
नेपालमा उत्पादित मुसुरो दाल मुख्यतः बंगलादेशमा निर्यात हुने गरेको छ । यद्यपि बेलायत, अमेरिका, जर्मनी, फ्रान्स, क्यानाडा, श्रीलंका र अन्य मुलुकमा पनि नेपाली मुसुरोको माग बढ्दो रहेको व्यवसायीहरुको भनाई छ ।
नेपालले व्यावसायिक रूपमा सन् १९९० (वि.सं. २०४७) बाट मुसुरो दाल निर्यात सुरु गरेको मेची भन्सार एजेण्ट संघका सचिव कृष्णकान्त खनियाँले बताए । उनका अनुसार सन् १९९७ जुन १ तारिखदेखि काँकडभिट्टा–फूलबारी–बंगलाबन्द मार्ग सञ्चालनमा आएपछि नेपालले औपचारिक रूपमा बंगलादेशमा गहुँ र त्यसपछि मुसुरो दाल निर्यात गर्दै आएको हो ।
सरकारले मुसुरो दाललाई कृषि वस्तु भएकाले भ्याट छुटको व्यवस्था गरेको छ । तर निर्यातका लागि व्यवसायीहरूले अनिवार्य रूपमा खाद्य प्रयोगशालाको सिफारिस पेस गर्नुपर्ने व्यवस्था छ । सिफारिसपछि प्रति एसेसमेन्ट एकसय १३ को निकासी महसुल तिर्नु बाहेक अन्य शुल्क नलाग्ने मेची भन्सार कार्यालयले जनाएको छ । तेस्रो मुलुकबाट आयात भएको दालमा भने १० प्रतिशत भन्सार महसुल बुझाउनुपर्ने व्यवसायीहरूले बताएका छन् ।
अम्रिसोको निर्यात घट्यो
काँकरभिट्टा नाकाबाट अम्रिसोको निर्यात भने घटेको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा यो नाका भएर ३० करोड ४१ लाख४९ हजारको अम्रिसो भएको छ । गत आवको यहि अवधिमा ४७ करोड १२ लाख २७ हजार रुपैयाँको अम्रिसो निर्यात भएको थियो । तुलानात्मक रुपमा चालु आवमा १६ करोड ७० लाख ७८ हजार रुपैयाँ वा ३५ दशमलव ५ प्रतिशत अम्रिसोको निर्यात घटेको भन्सार कार्यालयले जनाएको छ । नेपाली अम्रिसो भन्दा सिलाङमा उत्पादित अम्रिसोले भारतीय बजार बढी ओगटेकाा कारण पनि यसको निर्यात घटेको व्यवसायीको भनाइ छ ।

नेपालका पूर्वी पहाडी जिल्ला ताप्लेजुङ पाचथर, इलाम र झापाका केही तथा संखुवासभा, सिन्धुली, वनेपा, हेटौडा लम्जुङ्गमा उत्पादित अम्रिसो वार्षिक रुपमा अढाईदेखि तीनलाख वण्डल भारततर्फ निर्यात हुने गरेको व्यवसायीहरुको भनाइ छ । नेपालबाट निर्यात हुने अम्रिसोले भारतको दिल्ली, बम्बै, कलकत्ता, राजस्थान, हैदरावादलगायतको बजार लिनेको गरेको छ । अम्रिसोको निकासी प्रकृया कुनै झञ्झटिलो नभएका कारण व्यवसायीहरुले सहजैरुपमा निर्यात गर्ने गरेको व्यवसायीहरुले बताए ।
निर्यात वापत सरकारले कृषिजन्य वस्तु भएका कारण भ्याट छुट गरेको छ । झापा जिल्लामा मात्र तीन दर्जनभन्दा बढी कुचो व्यवसायी रहेका छन् । झापाली कुचो व्यवसायीबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा दुई हजारभन्दा बढीले रोजगार पाएका छन् ।
चालु आवको पाँच महिनामा चियाको निर्यात ३१ दशमलव ४ प्रतिशतले घटेको छ । उक्त अवधिमा एक अर्ब ८५ करोड ६२ लाख सात हजार रुपैयाँ मूल्य बराबरको चिया निर्यात भएको छ । कार्यालयको अभिलेख अनुसार अघिल्लो आव २०८१-०८२ को सोही अवधिमा दुई अर्ब ७० करोड ३९ लाख ३६ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको थियो ।
कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुहरूमा भेनीयर सिट १ सय २९ दशमलव ९० प्रतिशत, छुर्पी ३२ प्रतिशत, अदुवा, सुठो ४८ दशमलव ७० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ३६ दशमलव १० प्रतिशत प्लाउड ४६ प्रतिशत र फलामे पाता निर्यातमा ९७ दशमलव ८ प्रतिशतले कमी आएको छ ।
चालु आर्थिक वर्ष २०८२-०८३ को मंसिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १ प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्यांकअनुसार उक्त अवधिमा पाँच अर्ब ५३ करोड ३२ लाख ४९ हजार बराबरको अलैँची निर्यात भएको छ ।
अघिल्लो आव २०८१-०८२ को सोही अवधीमा तीन अर्ब ४५ करोड ६३ लाख बराबरको अलैँची निर्यात भएको छ । मेची भन्साबाट चालु आव २०८२-०८३ को पहिलो पाँच महिनामा १० अर्ब ७१ करोड ५४ लाख १३ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ ।


























