‘विदेश जाँदा सीप सिकेर मात्रै जाउँ’

१९ असार, मेचीनगर :  झापा मेचीनगर —१४ दुहागढीका ३९ वर्षीय रामबहादुर बस्नेतले चारवर्ष मलेशिया र आठवर्ष साउदीगरी १२ वर्ष विदेशमा विताए ।

मलेसियामा कफी पसल र साउदीमा बेकरीमा काम गरेर उनी नेपाल फर्किए । सोहि ठाउँका ३० वर्षीय नवीन मुर्मु पनि बैदेशिक रोजगारका लागि दुई वर्ष दुबई बसे । एसी जडान हेल्परका रुपमा उनले जसोतसो दुईवर्ष बिताएर भरखर स्वदेश फर्किएका छन् ।

मेचीनगर —१५ का ४१ वर्षीय सुरेशकुमार चौधरी ३३ महिना कतार बसेर नेपाल फर्के ।

उनीहरु तीनैजना स्वदेश फर्किनुको एउटै कारण थियो विदेश जाँदा सीप नसिक्नु । ‘विदेश जाँदा सीप सिकेर मात्रै जाउँ ।’ उनीहरुको सामुहिक भनाई हो यो । यसो भएमा वैदेशिक रोजगारीमा जाने युवाहरुलाई काम गर्न सजिलो हुन्छ ।

नेपालबाटै सीप सिकेर जाँदा विदेशमा काम गर्न सजिलो हुन्छ । काम नजानेर हुने दुःख भोग्नु पर्दैन भन्ने थाहा हुँदाहुँदै पनि अहिले थुप्रै नेपाली युवाहरु विना सीप विदेशिने गरेका कारण उनीहरुले अपेक्षा अनुसार आम्दानी गर्न सकिरहेका छैनन् भने विदेशमा अनावश्यक दुःख र झण्झट समेत वेहोर्न बाँध्य छन् ।

त्यही भएर मेचीनगर नगरपालिकाले वैदेशिक रोजगारीमा जान चाहानेलाई सुसूचित बनाएर र सीप सिकाएर जानका निम्ति हरेकक्षेत्रबाट पहलकदमी गरिरहेको छ । यसैगरी, बैदेशिक रोजगारबाट फर्किएर आएका व्यक्तिहरुलाई रेमि परियोजनामार्फत सामाजिक र आर्थिक पुनः एकीकरणमा समाहित गरीरहेको छ ।

यसैक्रममा बिहिबार ‘उद्यमशिल संस्कृति, राष्ट्रको समृद्धि’ भन्ने मुलनाराका साथ बैदेशिक रोजगारवाट फर्किएका व्यक्तिहरूका लागि मेचीनगर नगरपालिकाको रेमी परियोजनाको समन्वयमा घरेलु तथा साना उद्योग कार्यालय, भद्रपुर, झापाको आयोजनामा एक महिने हाउस वायरिङ तालिम समापन भएको छ ।

तालिम वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई लक्षित गरेर आयोजना गरिएको मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले बताईन् ।

कति जना बाध्यताले विदेशिने गरेका छन् । परिवारको अवस्था निकै कमजोर, घर खर्च चलाउन धौ धौ हुने, बस्नको लागि घर नभएकै कारण थुप्रै नेपाली विदेशिन बाँध्य भएको उपप्रमुख उप्रेतीले बताईन् । तालिम वैदेशिक रोजगारीबाट फर्किएका र केही सीप सिकेर वैदेशिक रोजगारीमा जाने दुवैको लागि उपलब्धिमुलक हुने गरेका छन् । युवालाई सीप सिकेरै विदेश जान प्रोत्साहन गरिरहेको मेचीनगर नगरपालिकाले जनाएको छ ।

कतिपय युवा भने विदेशबाट फर्केर पुनःसीप सिकेर पनि उद्यममा जोडिएका छन् । लामो समयसम्म विदेशमा बिताएपश्चात स्वदेश फर्किएकाहरु अहिले धमाधम कुनै न कुनै सीप सिकिरहेका छन् ।

‘म सँग कुनै सीप थिएन्’ बस्नेतले भने—‘अब केही सीप सिकेरमात्र जाने निधो गरेर हाउस वायरिङ तालिम लिए ।’ वैदेशिक रोजगारीमा जान लागेका युवाहरु सीप सिकेर जान चाहन्छन् । तालिमको अवसर एकदम कम हुने उनीहरुको भनाई छ ।

‘मैले विभिन्न देशमा गरी १२ वर्ष बिताएँ’, बस्नेतले भने, ‘विदेशबाट आएपछि मैले हाउस वायरिङ गर्ने सीप लिने मौका पाएँ ।’ सीप लिएपश्चात पुनः विदेश जाने उनले बताए । त्यही सीपले अहिले स्वरोजगारसँगै उद्यमी बनाउनेमा उनी ढुक्क छन् ।

‘सीप सिकिसकेपछि खासै दुःख पाईदैंन्’ स्थानीय ४६ वर्षीय विजय नेपालले भने । उनीपनि वैदेशिक रोजगारीमा ६ वर्ष बिताएर स्वदेश फर्किएका हुन् । उनीसँग चालक अनुमती पत्र छ ।

