अहिले झापाको मेचीनगर – ६ काँकरभिट्टाको खेल मैदानमा पाँचौं मेचीनगर गोल्डकप प्रतियोगिता चलिरहेको छ । २४ फागुनबाट शुरु भएको प्रतियोगिताको बुधबार र बिहिबार गरी सेमिफाइनलका खेलहरु समेत सकिएका छन्, आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र चर्च ब्वाइज युनाइटेड बीच फाइनल प्रतियोगिताको छिनोफनो चैत २, गते शनिबार हुनेछ ।
झापाको मेचीनगर—६ काँकरभिट्टामा भएको यो खेल मैदान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चित खेलाडी उत्पादन गर्ने एउटा विश्वविद्यालय जस्तै भएको छ । वास्तवमा भन्नुपर्दा यो खेल मैदान सवै विधाका खेलका खेलाडी उत्पादन गर्ने एउटा हव र थलो बनेको छ । खेलकुद राष्ट्रको पहिचान हो । खेलाडी देशका गहना हुन् । अन्तर्राष्ट्रिय जगतमा देशको राम्रो छवी बनाउन खेलको भूमिका महत्वपूर्ण हुन्छ । खेलाडीले सिंगो राष्ट्रको प्रतिनिधित्व गरेका हुन्छन् ।
फुटबलका सन्देश श्रेष्ठ, नरोत्तम गौतम, मिनबहादुर बस्नेत, महेश सरकार, दीपक भुजेल, टिकाराम कार्की, सुवास लिम्बु, नवराज गौतम, एञ्जल गुरुङ, उमेश थापा, दिवस उराउँ, खमिरग्लिसन कन्दङ्वा, मुन्ना सुब्बालगायत हुन् या क्रिकेटका लाक्पा लामा, मनोज कट्वाल, वीरु श्रेष्ठ, रुविना क्षेत्री, रोमा थापा, काजल श्रेष्ठ र अप्सरी वेगम ,व्याडमिन्टनतर्फका अमिता गिरी, प्रनिशसिहं ठकुरी, अञ्जना राई, दीपक घिमिरे, श्रीप्रसाद धिमाल, हुन वा अर्जुन लम्साल, राजु मर्हजन, कृष्ण वस्नेत, विष्णुकुमार श्रेष्ठ, स्व. रमेश अधिकारीलगायतका थुप्रै खेलाडीले कराते खेलको माध्यमबाट मेचीनगरको मात्र नभएर देशकै नाम विश्वमा चिनाउन सफल भएका छन् ।
भलिबल, कवर्दीलगायत धेरै खेल विधाका खेलाडी यो मैदानले उत्पादन गरेको छ । यहि मैदानमा क्रिकेट खेलेर स्वदेश एवम् विदेशमा समेत निक्कै चर्चा बटुलेका झापा मेचीनगर —६ का मनोज कट्वाल नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्यः प्रशिक्षकको भूमिकामा छन् । खासगरी आज म यो लेखमा खेल ,खेलाडी र मैदानका विषयमा केही लेख्न खोजी रहेको छु ।
मेचीनगरका स्थायी बासीन्दा यी हाम्रा खेलाडी मात्र खेलाडी होइनन् । राष्ट्रका गहना भएका कारण खेलाडीको उत्साह र खेल क्षेत्रको विकासका लागि स्थानीय सरकार प्रतिबद्ध रहनुपर्छ भन्ने मेरो बुझाई हो । कयौँ विधाका खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा मेचीनगरले उल्लेखनीय टेवा पु¥याएको म स्मरण गराउन चहान्छु । अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने पहिलो नेपाली महिला खेलाडी को हुन भनेर कसैले सोध्यो भने, रुबिना क्षेत्रीको नाम आउछ । यसले हाम्रो छाती कत्रो हुन्छ कल्पना गरौ त ? एसिसी महिला प्रिमियम लिग क्रिकेट प्रतियोगितामा नेपालले मालदिभ्समाथि कीर्तिमानी जित हासिल गरेको कुरा अहिले सम्म कसैले भुलेका छैनन्। यसमा नेपाली टोलीकी प्रमुख ब्याटर रुबिना क्षेत्रीको कीर्तिमानी शतक सामेल थियो ।
आज फुटबलमा उस्तै छ, व्याडमिन्टनमा उहि छ, भलिवलमा उस्तै छ । कति खुशी लाग्छ यो अवस्था देख्दा । खेलले व्यक्तिलाई अनुशासित र स्वस्थ बनाउने मात्र नभई यी मेचीनगरका खेलाडीले देशलाई नै अन्तर्राष्ट्रियस्तरमा चिनाउने काम गरेका छन् । यो मेचीनगरका लागि मात्र होइन सिङ्गो देशकै लागि गर्वको कुरा हो । तर, ती खेलाडीहरुको आर्थिक, शैक्षिक र पारिवारीक अवस्था कस्तो छ ? हामीले कहिल्यै सोधेका छौ ? उनीहरुमा के अपुग छ ? के कस्ता समस्यासँग सामना गरिरहेका