३१ भदौ, मेचीनगर : झापा मेचीनगर नगरपालिका—१३ चारआलीकी एलिजा विर्जा नारायणी प्राविधिक शिक्षालय भरतपुर—१० चितवनमा बसेर डिप्लोमा ईन सिभिल इञ्जिनियरिङतर्फ दोस्रो वर्षमा अध्ययन गर्दैगर्दा आर्थिक अभावकै कारण झण्डै झण्डै उनको इञ्जिनियर बन्ने रहरमा पूर्ण विराम लाग्यो ।
पढाईमा आर्थिककै समस्या भएपछि उनले छात्रावृत्तिका लागि मेचीनगर नगरपालिकाको — १३ नम्बर वडा कार्यालयमा निवेदन दिईन् । वडाले नगरपालिकालाई छात्रावृत्तिका लागि सिफारीस गरेपछि कार्यपालिकाको वैठकले उनलाई प्राविधिक शिक्षा एवम् स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई बि.पी. कोइराला छात्रावृत्ति कार्यक्रम अन्तर्गत पचास हजार रुपैया छात्रावृत्ति प्रदान गर्ने निर्णय गर्यो ।
डिप्लोमा ईन सिभिल इञ्जिनियरिङतर्फ दोस्रो वर्षमा अध्ययन गर्दैगर्दा पैसाको जोहो कसरी गर्ने भन्ने चिन्ताले उनलाई पिरोलिरहेको थियो । परिवारमा पैसा बन्दोबस्त गर्न नसक्दा पढाइ बीचमै छाड्ने कि अगाडि बढाउने भन्ने दोधारमा थिएईन उनी । तर, मेचीनगर नगरपालिकाले बि.पी. कोइराला छात्रावृत्ति कार्यक्रम अन्तर्गत पचास हजार रुपैया सहयोग गरेपछि उनको पीरलो टरेको छ । त्रिभुवन विश्व विद्यालय अन्तर्गत विटेक खाद्य प्रविधि स्नातकमा अध्ययन गर्दै गरेकी मेचीनगर—९ की प्रेक्षा तिम्सिनाले समेत बि.पी. कोइराला छात्रावृत्ति प्राप्त गरेपछि अध्ययनमा निक्कै सहयोग मिल्यो ।
आर्थिक वर्ष २०८०/०८१ मा प्राविधिक शिक्षा एवम् स्नातक तह अध्यनरत विद्यार्थीहरुलाई बि.पी. कोइराला छात्रावृत्ति शीर्षकमा पाँच लाख रुपैयाँ विनियोजन गरिएको थियो । विनियोजित रकम प्रेक्षा जस्तै दशजनालाई प्रदान गरिएको थियो । जस्ले गर्दा उच्च शिक्षाका लागि उनीहरुलाई निक्कै राहत मिलेको थियो । परिवारमा कमाउने कोही नहुने, प्राविधिक शिक्षा पढ्ने इच्छा धेरै भएर सुरु गरिहाल्ने र भर्ना शुल्क, पढाइमा लाग्ने विविध खर्चमा रकम जुटाउन नसक्दा बीचमै पढाइ छाड्ने अवस्थामा पुगेकाहरुलाई अहिले छात्रावृत्ति वरदान सावित भएको मेचीनगर शिक्षा शाखा प्रमुख उपसचिव होमनाथ भण्डारीको अनुभव छ । खर्च अभाव भईरहेका बेला नगरपालिकाले एकै पटक ५० हजार बराबरको छात्रवृत्ति दिएपछि उनीहरुलाई भर्ना हुन देखि थप खर्चका लागि निक्कै सहयोग पुग्ने गरेको भण्डारीको भनाई छ ।
मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा प्राविधिक शिक्षा एवम् स्नातक तह अध्यनरत विद्यार्थीहरुलाई बि.पी. कोइराला छात्रावृत्ति शीर्षकमा विनियोजित रकममध्ये त्रिभुवन विश्व विद्यालय अन्तर्गत स्नातकोत्तर, एमएसीकी झापा मेचनगर—७ की प्रज्ञा लुईटेल र एन्जिला थापालाई क्रमस जनही ५०/५० हजार, धुलावारी क्याम्पसमा इञ्जिनियरिङकै मेचीनगर—१० की मेघा कट्टेल, मेचीनगर—५ का अषेश गुरागाईँ, मेचीनगर—३ का मौसम पौडेल र मेचीनगर—१० का विष्णु दाहाललाई क्रमस जनही ४०/४० हजार रुपैयाँको छात्रावृत्ति प्रदान गरेको थियो । यसअघि नै नगरपालिकाको कार्यपालिकाको बैठकबाट तीनजना विद्यार्थीहरुलाई एकलाख ७५ हजार छात्रावृत्ति प्रदान गरिसकिएको थियो ।
मेचीनगर नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक बजेट अन्तर्गतको बजेटको शिर्षक प्राविधिक शिक्षा एवम् स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई ‘ वि.पी. कोइराला छात्रावृत्ति कार्यक्रम’ बाट त्यस कार्यक्रमको मापदण्डभित्र रहेर एकलाख रुपैयाँ सम्म स्वीकृत गर्न नगरप्रमुखलाई अधिकार प्रदान गरेको छ ।
