३० साउन, मेचीनगर : झापा जिल्लामा गत आर्थिक वर्षमा आगलागीका घटनाहरू डरलाग्दो रूपमा बढेको पाइएको छ । तीमध्ये अधिकांश घटना बिजुलीका पोलमा तार सर्ट भएर, घरका मिटर बक्समा विद्युत सर्ट भएर तथा खाना पकाउने ग्यास चुहावट, भान्सा र गोठको आगो नियन्त्रण बाहिर जाँदा आगलागीका घटना भएका छन् । घरको भान्सा, परालको कुन्यू र चुरोटको ठुटाबाट समेत आगलागीका दुर्घटना निम्तिने गरेका छन् । बालबालिकाले सलाई र लाइटरजस्ता आगो निस्कने वस्तु खेलाउँदा कतिपय आगलागी भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८१÷८२ एक वर्षको अवधिमा जिल्लामा कुल एकसय ६७ वटा आगलागीका घटना रेकर्ड भएका छन् । आगलागीका कारण १० करोड भन्दा बढिको क्षति भएको छ, भने १६ जना मानिस घाइते भएको अभिलेख जिल्ला प्रहरी कार्यालय झापाको अभिलेखले देखाएको छ ।
यो अवधिमा ६९ वटा घर, ३२ वटा गोठ, २७ वटा परालको कुन्यू, १२ वटा सवारी साधन र २२ वटा अन्यमा आगलागी भएको प्रहरीले जनाएको छ । ८९ वटा घर प्रभावित भएका थिए भने, नौसय १२ जना प्रहरी एकवर्षको अवधिमा आगो नियन्त्रणमा खटिएका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ‐डीएसपी) खगेन्द्रबहादुर खड्काले कुल आगलागीका घटनाबाट जिल्लामा १० करोड ७३ लाख ५५ हजार नौ सय रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको, ५८ वटा चौपाया ७८ वटा पंक्षी आगलागीकै कारण मरेको बताए । १५ वटा चौपाया घाइते भएका छन् ।
यो तथ्याङ्क निकै चिन्ताजनक रहेको र आगलागीका अधिकांश घटना मानवीय लापरबाहीभन्दा पनि पूर्वाधारको कमजोरी, विशेष गरी अव्यवस्थित तार र पुरानो प्रणालीका कारण भएको प्रहरीको अनुसन्धानले देखाएको छ । यसले ठुलो जनधनको क्षति निम्त्याउन सक्ने जोखिमलाई दर्शाउँने एकजना प्रहरी अनुसन्धान अधिकृतको भनाई छ ।

