झापा, मेचीनगर : मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा मच्छिन्द्र फुटबल क्लबले एपीएफलाई १–० को संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको छ। मंगलवार सम्पन्न खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।
मच्छिन्द्रको जितका लागि निर्णायक गोल विदेशी खेलाडी युसुफ मलिकले पहिलो हाफको अतिरिक्त समयमा गरे। स्टेफन कामाहाको पासमा उनले पेनाल्टी क्षेत्रबाट गरेको प्रहारले जाली चुमेको थियो। मच्छिन्द्रले अब दोस्रो सेमिफाइनल खेलमा चर्च व्वाइज युनाइटेडको सामना गर्नेछ।
खेलको सुरुवातदेखि नै दुवै टिम आक्रमक देखिए। ११औँ मिनेटमा मच्छिन्द्रका आदित्य शाक्यको क्रसमा स्टेफन कामाहाले हेडर प्रहार गरे पनि बल बाहिरियो। ३५औँ मिनेटमा पुजन श्रेष्ठले गरेको फ्रिकिकलाई युसुफ मलिकले सदुपयोग गर्न सकेनन्। पहिलो हाफको अतिरिक्त समयमा आदित्य शाक्यको पासमा मोहित गुरुङले गोल गर्ने सुवर्ण अवसर गुमाए।
दोस्रो हाफमा पनि मच्छिन्द्रले बल पोजिसन आफ्नो पक्षमा राखे पनि थप गोल गर्न सकेन। ७४औँ मिनेटमा एपीएफका गोलरक्षक विशाल गुरुङ पराजित भइसकेको अवस्थामा विकास टिटुङले गोल लाइनबाट बल क्लियर गरे। ८५औँ मिनेटमा कामाहाको प्रहार बारमा ठोक्कियो।
दोस्रो हाफमा एपीएफले पनि गोल गर्ने केही अवसर सिर्जना गरे। खेलको ७३औँ मिनेटमा कप्तान हरि कार्कीको १८ यार्डबाट गरेको फ्रिकिक प्रहारलाई मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले बचाए। ८०औँ मिनेटमा पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका अनिश महर्जनले गरेको प्रहार बाहिरियो, जसका कारण एपीएफ प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।
मच्छिन्द्रका प्रशिक्षक गणेश कटुवालले जित निकाले पनि टिमको खेल अपेक्षाअनुसार हुन नसकेको बताए। निरन्तर प्रतियोगिता खेलेका कारण खेलाडीले पर्याप्त आराम नपाउँदा प्रदर्शन प्रभावित भएको उनको भनाइ थियो। उता, एपीएफका प्रशिक्षक तोप विष्टले अव्यवहारिक खेल तालिकाका कारण खेलाडी थकित भएको र त्यसले प्रदर्शनमा असर पारेको बताए।
खेलको ‘प्लेयर अफ द म्याच’ मच्छिन्द्रका युसुफ मलिक घोषित भए। उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। व्यवसायी श्याम प्रसाई (एसपी)ले प्रतियोगिताभरका ‘प्लेयर अफ द म्याच’ पुरस्कार प्रदान गरेका छन्।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल बुधबार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र धरान फुटबल क्लबबीच हुनेछ। काँकरभिट्टाले उद्घाटन खेलमा जर्जियन एफसीलाई पराजित गर्दै, भने धरानले उज्बेकिस्तानको ब्ल्याक बुल्सलाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिए।
फाइनल विजेताले नगद १० लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले नगद ५ लाखसहित ट्रफी र मेडल पाउनेछ। सर्वोत्कृष्ट खेलाडीले ५१ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार, उत्कृष्ट प्रशिक्षक र गोलरक्षकले समान २१ हजार तथा उदीयमान खेलाडीले ११ हजार नगदसहित ट्रफी पाउनेछन्। प्रत्येक दिनको ‘प्लेयर अफ द म्याच’ ले ११ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।



