छन् त्यसतर्फ हामीले कसैले चासो राखेका छैनौ । मैदानको हालत के छ ? साच्चै भन्नुपर्दा वर्षेनी जसो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन हुने यो मैदानको अझै न्वरान हुन सकेको छैन् । कहिले काँकरभिट्टा माविको खेल मैदान त कहिले काँकरभिट्टाको खेल मैदान भनेर पुकारिन्छ । वास्तवमा यो मैदानको नाम के हो ? अहिले सर्वत्र चासोको विषय बनिरहेको छ । यो मैदानलाई खेलकुदमामात्र होईन ठुल्ठुला मेला महोत्सव आयोजनामा समेत प्रयोग गरिन्छ । यसबाट कसैले केही न केही लाभ प्राप्त गरेकै हुन्छन् तर, मैदानले के पायो ? र के पाईरहेको छ ? कस्ले खोज्ने ? जानकारहरुका अनुसार कोशी प्रदेश सभाका पूर्व प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले यो मैदानको मर्मत तथा सम्भारका लागि २० लाख रुपैयाँ विनियोजन गरे पनि नामकै कारण फिर्ता भयो ।
यतिका खेलाडी उत्पादन गरेको यो मैदानमा अब एउटा सुविधा सम्पन्न रङ्गशाला निर्माण आवश्यक छ । त्यसपछि यहाँ ठूला खेल आयोजना हुन्छन । विदेशी खेलाडी यहाँ खेल्न आउँछन् । खेलाडीसँगै अफिसियल, प्रशिक्षक, शुभेच्छुक पनि आउँदा नेपालको अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार हुन्छ, यहाँको आर्थिक गतिविधि बढ्छ ।
हुनतः खेल क्षेत्रमा विगतमा भन्दा केही पूर्वाधार विकास भए पनि पर्याप्त नभएको, खेलाडीले खेल जीवनपछि अनेक दुःखकष्ट बेहोर्नुपरेको, रोजगारी नभएर भौतारिनुपरेको, कतिपय राम्रा खेलाडी आर्थिक अभावमा खेल नै छाडेर विदेशिनु पर्ने अवस्था छ । यी सबै समस्या समाधानको जिम्मा कस्को ? र यसको पहलकदमी कस्ले गर्ने ?
खेल क्षेत्रको विकासबाट मुलुकको समग्र विकास गर्न सकिन्छ । त्यसकारण पनि खेल क्षेत्रको विकासमा तीनै तहका सरकार प्रतिबद्ध हुन जरुरी छ । स्थानीय सरकारले मात्र होइन संघीय र प्रदेश सरकराले समेत खेल र खेलाडीको सम्मान गदैं खेलाडी, खेल क्षेत्र बुझेका व्यक्तिसँग बसेर छलफल गरी खेल क्षेत्र र खेलाडीको विकासका लागि दीर्घकालीन योजना बनाउँनु पर्छ भन्ने मलाई लाग्छ । राष्ट्रलाई सधैँ शिरमा राखेर खेलाडीले खेल खेल्ने भएकाले सरकारले मात्रै नभएर हरेक नागरिकले उनीहरूको सम्मान गर्नुपर्छ । खेलका माध्यमबाट मुलुकको आर्थिक तथा पर्यटन विकासमा टेवा पुग्नेसमेत कसैले भुल्न हुदैंन्
नेपाली खेलाडीले विभिन्न अभावका बाबजुद राष्ट्रका लागि खेलिरहेका छन् । यो समग्र देशका लागि खुसी र गौरवको विषय पनि हो । तीनै तहका सरकारले भोलिका दिनमा खेल पूर्वाधार विकास गदैं सबै खेल क्षेत्रसँग सम्बन्धित व्यक्तिलाई आत्मसम्मान हुने व्यवस्था मिलाउनुपर्ने हुन्छ ।
त्यसकारण पनि नगरका सबै खेलकुदका पूर्वाधार विकासमा मेचीनगर नगरपालिकाले विभिन्न ठाउँमा पहल गर्ने र आवश्यक बजेट छुट्याउन समेत काम गरिरहेको छ । मुलुकलाई चिनाउने बुद्ध जन्मस्थल लुम्बिनी, सगरमाथा र खेल क्षेत्र नै हो । खेलाडीलाई कुनै किसिमको अभाव हुन नदिन र उनीहरूको सेवासुविधा र सुरक्षाका लागि तीनै तहका सरकारले ध्यान दिन आवश्यक छ । यसका लागि खेलकुदसम्बद्ध सबै निकायले आवश्यक तयारी, पर्याप्त प्रशिक्षण, खेलमा निपुण खेलाडीको छनौट गर्नु आवश्यक छ । खेलकुद प्रतियोगिता नजिकिएपछि हतारमा तयारी गर्ने हाम्रो बानी नै बनेको छ । यसले गर्दा अपेक्षित सफलता प्राप्त गर्न कठिन हुन्छ । खेलकुद क्षेत्रमा हामी भन्दा पछाडि रहेका देशले फड्को मारिसक्दा पनि हामी किन पछि पर्यौ. ? राष्ट्रले यसमा ध्यान दिनु आवश्यक छ ।