यस वर्षको आदिकवि भानुभक्त आचार्य पुरस्कार स्रष्टा डाक्टर टीका भण्डारीलाई प्रदान

A notice in Nepali from Mechinagar Ward No. 10

लक्ष्मी उप्रेती
२९ असार, मेचीनगर : यस वर्षको आदिकवि भानुभक्त आचार्य पुरस्कार स्रष्टा डाक्टर टीका भण्डारीलाई प्रदान गरिएको छ । नेपाली संगीत क्षेत्रमा स्वर्णिम एवम् राष्ट्रिय अवदानको निष्ठापूर्वक कदर गर्दै तथा संगीतको श्रीकमलमा अझ सुवास थप्ने हेतुले नगद एक लाख रुपैयाँ राशी र सम्मान पत्रसहितको पुरस्कार आज डाक्टर भण्डारीलाई प्रदान गरिएको हो । झापाको मेचीनगर नगरपालिका वडा नमबर ९ स्थायी घर भएका डाक्टर भण्डारी महालक्ष्मी नगरपालिका १ इमाडोल ललितपुर बर्स्दै आएका छन् ।

भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले २१३ औँ आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती समारोहका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक डाक्टर भीम खतिवडा, मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, प्रतिष्ठानका संस्थापक अध्यक्ष एवम् संरक्षक दुर्गाप्रसाद आचार्यले संयुक्तरुपमा सम्मानित डाक्टर भण्डारीलाई नगद, सम्मान पत्र प्रदान गरेका थिए ।

काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टर भीम खतिवडाले पानसमा दीप प्रज्वलन र प्रतिष्ठान परिसरमा रहेको आदिकविको पूर्णकदको शालीकमा माल्यर्पण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । काँकरभिट्टा बहुमुखी क्याम्पसका प्राध्यापक दामोदर ढुङ्गेलले सम्मानित व्यक्तित्वका विषयमा प्रकाश पारेका थिए । ॅनेपाली गीत संगीतको श्रीबृद्धिका लागि आफ्‌नो जीवन समर्पण गदैं नेपाली आधूनिक संगीतमा नवीनता थप्दैं र राष्टिय संगीतका धुनमा जीवीत राख्दैं सांगीतिक कर्मले हरेकलाई गौरावन्तित बनाएको, टीका भण्डारीको सिर्जना हाम्रो समाजमा दर्पण , संस्कृति र अभिलेख हो । सम्मान पत्रमा लेखिएको छ । ’

सम्मानित व्यक्तित्व डाक्टर भण्डारीले पुरस्कार स्वरुप प्राप्त गरेको नगद एकलाख रुपैयाँ तत्कालै आफुले क,ख,रा सिकेको झापाको बुद्धशान्तिमास्थित शान्ति आदर्श माध्यमिक विद्यालय शान्तिनगरलाई प्रदान गरे । उक्त रकम विद्यालयका प्रधानध्यापक शिवकुमार पौडेलले ग्रहण गरेका थिए । २१२ औँ भानु जयन्तीसम्म यो पुरस्कार भानु साहित्यिक राष्ट्रिय पुरस्कारका नामबाट प्रदान गरिने गरिएको थियो । यस वर्षबाट आदिकवि भानुभक्त आचार्य पुरस्कारका नाममा वितरण प्रारम्भ भएको छ ।

झापाको मेचीनगर —०६ काँकरभिट्टामा अवस्थित भानु साहित्यिक प्रतिष्ठान, कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान र हेमराज–मेदनी खरेल प्रतिष्ठान एक आपसमा गाभिएका (मर्ज भएका) हुन् । यी तीनवटै प्रतिष्ठान एकीकृत भएर भानु साहित्यिक प्रतिष्ठानको नामबाट नै मेचीनगरमा विभिन्न साहित्यिक, प्राज्ञिक र सम्मान कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् । यी संस्थाहरू एकीकृत भएपश्चात् काँकरभिट्टामा साहित्यिक महोत्सव, भानु जयन्ती (असार २९) को अवसरमा विभिन्न पुरस्कार वितरण र श्रष्टा सम्मान कार्यक्रमहरू भव्य रूपमा आयोजना हुने गरेका छन् । यस एकीकृत प्रतिष्ठानले काँकरभिट्टा क्षेत्रमा आदिकवि भानुभक्त आचार्यको पूर्णकदको सालिक निर्माण गर्ने लगायतका विभिन्न साहित्यिक तथा सामाजिक कार्यक्रमहरू सक्रिय रूपमा सञ्चालन गर्दै आएको छ ।

