सन्दर्भः कला, साहित्य उत्सवको पाँचौ संस्करण, नेपाल र भारतका कलाकर्मी एवम् पर्यावरण अभियन्ताहरूको जमघट

४ फागुन, मेचीनगर : लद्दाख बचाउन वर्षौँदेखि भारतीय सत्ता र माफियासँग कठिन संघर्षमा दत्तचित्त भएर लाग्ने वैज्ञानिक अभियन्ता हुनुहुन्छ, सोनम वाङचुक । सोनाम भारतका पर्यावरण अभियन्तासमेत हुनुहुन्छ । डाक्टर देबल देव (धानका स्थानीय प्रजाति संरक्षण कर्ता ) भारतबाट आउँदै हुनुहुन्छ । नेपालमा पाइने दुई हजार प्रजातिका धानमध्ये अहिले थोरै मात्र खेती गरिन्छ । धानका स्थानीय प्रजाति कनक जिरा, कस्तुरी, घैया, समुद्र फेन, काला निमक, झिनुवा, मनसरा, घिउ कुमारी, कृष्णभोग, गाम्दी, साठिया आदि लोपोन्मुख अवस्थामा छन् ।

चालिसको दशकमा हामीले पनि खेती गरेका धानका थुप्रै प्रजाति अहिले छैनन् । अहिले जमिन हामीसँग छ तर ’ बिउ’ कम्पनीहरुसँग छ । यसका कारण, असर र परिणाम के के हुन् ? बिउका विविध प्रजाति मासिँदा आउने सङ्कट के के हुन् ? बिउको संरक्षण कसरी गर्न सकिन्छ ? यस्ता प्रश्नमाथि डा. देबल देवले विचार प्रस्तुत गर्नुहुने छ । उहाँहरु मेचीनगर ६ काँकरभिट्टामा यही फागुन १४, १५ र १६ मा आयोजना हुने ’कला साहित्य उत्सवमा २०८१ पर्यावरण विमर्श’मा आफ्ना ज्ञान र अनुभव अदान प्रदान गर्न आउनु हुने भएको हो ।

विसं २०६५ मा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले स्थानीय युवाद्वारा स्थापना गरिएको रिडर्स झापाले विसं २०६९ देखि प्रत्येक दुई वर्षमा पूर्वको सबैभन्दा प्रसिद्ध चिन्तन मेलाका रूपमा कला साहित्य उत्सव गर्दै आएको छ । कोरोना महामारीपछि उत्सव आयोजना हुन सकेको थिएन । कोभिड महामारी र आर्थिक मन्दीका कारण ६ वर्षपछि हुन लागेको उत्सवमा विद्वत् प्रवचन, अन्तरक्रिया, चित्रकला प्रदर्शनी, फोटो प्रदर्शनी र संगीतात्मक प्रस्तुति समावेश हुने छ । ‘कला साहित्य उत्सव’ को यो पाँचौ संस्करणमा हावा, पानी, जमिन, खाना र जीवनसँग सम्बन्धित पर्यावरणीय मुद्दाहरू प्रमुख विषयवस्तु हुनेछन् ।

भारतको लद्दाखदेखि दिल्लीसम्म आमरण अनसन लगायतका कार्यक्रम गरेर चर्चा बटुलेका सोनाम बाङचुकले हिमालय क्षेत्रको पर्यावरण संरक्षणमा नयाँ प्रविधिको विकास समेत गर्नुभएको अनि धानका दुईसय रैथाने प्रजातिको खोज अनुसन्धान र संरक्षण गरेर चर्चामा रहनुभएका कोलकाताका डाक्टर देबल देवमात्र होईन नेपाल र भारतका कलाकर्मी एवम् पर्यावरण अभियन्ताहरूको जमघट रहने उत्सवमा १२ वटा छलफल सत्रमा ३० जना विज्ञको सम्भाषण हुने उत्सव आयोजक कमिटीका संयोजक सागर सिवाकोटीले बताउनुभयो ।

‘नगरको मानवीय भूगोलबारे अध्ययन गरिरहेका डा. सबिन निङ्लेखुले कार्यक्रममा नगरका कहरबारे विभार दिनुहुने छ । ’ आयोजक रिडर्स झापाका अध्यक्ष शैलेकुमार दाहालले भन्नुभयो । ‘रिडर्स झापा’को नेतृत्वमा स्थानीय संस्था देही आर्ट र परिवर्तन थिएटरको सहकार्यमा हुन लागेको उत्सव यस पटक ‘पर्यावरण विमर्श’ विषयमा केन्द्रित रहने आयेजकले जनाएको छ । उत्सवको पहिलो दिन नेपालका चर्चित वैज्ञानिक तथा पर्यावरणविद् उत्तमबाबु श्रेष्ठले ‘पर्यावरणीय संकट र नेपाल’ विषयमा उद्घाटन मन्तव्य दिनुहुने अध्यक्ष दाहालको भनाई छ ।

