२९ मंसिर, मेचीनगर : नक्कली पीसीआर रिपोर्ट बनाएर धन्दा चलाउने काँकरभिट्टाका एकजना ट्राभल व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिईएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बशन्त पाठकका अनुसार झापाको मेचीनगर—६ काँकरभिट्टामा रिञ्जी टुर्स एण्ड ट्राभल सञ्चालन गदैं आएका ३६ वर्षीया पेमा तामाङलाई काँकरभिट्टा प्रहरीले मंगलबार साँझ साढे ७ बजे पक्राउ गरेको हो ।
नक्कली पीसीआर प्रमाण बोकेर गन्तव्यमा जान लागेका एक व्यक्तिको पीसीआर रिपोर्टमा शंका लागि अनुसन्धान गर्ने क्रममा सोधपुछ गर्दा तामाङको रिञ्जी टुर्स एण्ड ट्राभलबाट बनाएको बताएपछि प्रहरीले नक्कली रिपोर्ट बोक्ने व्यक्तिको सहयोगबाट तामाङलाई उनकै रिञ्जी टुर्स एण्ड ट्राभलबाट रिपोर्ट बनाउन प्रयोग भएको कम्प्यूटरसहित नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।
उनले सो वापत १ हजार ३ सय रुपैयाँ ती व्यक्तिबाट लिइएको वयान प्रहरीलाई दिईएका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको हिरासतमा रहेका पेमाका विषयमा थप अनुसन्धान भईरहेको प्रवक्ता प्रहरी नायव उपरीक्षक पाठकले बताउनुभयो । मंहगो रकम लिएर नक्कली पीसीआर नेगेटिभ लेखिएको प्रमाणपत्र बिक्री हुने गरेको सूचना प्राप्त भए पछि काँकरभिट्टा प्रहरीले गोप्यरुपमा अनुसन्धान शुरु गरेको र त्यसतर्फ निगरानी बढाएको प्रहरीको भनाई छ । प्रहरी नियन्त्रणमा रहेका तामाङका विषयमा अन्य जानकारी अनुसन्धान पश्चात सार्वजनिक गर्ने प्रवक्ता प्रहरी नायव उपरीक्षक बशन्त पाठकले जानकारी दिनुभयो ।
उनलाई लिखित सम्बन्धि कसुर सम्बन्धि मुद्घामा अनुसन्धान भइरहेको छ । यदि यो कसुर प्रमाणित भए मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ को दफा २७६ को उपदफा ३ ग बमोजिम कारवाही हुने व्यवस्था छ । यस्तो घटनामा संलग्नलाई ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवना हुने कानुनी व्यवस्था रहेको छ ।

























