मेचीनगर,३ फागुन | एकल महिलाहरुको क्षमता अभिवृद्घि गदैं आत्मनिर्भर बनाउने उद्घेशयले दुईदिवशिय व्यक्तित्व तथा नेतृत्वसम्बन्धि प्रशिक्षण कार्यक्रम मेचीनगरमा सोमबारबाट शुरु भएको छ ।
मेचीनगर नगरपालिकाको महिला विकास उपशाखाले आयोजना गरेको कार्यक्रमको नगर प्रमुख विमल आचार्यले व्यानर वाचन गरेर उद्घाटन गर्नुभएको थियो । नगरप्रमुख आचार्यले एकल महिलाहरुको व्यक्तित्व तथा नेतृत्व विकास गदैं उनीहरुलाई आत्मनिर्भर बनाउनेतर्फ स्थानीय सरकार लागेको बताउनुभयो । एकल महिलाका सन्दर्भमा सवैलाई जानकारी भएको भन्दैं उहाँले सरकारले एकल महिलाका हक, हति अधिकारलाई निक्कै महत्वकासाथ प्राथमिकतामा राखेको नगरप्रमुख आचार्यको भनाई थियो । स्थानीय सरकार मेचीनगर पनि नगरभित्रका एकल महिलाका हक, हित अधिकारप्रति गम्भीर बन्दैं उनीहरुलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ त्यसतर्फ लागेको विचार राख्नुभयो ।
यो समाजमा एकल महिलाहरुको योगदान निक्कै रहेकाले शिक्षा, स्वास्थ्यलगायतका विषयमा क्रियाशील गराएर विभिन्न खाले सीप सिकाएर कसरी उनीहरुलाई आत्मनिर्भर बनाउन सकिन्छ भनेर नगरपालिका विगतदेखि नै लागि परेको उहाँको भनाई थियो । उनीहरुलाई आत्मनिर्भर बनाउने र सामुदायिक जीवन एवम् कार्यक्षेत्रमा पनि सक्रिय तुल्याउने गरि एकल महिलाको आर्थिक पक्षमा सुधार ल्याउन नगरपालिका सक्रिय रहेको नगर प्रमुख आचार्यको भनाई छ । एकल महिलाहरूको सामाजिक सुरक्षा भत्ता कटौती नहुने बताउदैं सामाजिक सुरक्षा भत्ता पाउँदै आएका महिलाहरुलाई सहजरुपमा भत्ता प्रदान गरिने उहाँको भनाई थियो ।
कार्यक्रमको अध्यक्षता गदैं उपप्रमुख मीना पोखरेल उप्रेतीले नगर कार्यपालिकाले विभिन्न चरणमा छलफल गरेर यो कार्यक्रम ल्याएको बताउनुभयो । समाजमा एकल महिलालाई हेर्ने दृष्टिकोण फरक भएको भन्दैं उपप्रमुख उप्रेतीले समाजमा एकल महिलाहरुलाई जिम्मेवार बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । एकल महिलाहरुलाई समाजमा निराशा नभई कुनै पनि कुरामा हतोत्साहित नभई आत्मवल मजवुत बनाएर बस्न उहाँको आग्रह थियो । एकल महिलाले सामाजिक सुरक्षा भत्ता पाउन ६० वर्ष उमेर पुग्नुपर्ने नियमका विरुद्ध महिला अधिकारकर्मीहरुले आपत्ति जनाई रहदाँ जनप्रतिनिधिहरुले उनीहरुलाई साथ सहयोग प्रदान गरेको उहाँको भनाई छ ।
सर्वोच्च अदालतको आदेशअनुसार सरकारले सबै उमेरका एकल महिलाहरुलाई सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेका कारण पछि आएर अन्य नियम ल्याउनु गलत भएको उहाँको भनाई थियो । खाइपाइ आएको भत्ता कटौती गर्नु न्यायोचित नभएको भन्दैं उहाँले भत्ता कटौती गर्नु महिलामाथि अन्याय हुने उहाँको भनाई छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले स्वागत गर्नुभएको उद्घाटन सत्रको सञ्चालन वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले गर्नुभएको थियो । मंगलबारसम्म चल्ने प्रशिक्षणमा नगरभरिका १९ बढी एकल महिला सहभागी छन् । उनीहरुलाई रेडियो विराटका प्रवन्ध निर्देशक तथा सञ्चारकर्मी लीला अनमोलले प्रशिक्षण प्रदान गर्नुहुने छ ।

