त्यही भएर विदेशमा उनले ट्याक्सी चलाए । तर, यतिले मात्र नपुग्ने भएपछि थप हाउस वायरिङ तालिममा सहभागी भएको बताउछन् उनी । हातमा सीप भए आत्मनिर्भर बन्न सकिनेमा उनी ढुक्क छन् । प्रमाण—पत्र प्राप्त भए जहाँ गएर पनि काम गर्न सकिने उनले प्रतिक्रिया दिए । मेचीनगरकै बुधन राजवंशी, उर्मिला कार्की पनि अब सीप सिकेर स्वदेशमै कम्तिमा स्वरोजगार बन्ने विश्वास व्यक्त गरे । वैदेशिक रोजगारीमा जाँदा कुनै सीप नसिकेर दुःख पाए पनि देशमै आत्मनिर्भर बन्न र रोजागरको अवसर प्राप्त गर्न यस्ता तालिम उपयोगी बन्ने सहभागीको भनाई छ।

वैदेशिक रोजगारीमा जाँदा कुनै सीप नजानेका उनीहरु यहाँबाट सिकेको सीपले ठुलो टेवा पुग्ने बताउछन् । विदेशमा दुःख पाएर फर्केकाहरुका लागि पालिकास्तरमै निःशुल्क सीप तालिम प्राप्त गरेपछि खुशी पनि छन् । सीप सिकेर जादा राम्रो हुने । सीप नहुदाँ दुख पाईने । तालिममा सहभागीहरुको अनुभव छ ।

अहिले यहीँ सीप सिकेर विदेशको भन्दा राम्रो आम्दनी स्वदेशमै गरिरहेका छन् । ‘सीपले मानिसलाई सक्षम पनि बनाउने रहेछ’, कमला र्काीले भनिन् । आफूले जानेको सीप दिँदै आएको प्रशिक्षक तुलसी मिश्रले बताए । देशमै सीप सिकेर स्वरोजगार बन्छौँ र यहीँ काम गर्छौैँ, यहीँ परिश्रम गरेर बस्छौँ भन्नेलाई प्राथमिकताका साथ राखेर प्रशिक्षण प्रदान गरिरहेको मिश्रको भनाई छ ।

मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोख्रेल उप्रेतीले वैदेशिक रोजगारीमा जाने युवाहरुले सीप नसिकि जाँदा विदेशमा दुःख पाउने गरेको बताईन् । उनले आम्दानी समेत कम हुने गरेको स्पष्ट पारिन् । सीप सिकेर जाँदा पैसा बढी कमाई हुने अनावश्यक दुःख र झण्झण्ट वेहोर्नु नपर्ने उनको भनाई छ । प्रविधिको विकाससँगै विगतको जस्तो अब विदेशमा समेत पाखुराका भरमा हुने श्रम कम हुदैं गएको भन्दैं उनले अब हरेक मानिस प्रविधिमैत्री बन्नुपर्ने बताइन् ।

नगरपालिकाभित्रका विपन्न, सीमान्तकृत, लोपोन्मुख, उत्पीडित र ग्रामीण क्षेत्रका महिलालाई सीप सिकाएर व्यावसायिक बनाउने उद्देश्य लिएर महिला सीप विकास केन्द्रको निर्माण गरेको बताईन् ।

तालिममा सिकेको सीपलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिदैं उनले सरकारी र निजीस्तरबाट थुप्रै जीवन उपयोगी तालिम सञ्चालन हुने गरेको बताईन् । तर त्यसको उपलब्धि भने एकदमै न्यून हुने गरेको उनले बताईन् । उनले जीवन उपयोगी तालिमले स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट पारिन् ।

महिलालाई समग्र रूपमा आत्मनिर्भर बनाउन जनचेतना अभिवृद्धि, क्षमता अभिवृद्धि, सीपमूलक तालिमलगायत आय आर्जनसम्बन्धी कार्यक्रमलाई नगरपािलकाले प्राथमिकतामा राखेको छ । सीप सिकेपछि उनीहरूलाई व्यवसाय सञ्चालन गर्न नगरपालिकाले पे्ररित गर्ने र लामो अवधिको तालिम दिएपछि अनुदान उपलब्ध गराएर प्रत्यक्ष रूपमा आय—आर्जन हुने व्यवसाय सञ्चालन गराउने र त्यसमा अन्य महिलाहरूलाई रोजगारी उपलब्ध गराउने योजना रहेको उनले भनिन् ।

नगरपालिकाले नगरवासीले इच्छाएको सीप सिकाएर दक्ष बनाउने सीप सिकेर उत्पादन गरिएका सामग्रीको बजारीकरणमा समेत सहकार्य गर्ने र उद्यमी बन्न चाहाने हरूका लागि यस्ता तालिम उपलब्धीमूलक हुने बताईन् ।

घरेलु तथा साना उद्योग कार्यालय, भद्रपुर, झापाका प्रमुख पुष्पलता उप्रेतीले तालिमले स्वरोजगार र उद्यमी बनाउने बताउँदैं सीप भन्ने वस्तु बजारमा सहजै विक्री हुने वस्तु भएको स्पष्ट पारिन् । समापन समारोहमा मेचीनगर वडा नम्बर —१४ का वडाअध्यक्ष बाबुलाल सुब्बाले बोलेका थिए भने सहभागीकातर्फबाट विजय नेपाल र उर्मिला कार्कीले अनुभव सुनाए । मेचीनगर नगरपालिकाको रेमी परियोजनाका रोजगार परामर्शकर्ता फणिन्द्र दाहालले सञ्चालन गरेका थिए ।

तालिममा सहभागी १ महिला सहित २४ जनालाई प्रशिक्षक तुलसी मिश्रले प्रशिक्षण गराएका थिए ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.