मेचीनगर, जेठ २५: मेचीनगर नगरपालिकाअन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको पुनःएकीकरण परियोजना (रोमी) ले आयोजना गरेको उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ। यही जेठ १८ गतेदेखि २४ गतेसम्म सीप विकास केन्द्रमा सञ्चालित यस तालिमका सहभागीहरूले आइतबार (आज) समापन कार्यक्रममा यो तालिम व्यवसाय गर्नका लागि ‘कोसेढुङ्गा’ साबित भएको बताएका छन्।
‘विदेशको अनुभव स्वदेशमा सम्भावना, सम्मानित पुनःएकीकरण हाम्रो सपना’ भन्ने मूल नाराका साथ आयोजित यस तालिममा मेचीनगरका पन्ध्रवटै वडाबाट २१ जना व्यवसायमा आवद्ध तथा व्यवसाय गर्न इच्छुक युवाहरू सहभागी थिए।
तालिममा व्यवसायमा जोडिएका, व्यवसाय गर्न चाहने, व्यवसायमा जोखिम लगायतका विषयमा नेपाल बैंक लिमिटेड, काँकरभिट्टा शाखाका प्रमुख गोविन्दप्रसाद सुवेदी, नगरपालिकाअन्तर्गत रहेको रोजगार सेवा केन्द्रकी प्रमुख कृपा रेग्मी, सफल उद्यमी चन्द्रकला संग्रौला लगायतले प्रशिक्षण दिएका थिए। त्यस्तै, तालिमभरि नगरपालिकाका उद्यम विकास सहजकर्ताहरू अश्वनी भट्टराई र गंगा सोरेनले सहभागीहरूलाई प्रशिक्षण दिएका थिए।
तालिममा सहभागी मेचीनगर–१४ निवासी भीमप्रसाद भेटवालले आफ्नै ठाउँमा केही गरौँ भन्ने भावनाले विदेशबाट फर्किएर कस्मेटिक र जुत्ताको व्यवसाय गरिरहेको बताए। उनले यो तालिमले व्यवसाय गर्न थप मद्दत पुगेको अनुभव सुनाए।
उक्त तालिमको समन्वय र सहजकर्ताका रूपमा रेमीका रोजगार परामर्शकर्ता फडिन्द्र दाहाल र परिवार परामर्शकर्ता सरस्वती मिश्रले सहजीकरण गरेका थिए। यस तालिमले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई स्वदेशमै उद्यमशीलताको माध्यमबाट आत्मनिर्भर बन्न प्रेरणा र व्यावहारिक ज्ञान प्रदान गरेको आयोजकले जनाएको छ।

















