काठमाडौँ । लिपुलेक भूमि प्रयोगको सन्दर्भमा नेपाल सरकारले पठाएको कूटनीतिक नोटको जवाफ भारत सरकारले पठाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार संसद्मा एमाले सांसद पद्मा अर्यालको प्रश्नको जवाफ दिँदै भारतबाट कूटनीतिक नोटको औपचारिक जवाफ आएको जानकारी गराउनुभएको हो।
भारत र चीनले नेपाली भूमि लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा खुला गरेपछि नेपाल सरकारले गत वैशाख २० गते दुवै देशलाई कूटनीतिक नोट पठाउँदै आपत्ति जनाएको थियो। भारत सरकारले आयोजना गर्ने उक्त यात्रा जुन २०२६ देखि अगस्टसम्मका लागि तय गरिएको छ।
प्रधानमन्त्री शाहका अनुसार भारतले पठाएको जवाफमा दुवै देशका इतिहासविद्, सर्भेयर र भूमि सम्बन्धी जानकार व्यक्तिहरू राखेर ‘टेबल टल्क’ (वार्ता) मार्फत यो समस्याको समाधान गरिने उल्लेख छ। चीनबाट भने जवाफ आए-नआएको प्रधानमन्त्रीले खुलाउनुभएन। यस विषयमा नेपालले इङ्ल्यान्ड सरकारसँग पनि कुराकानी गरिरहेको उहाँले संसद्लाई जानकारी दिनुभयो। नेपालले सन् १८१६ को सुगौली सन्धिका आधारमा लिम्पियाधुरा मुहान भएको महाकाली नदी नै आफ्नो सीमा भएको दाबी गर्दै आएको छ।


























