भोलि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई थप सुदृढ बनाउन झापामा नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ। निर्वाचनको पूर्वसन्ध्यामा आज बुधबार अपराह्न सेनाको हेलिकप्टरमार्फत जिल्लाका विभिन्न क्षेत्र, विशेष गरी झापा क्षेत्र नं ५ को सुरक्षा अवस्थाबारे उच्चस्तरको निगरानी गरिएको छ।
दमक र आसपासका क्षेत्रलाई केन्द्रित गरी गरिएको यस हवाई गस्तीका क्रममा मतदान केन्द्र, मुख्य चोक तथा रणनीतिक महत्त्वका स्थानहरूको स्थलगत अवलोकन गरिएको सुरक्षा स्रोतले जनाएको छ। निर्वाचनलाई शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सुरक्षा निकायहरू उच्च सतर्कतामा रहेका छन्। झापा क्षेत्र नं ५ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान मेयर बालेन शाहबीचको कडा प्रतिस्पर्धाका कारण यस क्षेत्रलाई सुरक्षाको दृष्टिकोणले ‘सेन्सेटिभ’ मानिएको छ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। स्थलगत रूपमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरीको एकीकृत टोली परिचालन भइरहेको छ। झापामा मात्रै ९ हजारभन्दा बढी सुरक्षाकर्मी खटिएका छन् भने दमकमा सेनाले हेलिप्याड निर्माण गरी द्रुत प्रतिकार्यका लागि तयारी अवस्थामा रहेको छ।
भोलि बिहीबार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ। आज रातिदेखि नै मतदान केन्द्रहरूको सुरक्षा घेरालाई थप मजबुत बनाइएको छ।

















