नर्थप्वाइन्ट र सूर्योदयले बाँडे अंक, काँकरभिट्टा अन्तरविद्यालय फुटबल सुरु

A notice in Nepali from Mechinagar Ward No. 10

२९ साउन, मेचीनगर :  मेचीनगर–६ स्थित काँकरभिट्टा खेलमैदानमा शुक्रबारदेखि मेची नेत्रालय काँकरभिट्टा अन्तरविद्यालय लिग कम नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा नर्थप्वाइन्ट इङ्लिस बोर्डिङ स्कुल र सूर्योदय इङ्लिस बोर्डिङ स्कुलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले आक्रमणलाई तीव्रता दिए पनि गोल गर्न सकेनन् । दोस्रो हाफमा भने खेल थप रोमाञ्चक बन्यो । दोस्रो हाफको १३औँ मिनेटमा नर्थप्वाइन्टका सपोज भण्डारीले गोल गर्दै आफ्नो टोलीलाई १–० को अग्रता दिलाए ।

अग्रता लिएपछि नर्थप्वाइन्टले खेल आफ्नो नियन्त्रणमा राख्ने प्रयास गरेको थियो । तर, सूर्योदयले अन्तिम समयसम्म हार नमानेपछि खेलको अतिरिक्त समयमा बराबरी गोल गर्न सफल भयो । दोस्रो हाफको अतिरिक्त समयमा करुन थापाले सूर्योदयका लागि गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याए ।

त्यसपछि दुवै टोलीबाट निर्णायक गोलका लागि प्रयास भए पनि थप गोल हुन नसकेपछि खेल बराबरीमा सकियो । बराबरीसँगै नर्थप्वाइन्ट र सूर्योदयले समान १–१ अंक प्राप्त गरेका छन् ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका नर्थप्वाइन्टका जर्सी नम्बर ११ का सोयम कार्की म्यान अफ द म्याच घोषित भए । उनले नगद १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगिताअन्तर्गत भोलि शनिबार दुई खेल हुने भएका छन् । पहिलो खेलमा श्री काँकरभिट्टा माध्यमिक विद्यालय र लोफोफोरस इङ्लिस बोर्डिङ स्कुलबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, दोस्रो खेलमा गंगा मेमोरियल इङ्लिस बोर्डिङ स्कुल र तारापुञ्ज इङ्लिस बोर्डिङ स्कुल आमनेसामने हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.