जीवनमा ‐प्राविधिक) इञ्जिनियरिङ विषय पढेर केही गर्ने सपना बोकेका थुप्रै विद्यार्थीहरुलाई स्थानीय सरकारले पढाइमा सहयोग गरेपछि हौसला थपिएको मेचीनगर—७ इटाभट्टाकी विजयता सिटौलाले बताईन् । उनी पनि झण्डै झण्डै आफ्नो पनि प्राविधिक विषय पढ्ने धोको पुरा नहोला जस्तो भएको र मेचीनगर नगरपालिकाले छात्रावृत्ति प्रदान गरेपछि थप पढाई अघि बढेको बताउँछिन् । झापाको कन्काई नगरपालिका—७ स्थित दुर्गापुरमा रहेको कन्काई पोलिटेक्निक इन्ष्ट्यिुटमा ज्योमेटिक्स इञ्जिनियर अध्ययनरत उनले समेत २५ हजार रकम छात्रवृत्तिस्वरुप बुझिन् । उनले सो रकमले पढाइमा धेरै राहत पुगेको बताईन छात्रवृत्तिबापत पाएको रकम भर्ना तथा शैक्षिक सामग्रीमा खर्च गरेको उनले बताइन् । ‘नगरपालिकाले दिएको छात्रवृत्ति रकमले पढाइमा मनोबल बढाएको छ, मेहनत गर्ने हामीजस्ता विपन्न परिवारका सदस्यलाई पढाइमा सहयोग पाएपछि भविष्यमा पढेर केही गर्छु भन्ने हिम्मत र साहस बढेको छ’, उनले भनिन् ।
‘हामी जस्ता गरिब, विपन्न परिवारका विद्यार्थीले आफ्नो पालिकाबाट केही सेवासुविधा पाइए अध्ययनमा निक्कै टेवा पुग्दो रहेछ ’ सिटौलाले भनिन्—‘घरदेखि करीव १९÷२० किलो मिटर टाढाको दूरीमा अध्ययन गर्न जानुपर्ने, दैनिक गाडी भाडा भन्यो, सामान्य खाजा भन्यो समस्या नै हुन्थ्यो तर, हामीलाई स्थानीय सरकारले पढाइमा ठूलो मद्दत पुर्याएको छ ।’ शुरुमा दुःखसँग ऋण गरेर जसोतसो भर्ना भएर पढ्न थाले पनि विस्तारै विस्तारै उनीहरुलाई पैसाको समस्या पर्ने एकजना विद्यार्थीको भोगाई छ । घरमा बुबा हुनुहुन्न, भाइ, आमाको लालनपालन, घरको जिम्मेवारी काँधमा रहँदा त्यसमाथि आर्थिक अभावमा पढाइमा धेरै दुःखसँग संघर्ष गरिरहेको विजयताको भनाई । इञ्जिनियरिङका लागि एक वर्ष पढेर पढाइ पूरा नहुँदा भर्ना शुल्क, पढाइका लागि शैक्षिक सामग्री लगायतमा रकम जुटाउन विपन्न परिवारका विद्यार्थीलाई निकै समस्या भएको मेचीनगर पोलिटेक्निक इन्ष्ट्यिुट धुलावारीका प्रिन्सिपल इञ्जिनियर रुद्रप्रसाद मैनाली बताउनुहुन्छ । नगरपालिकाले छात्रावृत्ति प्रदान गरेपछि वा शैक्षिक क्षेत्रमा लगानी गरेपछि प्राविधिक शिक्षा पढ्ने विद्यार्थीमा आत्मबल बढेको इञ्जिनियर मैनालीको भनाई छ ।
क्याम्पस भर्ना शुल्कका लागि प्राविधिक धार र जेहेन्दारको लाग्ने खर्चका आधारमा रकम वितरण गरिएको नगरपालिकाले जनाएको छ । आव २०८०÷०८१ मा ‘शहीद वीरेन राजवंशी छात्रवृत्ति कोष’ अन्तर्गत नगरपालिकाले छ सय ५९ जनालाई २० लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको शिक्षा शाखा प्रमुख उपसचिव भण्डारीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षका लागि समेत ‘शहीद वीरेन राजवंशी छात्रवृत्ति कोष’ २० लाख रुपैयाँ विनियोजन गरिएको उहाँको भनाई छ ।
साना कक्षादेखि ठूला कक्षामा पढ्ने विद्यार्थीलाई उनीहरुको पारिवारिक अवस्था हेरेर सबै वर्ग, क्षेत्र मिलाएर छनोट गरेर छात्रवृत्ति वितरण गर्ने गरिएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिनुभयो । पढ्न नसकेर समस्यामा परेका न्यून आय भएका विपन्न परिवारका सदस्यलाई स्थानीय सरकारले विभिन्न छात्रवृत्ति कोष खडा गरेर छात्रवृत्तिका रुपमा वितरण गरिरहेको उपप्रमुख मनिा पोखरेल उप्रेतीको भनाई छ । यस कार्यक्रमले विद्यार्थीको पठनपाठनमा ठूलो टेवा पुगेको काँकरभिट्टा माध्यमिक विद्यालयका प्रधानध्यापक हरिप्रसाद न्यौपाने बताउँछन् ।