काँकरभिट्टा, ५ माघ | २० वर्षसम्म जनप्रतिनिधि विहिन अवस्थामा पुगेका स्थानीय निकायमा अहिले जनप्रतिनिधिहरु पुगेका छन् । जनप्रतिनिधिहरुको उपस्थितीसँगै स्थानीयस्तरमा विकास निर्माणका कामहरुले निरन्तरता पाउन थालेका छन् । यसै क्रममा झापाको मेचीनगर नगरपालिका वडानम्बर ११ ले आफ्नो वडामा विकासको निक्कै फड्को मारिसकेको छ ।
जंगल र खोलाले वरिपरि घेरेको वडा नं. ११ को आयस्रोत सीमित छ । उक्त वडामा हाट बजार समेत छैन । आम्दानीको दरिलो स्रोत नभएकाले संघीय र प्रदेश सरकारको सहयोगमा विकासे योजनाहरु अगाडि बढाइरहेको छ । तीन वर्षको अवधिमा वडा सरकारले १२ वटा साना पुल र १६ वटा कल्र्भट निर्माण सम्पन्न गरेको वडाध्यक्ष सन्तोष कुमार मेचे बताउनुहुन्छ ।
गत आर्थिक वर्ष पुल निर्माणमा समय खर्चिएको वडाले जनतासँग प्रत्यक्ष जोडिएको विद्युत सेवा विस्तार योजनालाई पनि सँगसँगै अगाडि बढाएको छ । सबैतिर विद्युत सेवा विस्तार भएको र ७५ प्रतिशत सडक बत्ती पुगेकाले अब केही समयपछि वडालाई टुकीमुक्त बनाउने लक्ष्य लिइएको वडाध्यक्ष मेचे बताउनुहुन्छ ।
अबका दिनमा ड्रेन निर्माणलाई तीब्रता दिने योजना अघि सारेको यो वडाको बहुप्रतिक्षित बहुजातीय संग्राहालय निर्माणको काम धमाधम भइरहेको छ । वडाको वार्षिक १ करोड र कार्यालय व्यवस्थापनका लागि ५ लाख गरी १ करोड ५ लाख रुपैयाँको बजेटले वडाले विभिन्न विकास निर्माणका काम गरिरहेको छ ।
यहि वडामा रहेको बाँसबारी र कालिका सिमसार पर्यटकीय गन्तव्यको खानी मानिन्छ । दुवै वनलाई एउटै बनाएर टुकटुके रेल कुदाउने योजना भने असफल भएको वडाध्यक्ष मेचेले बताउनुभयो । सिमसार नीतिले उक्त योजना सञ्चालन गर्न नमिल्ने भएपनि पनि प्रयत्न भने जारी नै रहेको छ । उक्त वडाले नदी कटान र हात्ती समस्या भने झेल्दै आएको छ । वडामा जनप्रतिनिधिहरु आएपछि यस्ता धेरै समस्याको समाधान भएको स्थानीय विकास पाठकको भनाई छ । ‘ पहिला पहिला गाउँमा धेरै कुरााके समस्या थियो’ पाठकले भन्नुभयो—‘बाटाघाटो हिलाम्ये र धुलाम्ये कल्भर्ट भत्किएर लथालिङ्ग पुलको उहि हालत कसलाई भन्ने अहिले धेरै सजिलो भएको छ । जनप्रतिनिधि पाएका छौ । गाउँठाउँमा केही समस्या भए उहाँहरुलाई भन्छौ तत्काल समाधान हुन्छ । अहिले स्थानीय तहमा जनप्रतिनिधिहरु आएपछि हामीले धेरै कुराको सुविधा पाएका छौ ।’
वडामा तीन वर्षको अवधिमा वडा सरकारले पुल र कल्र्भट निर्माण सम्पन्न गरेपछि स्थानीयलाई आवतजावत गर्न समेत सहज भएको स्थानीय ज्येष्ठ नागरिक पदमप्रसाद पोखरेलको भनाई छ । ‘ शुरु शुरुमा पुल कल्भर्ट थिएनन् केटाकेटीलाई खोला तरेर विद्यालय जानुपर्ने बाध्यता थियो । कतिलाई त खोलाले बगाएर लैजान्थयो त्यो घण्टा अहिले पनि ताजै छ ’ पोखरेलले भन्नुभयो —‘अहिले वडामा जनप्रतिनिधि आएपछि पुल कल्भर्ट निर्माण भएको छ । आवतजावतमा धेरै सजिलो छ । उहिल्यैका समस्या जनप्रतिनिधिहरुले समाधान गदैं जानुभएको छ । ’
अहिले स्थानीय तहमा जनप्रतिनिधिहरु आइसकेपछि स्थानीयवासीले विकासको अनुभूती गर्न पाएको सर्वसाधारणको भनाई छ । वडा नमबर ११ को जनसंख्या २०६८ सालको जनगणना अनुसार २ हजार २ सय ५० जना रहेको अहिले १३ हजार बढी रहेको छ । चुनावताका सिहंदरवारको अधिकार गाउँ गाउँमा भन्ने नारालाई सार्थक पार्न पनि अहिले स्थानीय सरकारका प्रमुखहरु हरेक हरेक गाउँ गाउँमा पुगेर स्थानीयवासीको समस्या बुझी समाधानको बाटो खोज्न जरुरी छ । यति स्थानीयले आफ्नै घर आगनमा सरकारी सेवा सुविधा छिटो र छरितो ढंगमा विना झणझट सहजरुपमा प्राप्त गर्न सकेमात्र यो नाराले सार्थकता पाउने छ । यसका लागि सम्बन्धित पक्ष कहि कतै अल्मिनु हुदैंन ।

