सोनम वाङ्चुक, पर्यावरणीय विषयमा गहन अध्ययन गरेका वैज्ञानिक देवल देब, जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती, कृषिविज्ञ कृष्णप्रसाद पौडेल, भूगोलविद् सबिन निङ्लेखु, कथाकार तथा समालोचक अर्चना थापा, फिल्म निर्देशक मीन भाम तथा संगीतकर्मी झुमा लिम्बुजस्ता ख्यातिप्राप्त व्यक्तित्वहरूले तीनदिनसम्म चल्ने उत्सवमा आ आफ्नो विचार प्रस्तुत गर्नुहुने छ । यतिमात्र होइन ‘गाउँले डाक्टर’का रुपमा झापा भद्रपुरका निताई राजवंशीले समेतले आफ्नो प्रस्तुती दिनुहुने छ । पर्यावरणसँग सम्बन्धित विषयमा बिचार विमर्श गर्न यस क्षेत्रमा लामो समयदेखि खोज अनुसन्धान गरेका वैज्ञानिक झापामा हुने कला साहित्य उत्सव–२०८१ मा जुट्ने भएका छन् ।

पर्यावरणीय र जलवायु सङ्कटले निम्त्याइरहेका बाढी, पहिरो, प्रदूषण, महामारीलगायत प्राकृतिक विपद्को सामना कसरी गर्ने भन्ने विषयमा कला साहित्य उत्सवमा वैचारिक अन्तरक्रिया गरिने र सोही अवसरमा चित्रकला प्रदर्शनी, नाटक मञ्चन, कविता वाचन र प्रश्नोत्तर कार्यक्रम, स्थानीय देहीआर्ट, चरा तथा वन्यजन्तु संरक्षण समाज र परिवर्तन थिएटरको सहकार्यमा उत्सव अवधिमा चरा अवलोकन, भित्तेचित्र लेखन, फोटो प्रदर्शनी, नाटक मञ्चन र सामूहिक छलफल कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ । निक्कै अग्लो र ठूलो तोङवा, करुवा र मादलको चित्र देहिआर्टले प्रस्तुत गर्ने छ ।

करीब १६ लाख रुपैयाँ खर्चेर काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सभाहलमा आयोजना हुने त्रिदिवसीय उत्सवमा कार्यक्रममा लेखक उज्ज्वल प्रसाईले लेखेको नाटक ‘सन्धिपुर’लाई परिवर्तन थिएटरका कलाकारले मञ्चन गर्दैछन् भने यसको निर्देशन घिमिरे युवराजले गर्नुभएको हो । नाटकले प्रकृति दोहनविरुद्ध समुदायले गरेको संघर्षको कथा बोलेको निर्देशक घिमिरेको भनाई छ । कार्यक्रममा हावा, पानी, जमिन, खाना र जीवनसँग जोडिएका पर्यावरणीय सवालमा छलफल गरिने छ । कार्यक्रममा पर्यावरणीय र जलवायु संकटले निम्त्याइरहेका बाढी र पहिरो, वायु र ध्वनि प्रदूषण, महामारीलगायत प्रलयको सामना र संकटबाट बच्ने उपायबारे वैचारिक छलफल गर्न स्वास्थ्य क्षेत्रमा सक्रिय डा. अनुप सुवेदी पनि सहभागी हुनेछन ्। खानपान, कृषिकर्म र जीवन शैलीबारे वैचारिक मन्थन गरिरहेका जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती र कृषिविज्ञ डा. कृष्णप्रसाद पौडेल पनि कार्यक्रममा आउने आयोजकको भनाइ छ ।स्थानीय पर्यावरण संरक्षण अभियन्ता, शिक्षक, विद्यार्थी, कृषक तथा आमनागरिकलाई कार्यक्रममा सहभागी गराउने विशेष योजना रहेको कार्यक्रम संयोजक सागर शिवाकोटीको भनाई छ । यस क्रममा मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका देवेन्द्र खरेल, हात्ती संरक्षणका अभियन्ता शंकर लुइँटेललगायतका अभियन्ताको विशेष भूमिका रहने बताईएको छ । कोभिड महामारी र त्यसपश्चात् भोग्नु परेको आर्थिक मन्दीका कारण यस कला साहित्य उत्सव ६ वर्षपछि मात्र आयोजना गर्न लागिएको हो । विज्ञहरुको विचार सुनेर विमर्श गर्न समेत आयोजकले सवैमा आग्रह गरेको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.