नगद २५ हजार रुपैयाँ र सम्मान पत्रसहितको कृष्ण—पवित्रा उप्रेती कला संस्कृति पुरस्कार— २०८३ झापा कन्काई नगरपालिका—९ का पवन राजवंशीलाई प्रदान गरिएको छ । विभिन्न विधाका कृति प्रकाशन, ललितकला, अनुवाद तथा विविध विषयमा आधारित चित्रकला प्रदर्शनिलगायतको माध्यमबाट नेपाली वाङ्मय कला तथा लोक संस्कृतिको सम्वद्र्धन र प्रवद्र्धनमा अनवरत रुपमा पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य समेत रहेका राजवंशी लाई उक्त राशीको पुरस्कार प्रदान गरिएको हो । उनको सम्मान पत्र प्रतिष्ठानका सचिव कृष्णकान्त (नवराज) खनियाँले वाचन गरेका थिए । संविधान सभाका सदस्य रविन कोइरालाले नगदसहित सम्मान पत्र सम्मानित व्यक्तित्वलाई प्रदान गरेका थिए ।

यसैगरी, हेमराज–मेदनी खरेल साहित्यिक पुरस्कार झापा कन्काई नगरपालिका ३ निवासी टीका भट्टराई नेपाललाई प्रदान गरियो । नगद २५ हजार रुपैयाँ सम्मान पत्रसहितको पुरस्कार मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले प्रदान गरेका थिए । नेपाली भाषा र साहित्य, कला तथा सङ्गीतको क्षेत्रमा योगदान पुर्‍याउने स्थानीय श्र्रष्टालाई सम्मान गर्ने परम्परा अनुसार उनीहरुलाई सम्मान पत्र र नगदसहित सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतियोगितात्मक कवि गोष्ठीमा प्रथम, दोस्रो र तेस्रो हुने क्रमस दिपेश राउत धुलावारी मावि, निर्मला वास्तोला दंगाल र प्रस्तुती भण्डारी मेचीनगरलाई नगद पााच हजार, तीन हजार र दुई हजार नगदसहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

सोहि कार्यक्रममा झापा मेचीनगर—१० धुलावारी निवासी प्रस्तुती वस्तीको अंग्रेजी भाषामा लेखिएको कृत कविता संग्रह विमोचन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टर भीम खतिवडा, विशिष्ट अतिथि संविधान सभाका सदस्य रविन कोइराला, प्रतिष्ठानका संस्थापक अध्यक्ष एवम् संरक्षक दुर्गाप्रसाद आचार्य, स्रष्टा डाक्टर टीका भण्डारी, लेखक वस्तीका पिता माता अनन्तप्रकाश वस्ती र निता पोख्रेल वस्तीले संयुक्तरुपमा कृतिको विमोचन गरेका थिए । कृतिका विषयमा सुवर्ण भट्टराईले प्रकाश पारेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक डाक्टर खतिवडा, प्रतिष्ठानका संस्थापक अध्यक्ष एवम् संरक्षक दुर्गाप्रसाद आचार्य, श्रष्टा चन्द्र भण्डारी, शब्द समूह भारत पश्चिम बंगाल शिलीगुढीका ज्ञानेन्द्र खतिवडा र सम्मानित व्यक्तित्वहरुकातर्फबाट डाक्टर टीका भण्डारीले बोलेका थिए । कार्यक्रममा बोल्दैं अधिकाँश वक्ताहरुले आदिकवि भानुभक्त आचार्यले नेपाली भाष र साहित्यमा पुर्याएको योगदान कसैले भुल्न नहुने बताए । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले नेपाली भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको उनीहरुले स्मरण गराएका थिए ।

भानु साहित्यिक प्रतिष्ठान मेचीनगरका अध्यक्ष डिल्लीराम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी सवैलाई उपाध्यक्ष सुशील आचार्यले शब्दमार्फत स्वागत, श्रष्टा दीपा भट्टराईले संगीतमय भानुभक्तीय रामायण वाचन, काँकरभिट्टा बहुमुखी क्याम्पसका प्राध्यापक दामोदर ढुङ्गेलले आदिकवि भानुभक्त आचार्यको कृतित्व तथा व्यक्तित्वमाथि चर्चा र महासचिव लक्ष्मीप्रसाद उप्रेतीले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा पञ्चे बाजागाजा र झाँकीसहित प्रदर्शन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.