१५ साउन, विराटनगर : कोशी प्रदेशका १४ वटा जिल्लाबाट आर्थिक बर्ष २०८१—८२ मा तीन हजार पाँचसय १३ जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ परेकाहरुबाट एकहजार चारसय १६ बर्ष भन्दा बढी कैद सजाय तथा जरीवाना वापत १४ करोड ७७ लाखभन्दा बढी राजश्व संकलन भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
अदालतबाट कैद तथा जरीवाना तोकिएका व्यक्तिहरु समाजमा रहदा बस्दा शान्ति सुरक्षामा चूनौती आउने, अपराध गरेपछि पनि समाजमा खुलेआम हिडडुल गर्दा समाजमा नकारात्मक असर पर्ने र अपराधीको मनोवल बढेर थप अपराध गर्न उत्तेजित हुने हुँदा फरार प्रतिवादीलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरी निरन्तर लागिरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक इश्वर कार्कीले बताए ।
प्रहरी नायव महानिरीक्षक कार्कीका अनुसार फरार प्रतिवादीलाई कानूनी दायरामा ल्याउन निरन्तर लागिरहेको कोशी प्रदेश प्रहरीले सक्रियताका साथ प्रहरी परिचालन गरी फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिदैँ आएको छ ।
यसक्रममा गत आर्थिक वर्ष ‐साउनदेखि असारमसान्तसम्म)मा प्रदेश प्रहरी कार्यालय महातहतका जिल्ला प्रहरी कार्यालय मोरङले एकजहार एसकय ५६, सुनसरीले एकहजार दुई, झापाले पाँचसय ३४, इलामले एकसय ४६, पाँचथरले ४२, ताप्लेजुङले ४८, धनकुटाले ५७ , तेह्रथुमले ४५, भोजपुरले ४४, संखुवासभाले २८, उदयपुरले दुईसय ६०, ओखलढुंगाले ६९, सोलुखुम्वुले १४, खोटाङले ५३ र प्रादेशिक अनुन्धान समूहले १५ जना समेत गरी जम्मा तीनहजार पाँचय १३ जनलाई पक्राउ गरिएको प्रहरी नायव महानिरीक्षक कार्कीले जानकारी दिए ।

‘अपराध गर्ने छुट कसैलाई छैन, अपराध गरेर लुकेर, भागेर धर पाईदैन, ढिलो होस या चाँडो जसरी जहिले भएपनि प्रहरीले अपराध गर्ने व्यक्तिलाई पक्राउ गरेरै छाड्छ’ प्रहरी नायव महानिरीक्षक कार्कीले भने,‘कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कानूनी राज्यको स्थापना गर्न र न्याय प्रणालीलाई प्रभावकारी बनाउने उद्धेश्यले फरार रहेका प्रतिवादीहरूलाई नियन्त्रणमा लिन विशेष अभियान सञ्चालन गर्दै आईरहेको छ । ’विगत केही महिनादेखि विशेष रणनीति, सूचना प्रविधिको प्रयोग र समुदायसंगको समन्वय र सहकार्य मार्फत उल्लेखनीय सफलता हाँसिल गरेको प्रहरी नायव महानिरीक्षक कार्कीले बताए ।

अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका र लामो समयदेखि फरार रहदै आएका अभियुक्तहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन तथा कानून र फैसलालाई जीवन्तता प्रदान गरी न्यायलाई साकार बनाउन यो अभियानलाई तीव्रता दिने प्रहरी नायव महानिरीक्षक कार्कीको भनाई छ।
फरार प्रतिवादी पक्राउ अभियानमा नागरिकको साथसहयोग अपरिहार्य भएको हुदाँ गाँउघर, छिमेकमा लुकीछिपी बस्दै आएका फरार व्यक्तिहरुको बारेमा नजीकको प्रहरीलाई सूचना उपलव्ध गराई सहयोग गरीदिन सम्पुर्ण नगरिकमा कोशी प्रदेश प्रहरी कार्यालयले अनुरोध गदैं प्रहरीलाई सूचना उपलव्ध गराउने व्यक्तिको नाम गोपनीयता पूर्ण रूपमा सुरक्षित राखिने समेत विश्वास दिलाएको छ ।

























