‘कोभिडले ‘फ्यूलिङ’ हुँदा शेयर बजार दौडियो’

A notice in Nepali from Mechinagar Ward No. 10

९ माघ, काठमाडौं । पछिल्लो समय सेयर बजारमा एक किसिमको उल्लास छाएको छ । सेयर बजारप्रति जनताको आकर्षण बढ्नुको मुख्य कारण नीतिगत सुधार भएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना बताउँछन् । उनी भन्छन्, ‘नीतिगत सुधारले हिँड्न थालेको बजार कोभिड–१९ पछि दौडिन थाल्यो ।’

सेयर बजारलाई कोभिडले इन्धन भरिदिएको उनी बताउँछन् । उनले भने, ‘कोभिडले ‘फ्यूलिङ’ गरिदिएपछि सेयर बजार हिँड्नेमात्र होइन, दौडिन थाल्यो ।’
ढुंगानाले पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त भएका उनको एक वर्ष १ माघमा पूरा भइसकेको छ । पहिलो वर्ष उनले के–के गरे त ? प्रस्तुत छ, बोर्डले गरेका नीतिगत सुधार, बजारको पछिल्लो अवस्था लगायतका विषयमा अनलाइनखबरका रोयल आचार्यले अध्यक्ष ढुंगानासँग गरेको कुराकानी :

बोर्डको नेतृत्वमा आफूले बिताएको पहिलो एक वर्षको मूल्यांकन कसरी गर्नु हुन्छ ?

मैले जिम्मेवारी सम्हाल्नासाथ कोरोना महामारी सुरु भयो । केही समय बजार बन्द नै गर्नुपर्यो । त्यस अवधिमा पनि हामी सुधारको काममा लाग्यौं ।
बजारको विकास तथा विस्तारको लागि बोर्डले पछिल्लो समय चालेका कदमहरुका कारण बजारमा सर्वसाधारणको सहभागिता उत्साहजनक रहन थालेको छ । बजारका अधिकांश सूचकांक उचाइमा छन् ।

सेयर बजारमा गत असारसम्म करिब १६ लाख रहेको डिम्याट खाता संख्या पुसमा करिब २४ लाख पुगेको छ । अहिले त्यो २६ लाख जति पुगेको होला । गत वर्ष करिब ७ लाख रहेको मेरो शेयर खाताको संख्या अहिले ११ लाख जति पुगेको छ । त्यस्तै, आईपीओमा गत वर्षसम्म करिब छ लाखले आवेदन दिने गरेकोमा हाल एउटै निष्काशनमा १५ लाख आवेदन पर्ने अवस्था छ ।

गत असारमा दोस्रो बजार अनलाइन कारोबारका लागि करिब १४ हजारले युजर आईडी लिएकोमा हाल उक्त संख्या २ लाख २० हजार छ । औसतमा ४ लाख लगानीकर्ता कारोबारमा सक्रिय रहेको देखिन्छ ।

यो भयो प्राथमिक बजारको कुरा । दोस्रो बजारको अवस्था पनि निकै सुधारिएको छ । अहिले नेप्से परिसूचक हालसम्मकै उच्च २३ सय अंक माथि पुगेको छ । जीडीपीमा बजार पुँजीकरणको अंशमा वृद्धि भई हाल करिब ८० प्रतिशत पुगेको छ, जुन म आउनुअघि ४७ प्रतिशत थियो । अब चाँडै नै जीडीपीकै हाराहारीमा पुग्छ ।

कानुनी सुधारहरू पनि भएका छन् । धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली २०६४, धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली २०६४, धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ लगायत संशोधन भएका छन् ।

प्रारम्भिक सार्वजनिक निष्काशनमा बुक बिल्डिङ्ग निर्देशिका लागू गरिएको छ भने मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन मार्फत सहज गरिएको छ । ब्रोकर कमिशन घटाइदा साना लगानीकर्तालाई ६० प्रतिशतसम्म राहत भएको छ । सेयर बजार र व्यवसायीले मार्जिन कारोबारसम्बन्धी कार्यविधि बनाई बोर्डको स्वीकृतिमा लागू गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै ईकेवाईसी लागू गरिएको छ ।

मेरो शेयर खाता खोल्दा, युजर आईडी र पासवर्ड लिँदा शुल्क नलाग्ने व्यवस्था गर्दा सबै लगानीकर्तालाई प्रोत्साहन भएको छ । यसैगरी लकडाउन अघि लगानीकर्ताले धितोपत्र बिक्री पश्चात मेरो शेयरमार्फत् प्रविष्टि गरेको भारित औसत लागत गणना राफसाफ सदस्यहरूले म्यानुअल प्रविष्टि गर्दै आइरहेकोमा अहिले सिधै प्रणालीमार्फत् एकमुष्ठ रूपमा प्रविष्ट हुने व्यवस्था गरिएको छ ।

धितोपत्रको दोस्रो बजारमा हुने कारोबारको रकम भुक्तानीका सन्दर्भमा मोबाइल तथा इन्टरनेटबाट हुने दैनिक तथा मासिक सीमा परिवर्तन गरी प्रतिभुक्तानी मोबाइलबाट १ लाख र इन्टरनेटमार्फत् हुने भुक्तानी १० लाख अधिकतम सीमा कायम भएको छ ।

सूचिकृत संगठित संस्थाको साधारण सभाको मतदान गर्दा ई–भोटिङ्ग गर्न सक्ने व्यवस्था मिलाउन सिडिएससीलाई निर्देशन दिएका छौं । यस सम्बन्धमा आवश्यक सहजीकरणका लागि कम्पनी रजिष्ट्रारको कार्यालयलाई अनुरोध गरिएको छ ।

