१६ भदौं, मेचीनगर : अहिले नेपाली महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीज सँघारमा आइपुगेको छ । हरितालिका तीजलाई प्रेम र समर्पणको पर्व पनि भन्ने गरिएको छ । अनि हरितालिका तीज नेपाल आमाकी पुत्री भगवती पार्वतीसँग जोडिएकोले यो हाम्रो मौलिक पर्व पनि हो । यो सालको हरितालिका तीज पर्व भदौ २० गते दर खाने तथा त्यसको भोलीपल्ट वा २१ गते हरितालिका तीजको ब्रत परेको छ । दर खाने दिन आउन चार र हरितालिका तीजको ब्रत बस्ने दिन आउन पाँचदिन बाँकी छ । तर, झण्डै १५ दिनअघिदेखि नै प्रत्येक शहर तथा गाउँका चोक चोक र गल्ली गल्लीमा तीजको रौनक शुरु भईसकेको छ ।
कुनै टोल विकास संस्था हुन वा राजनीतिक दलका भातृ संगठनहरु, या अन्य विभिन्न संघ संस्थाले आ —आफ्नै ढंगले तीज कार्यक्रम आयोजना गरेका छन् भने तीजका गीतमा गुञ्जिने र त्यसैमा लयमा लय मिलाएर छम छम नाच्ने सम्म गर्दछन् । कसैले ठुल्ठुला तारे होटलमा त कसैले स — साना होटलदेखि पाटी प्यालेस र व्याङ्केटहरुमा तीज मनाईरहदा झापाको मेचीनगरमा रहेको एउटा सामाजिक संस्थाले फरक रुपमा मनाएको छ । सामान्यढंगले तीज मनाए पनि त्यसले सन्देश भने निक्कै ठूलो दिइएको छ ।
झापाको मेचीनगर —९ मा रहेको तारापुञ्ज छोरी बुहारी स—शक्तिकरण संस्थाले अनाथ र अपाङ्ता भएका बालबालिकाहरुसँग यो वर्षको तीज मनाएको छ । संस्थाको मुख्यः श्लोगन नै थियो ‘यसपालीको तीजः अपाङ्ता भएका बालबालिकाहरुलाई समर्पित’ । यो श्लोगनले निक्कैको मन छोएको थियो । संस्थाले झापाको मेचीनगर—७ इटाभट्टामा रहेको समाज सेवा सुधार युवा संघ अपाङ्ग सहयोग समिति झापामा रहेका आनथ र अपाङ्ता भएका बालबालिकाहरुसँग तीज मनाएको छ । समाज सेवा सुधार युवा संघ अपाङ्ग सहयोग समिति झापामा १६ जना अनाथ तथा अपाङ्ता भएका बालबालिकाहरु छन् । संस्थाले त्यहाँ रहेका बालबालिकाहरुलाई तीज खुवाउनुका साथै संस्थालाई स्टेशनरीदेखि खाद्य सामाग्री ‐चामल, दाल, आलु ) समेत प्रदान गरेको थियो ।
कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोख्रेल उप्रेती । उहाँले संस्थाले गरेको यो कार्यको जति प्रशंसा गरे पनि कम हुने भन्दैं संस्थाको निक्कै प्रशंसा गर्नुभयो । संस्थाले हरेक वर्ष विभिन्न स्थानमा पुगेर यसरी नै तीज मनाउँदैं आएको संस्थाका उपाध्यक्ष भानुमती भट्टराईको भनाई छ । गएको वर्ष मेचीनगर—९ मा रहेका बाल स्वबोध साधना केन्द्रका बालबालिकाहरुसँग मनाएको थियो । पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको गुनासो व्यापक बन्दै जान थालेको छ । तर, तारापुञ्ज छोरी बुहारी स—शक्तिकरण संस्थाले आयोजन गरेको यस्तो तीज विशेष कार्यक्रमले भने समाजमा निक्कै राम्रो सन्देश प्रवाह गरेको उपप्रमुख उप्रेतीको भनाई छ । हुन् त विगतको तुलनामा पछिल्लो समय तीज मनाउँने नाममा अनावश्यक तडक भडक सहितका खर्चिला कार्यक्रमहरु बढ्दैं गएको गुनासो पनि सुनिन् थालेको छ ।