विद्युत सर्ट भएर घर तथा पसलमा आगलागी हुने, ग्यास लिक हुने र जंगलमा आगलागी हुने घटनाहरू पनि उल्लेख्य संख्यामा रहेको प्रहरीको अभिलेखमा छ । वितेको एकवर्षमा पाँचवटा बनमा आगलागीका घटना भएको छ । चैत महिनामा मात्र पाँच वटा वनमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । बनमा आगलागी हुँदा नयाँ रोपेका बोट विरुवा जलेर नष्ट भएपछि उपभोक्ता समुहलाई लाखौँभन्दा बढीको क्षति वेहोर्नु पर्ने हुन्छ । बनमा लागेको आगोले जंगली बोटविरुवा मात्र नभई जनावरहरुसमेत प्रभावित भएका छन् । जंगली जनावरहरु आगोबाट जोगिन वस्ती आसपास पुग्ने बताइएको छ ।
प्रहरीले आगलागीका सूचना प्राप्त हुनासाथ तत्काल घटनास्थलमा पुगेर नियन्त्रणका लागि पहल गर्ने गरेको बताएको छ । प्रहरीले बिजुलीका पोलमा हुने आगलागीका घटना न्यूनीकरणका लागि सम्बन्धित निकाय, विशेष गरी नेपाल विद्युत प्राधिकरणसँग समन्वय बढाउन आवश्यक रहेकोमा जोड दिएको छ ।
प्रहरीको अभिलेख अनुसार मंसिर महिनामा २७ वटा आगलागीका घटना भएका छन् । जस्का कारण ८१ लाख ६९ हजार चार सय रुपैयाँको क्षति भएको छ । आगलागीमा परेर तीनजना मानिस घाइते भएका थिए भने, १२ वटा चौपाया मरेका छन् । मंसिरपछि आगलागीका घटना फागुनमा भएका छन् । त्यो महिना २२ स्थानमा आगलागी भएको प्रहरीले जनाएको छ । १० वटा घर, दुईवटा गोठ, तीनवटा परालको कुन्यू र पाँचवटा अन्यमा आगालागी हुँदा एक करोड ६२ लाख ४१ हजार रुपैयाँको क्षति भएको बताइएको छ ।
अन्य महिनाको तुलनामा यी दुईमहिनामा बढि स्थानमा आगलागीका घटना भए पनि मुल्यका आधारमा क्षति भने कम छ । साउनमा पाँच वटा घर र अन्य एक गरी छ स्थानमा आगलागी हुँदा एक जना मानिस घाइते भए । त्यो आगलागीका कारण ५० लाख ९३ हजार रुपैयाँ बराबरका धनमाल जलेर नष्ट भएको प्रहरीको भनाई छ । भदौमा पाँचवटा घर, तीनवटा गोठ, अन्य, दुई र एउटा सवारी साधनमा आगलागी हुँदा १० वटा पंक्षी जलेर मरेका थिए भने, १७ लाख सात हजार रुपैयाँको क्षति भएको छ । यसैगरी, असोजमा छ स्थानमा आगलागीका घटना भएका छन् । पाँच वटा घर, एउटा गोठमा आगलागी हुँदा एउटा सवारी साधन समेत पूर्णरुपमा जलेर नष्ट हुँदा कुल ४६ लाख२३ हजार चारसय रुपैयाँको क्षति भएको प्रहरीसँग अभिलेख छ ।

यसैगरी कात्तिकमा १४ स्थानमा भएको आगलागीमा परेर नौवटा घर, एउटा गोठ, एउटा परालको कुन्यूमा आगलागी हुँदा दुईवटा सवारी साधन जलेर नष्ट भएका थिए । कात्तिकको क्षति भने, ७८ लाख ४१ हजार आठसय रुपैयाँ रहेको छ । पुसमा दुईवटा घर, पाँच वटा गोठ र पाँच वटा अन्य बस्तु जल्दा ५८ लाख ३५ हजार रुपैयाँ नोक्सान भएको छ । माघमा ४४ लाख १७ हजार रुपैयाँ मुल्य बरबारका धनमाल संरचना जलेर नष्ट भएका छन् । माघमा घर, गोठ र परालको कुन्यूगरी चार—चार वटा जलेर नष्ट भएका थिए । आगालागीमा परेर १८ वटा पंक्षी जलेर मरेका थिए । चैतमा भएको आगलागीमा परेर तीनवटा चौपाया मरेका छन् भने एउटा घाइते भएको थियो । त्यो घटनामा पनि एकजना मानिस घाइते भएका थिए । कुल दुई करोड ८६ लाख १५ हजार आठ सय रुपैयाँ मुल्यका धनमाल जलेर नष्ट भएका छन् ।

बैशाख महिनामा १४ स्थानमा आगलागी भएको छ । त्यसमा परेर पाँच वटा घर, छ वटा गोठ,एउटा सवारी साधन, तीनवटा परालको कुन्यू एक अन्य र पाँच वटा बनमा आगोलागी भएको छ । बैशाखमा एक करोड ४९ लाख ५० हजार रुपैयाँका मालवस्तु जलेका थिए । जेठमा छ वटा घर जलेका थिए । ६२ लाख ८० हजार रुपैयाँ क्षति भएको छ । असारमा पाँच वटा घर तीनवटा गोठ, एउटा परालको कुन्यू र एक अन्य गरी दश स्थानमा आगलागी हुँदा ३६ लाख १४ हजार रुपैयाँको क्षति भएको छ । तुलान्तमक रुपमा हावाहुरी चल्ने फागुन— चैत —वैशाख–जेठमा पनि आगलागी र घर नष्टका घटना धेरै देखिन्छन् । सुक्खा याम शुरु भएसँगै आगलागीका घटना बढेका छन् भने क्षति समेत बढि हुने गरेको छ ।

























