१० मंसिर, मेचीनगर : झापाको मेचीनगर—६ काँकरभिट्टामा प्रधान कार्यालय रहेको नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शुक्रबार उत्कृष्ट बचतकर्तादेखि ज्येष्ठ सदस्य र कर्मचारीलाई एउटै मञ्चमा सम्मान तथा पुरस्कृत गरेको छ । संस्थाको १२ औँ वार्षिक साधारण सभाको अवसर पारेर वर्षाेत्कृष्ट कर्मचारी बजार प्रतिनिधि कविता भण्डारीलाई नगदसहित दोसल्ला र सम्मान पत्र प्रदान गरियो ।



संस्थाले चालु आर्थिक वर्ष २०७८/२०७९ मा शेयर पूँजी वृद्धि गरेर २ करोड पुर्याउने लक्ष्य लिएको छ । संस्थाको वासलात ३ करोड ४५ लाख रहेको छ । चालु आर्थिक वर्षसम्ममा संस्थाको आन्तरिक स्रोतहरु शेयर, बचत, संस्थागत पूँजी, र अन्य स्रोतहरु बैंक वित्तिय संस्थाबाट आवश्यकता अनुसार कर्जा लिएर कुल पूँजी तथा दायित्व ६ करोड पुर्याउने लक्ष्य लिइएको छ । संस्थाले लिएको यो लक्ष्य प्राप्ति गर्न संस्था सामु धेरै चूनौती रहेको अध्यक्ष मैनालीले बताउनुभयो । कोभिड १९ को सक्रमण बढ्ने संकेत देखिएको भन्दैं उहाँले कोभिड १९ को प्रभावबाट सदस्यहरुको व्यवपार व्यवसाय राम्ररी सञ्चालन हुन सकेन भने ऋणको भाखा नाघ्न गएर कर्जा जोखिममा पर्ने उहाँले बताउनुभयो । यो जोखिमलाई व्यवस्थापन गर्नुपर्ने चूनौती संस्थामा थपिएको अध्यक्ष मैनालीले स्पष्ट पार्नुभयो ।

कार्यक्रमको उद्घटान सत्रमा बोल्दैं प्रमुख अतिथि दाहालले हरेक सहकारीले सहकारीका मूल्य, मान्यता र सिद्घान्तलाई आत्मसाथ गरेर अघि बढ्न सुझाँव दिनुभयो । उहााले अरु सहकारीले जे गरी रहेका छन् त्यसैको सिको सिकेर अघि बढ्न खोजे वा अन्य संस्थाको नक्कल गरे सहकारी दुघर्टनामा पर्न जाने भएकाले त्यसमा सजक रहन सञ्चालकलाई आग्रह गर्नुभयो । उहाँले प्रतिवेदनमा यो गर्छु त्यो गर्छु भनेर शेयर सदस्यहरुलाई मख्ख पार्नुभन्दा त्यसो गर्न जगेडाकोषमा कति रकम छुट्टयाइएको छ त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

महेन्द्रद्वार सहकारी संस्थाका अध्यक्ष राजकुमार दाहाल, आधूनिक बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष मेदनीप्रसाद खरेल, मखमली बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक सदस्य लक्ष्मीदेखि खनियाँ, मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाका अध्यक्ष भगिरथ राई लगायतले कार्यक्रममा बोल्नुभएको थियो । संस्थाका व्यवस्थापक धनपति मैनालीले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागी सबैलाई संस्थाका उपाध्यक्ष गंगालाल गुरुङले शब्दद्वारा स्वागत गर्नुभएको थियो ।



























