बगे अरे ।
– पारिकाे गाउँकाे खबरै थाहा छैन, पुल पनि बगायाे अरे ।
– पिच बाटाेमा पुरै खाेलै कुद्दैछ ।
– टेलिकमकाे टाबर बगाएछ ।
– केबुल, बिजुलीकाे पाेल सबै बगायाे । अब अन्धकारमा बस्नु पर्नेभाे
– अझै केके बगाउने हाे ?
– हैन याे खाेलाे किन बाैलाएकाे ।
– भाग ,भाग , कुद ,कुद , । बाढी बढ्दै छ कटान आउँदै छ ।
काेही भाग्दै छन् । काेही चिच्याउँदै छन् ।
यसैबीच एउटा बाैलाहा आएर बर्बराउन थाल्याे – बाैलाहा , बाैलाहा , सबै बाैलाहा , खाेलाे मिच्ने बाैलाहा, खाेलामा घर बनाउने बाैलाहा , खाेलामा डाेजर हाल्ने बाैलाहा, क्रसर खाेल्ने बाैलाहा खाेलामा ढल हाल्ने बाैलाहा , खाेलामा ढल्ने बाैलाहा , खाेलामा बग्ने बाैलाहा , खाेलालाई बाैलाहा भन्ने सबै बाैलाहा ……………. बाैलाहाका कुरालाई कसैले ख्याल गरे वा गरेनन् । म भने अलमल परेँ बास्तवमा काे चैँ हाे बाैलाहा । कतै म पनि ?…………………………………।
(लेखक निरज कोइराला सुनसरी इटहरी निवासी हुन् । नेपाली विषयमा लामो समयदेखि अध्यापन गराउँदै आएका उनका थुप्रै फुटकर कविता,कथाहरु विभिन्न पत्र पत्रिका र अनलाइन पत्रिकामा प्रकाशित छन् ।)

























