२३ जेठ, झापा : झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा तिवारी हत्या प्रकरणमा उनका ब्वायफ्रेन्ड लगायतमाथि शंका गरिएपनि अपराधी भारतीय नागरिक भएको ठहर गरिएको छ ।
घटना भएको ८ दिनपछि प्रहरीले अनुसन्धान टुंग्याउँदै मुख्य आरोपितलाई नियन्त्रणमा लिएर आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा भारत राज्य बिहार जिल्ला अररिया ग्राम पंचायत सिरसियाकला थाना भरगामा स्थायी वतन भई हाल दमक नगरपालिका वडा नम्बर–५ मा डेरा गरी टायल्स मिस्त्रीको काम गर्ने ३४ वर्षीय राकेशकुमार पण्डित रहेका छन् । जेठ २१ गते राति करिब ११ बजे दमक ५ स्थित उनी बस्ने गरेको डेराबाट राकेशकुमार पण्डितलाई इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा मृतकसँग पैसासम्बन्धी विवाद भई झगडाको क्रममा हत्या गरेको भनी पण्डितले स्वीकार गरेका छन् ।

जेठ १३ गते राति ९ बजेतिर दमकस्थित सगरमाथा पेट्रोल पम्प नजिकको झाडी क्षेत्रमा रमा एक्लै भौतारिरहेकी थिइन् । त्यही मौकामा मादक पदार्थ सेवन गरेका पण्डितले यौन प्रस्ताव राखेका थिए । हजार रुपैयाँमा कुरा मिलाएपनि रमाले ३ हजार रुपैयाँ माग्दै बार्गेनिङ गरेकी थिइन् । आफूले मागेको रकम नदिए फसाइदिने धम्की दिएपछि पण्डितले घाँटी थिचेर हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । ३ हजार रकम लिएर शारीरिक सम्बन्धसमेत राख्न नदिई उल्टै फसाइदिने धम्की दिएपछि आक्रोशित भएर पण्डितले हत्या गरेको प्रहरी स्रोतले जनाएको छ । त्यसपछि नजिकै डेरा भएका पण्डितले डेराबाट बोरा ल्याई घटनालाई लुकाउन शवलाई मोटरसाइकलमा राखी दमक नगरपालिका–१० स्थित सेतुमारी क्षेत्रमा रहेको रतुवा खोलाको पुलमाथिबाट लगेर फालेको अनुसन्धानबाट खुलेको छ।
हत्या गरेर फालेको तीन दिनपछि जेठ १६ गते रतुवा खोलामा बोराभित्र रमाको शव फेला परेपछि घटनाले व्यापक चर्चा पाएको थियो। उक्त शवको सनाखत मृतकका पिता नारायण तिवारीले गरेका थिए ।
घटनापछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्राविधिकसहितको प्रहरी टोली, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय धरान सुनसरी र इलाका प्रहरी कार्यालय दमक सहितको संयुक्त प्रहरी टोलीले घटनास्थललाई सुक्ष्म निगरानी, प्राविधिक विश्लेषण तथा वारदात स्थल वरपरको सीसीटीभी फुटेजको अध्ययन एवम् विश्लेषणको क्रममा घटनामा संलग्न पण्डितको पहिचान गरेको थियो। जेठ १३ गते राति हत्या गरेपछि पण्डित १४ गते भारत गएका थिए । रमाको घटनामा उनका ब्वायफ्रेन्डको नाम जोडिएपछि आफूलाई सुरक्षित ठानेर उनी जेठ १६ गते भारतबाट दमक फर्किएका थिए । गहन अनुसन्धान गरी दोषी पत्ता लगाउन प्रहरी सफल भएको हो । प्रहरीले रमाका ब्वायफ्रेन्ड भनिएका युवकसहित उनीसंग सम्पर्कमा रहेका करिव ५० जनासंग सोधपुछ गरेको थियो ।
घटना सम्बन्धमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ र १८ बमोजिम ज्यान सम्बन्धी कसूर र जबरजस्ती करणी कसूरमा मुद्दा दर्ता गरी झापा जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले बताइन् ।
आरोपितले मृतक रोमा भन्ने रमा तिवारीसँग भेट हुँदा लगाएको टमी हिलफिगर लेखिएको क्रिम रङको रातो निलो कालो जस्तो धर्का भएको टिसर्ट , निलो रङको फ्लुगोल्ड जिन्स लेखिएको पाईन्ट, क्रिम रङको जुत्ता एक जोर , मृतकसँग भेट भई मृतकलाई चढाई लगेको भनी आरोपितले बताएको मे २ प ८२३ को निलो रङको होन्डा साइन मोटरसाइकल , मृतकको लाश फाल्न प्रयोग भएको भनी आरोपितले बताएको बीआर ३८एएम ३७७८ नम्बरको रातो कालो रङको अपाचे मोटरसाइकल ,आरोपितको साथबाट फेला परेको बिभिन्न कम्पनीको मोबाइल थान–३, आरोपित बस्ने घरबाट सीएमटी ग्रुप लेखिएको दायाँ चप्पल ३५ फिट र बायाँ चप्पल ३३ फिट फेला परेको छ ।

