सामाजिक व्यवहार ‐सुधार) ऐन ,२०३३ र सामाजिक व्यवहार सुधार नियमावली २०३३ ले धार्मिक , सामाजिक एवम् साँस्कृतिक पर्वहरु मनाउँने विषयमा व्यवस्थित र नियमन गरेको छ । आफ्ना परम्परा एवम् सामाजिक रितिरिवाजलाई मौलिकरुपमा संरक्षण र सम्वद्र्धन गर्ने बाहेक कुनै पनि खालका तीजसँग सम्बनिधत खर्चिला एवम् भडकिलो कार्यक्रम सञ्चाल गर्न नहुने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवम् प्रवक्ता माधव प्रसाद ढुंगानाले हस्ताक्षर गदैं कार्यालयकातर्फबाट तीज पर्व मनाउने सम्बन्धी जरुरी सूचना नै प्रकाशित गर्नुपरेको थियो । ‘पर्व मनाउने सन्दर्भमा अनावश्यक तडक फडक र फजुल खर्च नियन्त्रण गरी असल संस्कारको विकास गदैं जानु हामी सव्ैको कर्तव्य हो ’सूचनामा लेखिएको थियो ।
तीजको बेलामा सबै जान्छन् मेलामा,
म छोरीको आँशु खस्यो दैला ठेलामा ।
तीजको लहर आयो बरिलै ।
पहिला पहिला हरितालिका तीज नजिकिँदै गर्दा गाउँ, सहर, गल्ली चोक, घरघरमा यस्तै गीतहरु गुञ्जन्थे । अहिले प्रायः यस्ता गीतहरु सुन्न छाडेको मेचीनगर —११ धाइजनकी ६७ वर्षीया हरिमाया कार्कीको अनुभव छ । नेपाली नारीहरुको महान चाड तीजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको तथा पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको उहाँ सुनाउनुहुन्छ ।
आफू सानो छँदा गाउँघरमा मादलको तालमा सुखदुःख समेटिएका गीत गाउँदै छमछमी नाचेर तीज मनाएको मेचीनगर —४ बाहुनडाँगीकी ७१ वर्षीया हिमा खनालको मनसपटलमा ताजै छ । विगतको तीज मनाएको उहाँ झल्झली सम्झिनु हुन्छ । तीज वर्षभरिको दुःखसुख साटासाट गर्ने पर्व भए पनि अहिले त्यो संकटमा पुगेको उहाँ बताउनुहुन्छ । ‘अहिले तीजको मौलिकपन हराउँदै गइरहेको छ ’ हिमाले भन्नुभयो—‘अहिले नेपाली संस्कृतिका कारण नेपाली मौलिकता र पहिचान नै हराउँदै गयो । ’ तीज धेरैका लागि चाड होला, अनि थुप्रैका लागि होइन, कहर पनि बन्न पुग्ने गर्दछ ।
तीज पर्व भगवान शिव र पार्वतीसँग जोडेर मनाउने पर्व हो । यस पर्वमा महिलाहरु अघिल्लो दिन दर खाएर भोलिपल्ट अर्थात् हरितालिकाको दिन निरहार पानी पनि नखाई व्रत बसी भगवान शिवको पूजा गर्दछन् । विवाहित महिलाले आफ्नो पतिको दीर्घायुको कामना गर्दै र अविवाहित महिलाले भगवान शिवजस्तो असल, गुणी, राम्रो पति पाऊँ भन्दै व्रत बस्ने प्रचलन रही आएको छ ।

