नागरिक लगानी कोषको अगुवाईमा स्थापना हुन लागेको नागरिक स्टक डिलर कम्पनीलाई स्टक डिलरको कार्यका लागि अनुमति दिने क्रममा पूर्वाधार तयार गर्न निर्देशन दिइएकोमा सो तयारी गरी पुनः निवेदन प्रक्रिया अगाडि बढीरहेको छ । हरेक दिन सेयर बजारमा नयाँ नयाँ रेकर्ड कायम हुँदै आएको पुसको रेकर्डले देखाउँछ ।

सेयर बजारमा एक किसिमको उल्लास आएको छ । इतिहासकै सबभन्दा धेरै आईपीओ निष्काशन भएको वर्षको रुपमा रेकर्ड कायम हुँदैछ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा ३३ करोड आईपीओ निष्काशन भएकोमा यो वर्ष त्यही अवधिका साढे १० अर्बको सेयर निष्काशन भएको छ ।

तपाईंकै भाषामा अहिले सेयर बजार दौडिरहेको छ । यसको कारक के–के हुन् ?

हामीले जुन किसिमको सुधार गरेको छौँ, त्यो समयमा नभएको भए आजका दिनमा पनि हामी बजार बन्द गरेर सुतिरहेका हुने थियौँ । जोसँग जतिसुकै पैसा भए पनि, जसले जेसुकै गरे पनि बजार सञ्चालन नभइकन बजारको विकास हुन सक्दैन । हामीले नीतिगत सुधार गर्दा सकारात्मक असर पर्यो ।

अर्को मुख्य कारक कोभिड पनि हो । कोभिडले बजारलाई फ्यूलिङ गरिदियो । फ्यूल भरिएपछि बजार हिँड्नेमात्रै होइन दौडियो । मान्छेहरुले अन्य क्षेत्रमा लगानी गर्न पाएनन् । लामो समय लकडाउन हुँदा घरभित्रै बसीबसी राम्रो ठाउँमा लगानी गर्नुपर्ने भयो । त्यो ठाउँ सेयर बजार नै भयो ।

अर्को कुरा हामीलाई बैंकिङ क्षेत्रले पनि राम्रै सहयोग गर्यो । बैंकहरुको पैसा अन्त लगानी भएको थिएन । सेयर लगानी गर्न बोलाई बोलाई पनि पैसा दिए ।
अर्को तर्फ बैंकको ब्याजदर पनि घट्यो । लगानीकर्ताहरुले सस्तोमा ऋण पाए । फण्ड साधारणतया तीन ठाउँमा लगानी हुन्छ । पहिलो त बैंकिङ क्षेत्रमै हो, मुद्दति निक्षेपमा राखिन्छ । मुद्दतिमा धेरै ब्याज आएन भने त्यो पैसा सेयर बजारतिर आउँछ ।

सेयर बजारबाट त्यो रकम रियल स्टेटतिर जान्छ । घरजग्गामा पनि धेरै रकम जान्छ । कोभिडकालमा भने सबभन्दा राम्रो ठाउँ सेयर बजार भयो ।
एक वर्षका कामहरु बताउनुभयो । ब्रोकरलाई लाइसेन्स दिने कामचाहिँ किन हुन सकेन ?

बैंकहरुलाई ब्रोकर लाइसेन्स किन दिने भन्ने कुरा नै मैले बुझेको छैन । यो कसको कुरा, कसको माग हो ? बैंक किन खोलेको, दलाल व्यवसाय गर्न खोलेको हो ? त्यो त होइन होला । बैंकले निक्षेप लिने, कर्जा दिने हो । बैंकहरुले सबै स्थानीय तहमा गएर सेवा दिन सकिरहेका छैनन् । त्यहि क्षेत्रलाई अर्को काम किन थप्नु पर्ने ? ब्रोकर लाइसेन्स दिएर बैंकलाई के फाइदा हुन्छ ?

हो, बैंकलाई ब्रोकर लाइसेन्स पाँच वर्ष अघि दिनु पर्थ्यो । त्यतिबेला मेरो यो कारोबार गरिदिनु पर्यो भनेर कार्यालय नै धाउनु पर्ने अवस्था थियो । अहिले त प्राथमिक बजारमा मोबाइलबाटै काम गर्न सकिन्छ । यसका लागि अन्त कहिँकतै जानु पर्दैन ।

अब त दोस्रो बजारमा पनि ब्रोकरको टिएमएसबाट एप्स जारी गरेर लगानीकर्ताले घरबाटै काम गर्न सक्ने स्थिति बनाउने हो । अहिले त हामी दोस्रो तहमा पुगिसक्यौं । अब पुरानो तहमा फर्कने होइन । अब बैंकमा गएर टोकन लिएर म खाजा खाएर आउँछु भन्नु पर्ने अवस्था छैन । युरोपका धेरै देशमा एटिएम बन्द हुन थालिसके । सबै अनलाइन कारोबार हुन्छ ।

भनेपछि, बैंकले ब्रोकर लाइसेन्स पाउने सम्भावना छैन ?

कुरा सम्भावनाको होइन, आवश्यकताको हो । आवश्यक छ भने गर्ने हो ।

सेयर बजारको अहिलेको दौडमा ब्रेक लाग्ने सम्भावना देख्नु हुन्छ ?

यो कस्तो खालको वृद्धि हो भन्ने कुरामा भर पर्छ । अहिले जेजति बढेको छ सबै प्राकृतिक छैन, केही छिद्रहरु छन् । बजार सधैं यही किसिमले अगाडि बढेको भए त बैंकको सेयर मूल्य पनि त्यहि किसिमले बढ्थ्यो होला । हाइड्रोको सेयर मूल्य पनि त्यहि किसिमले बढ्थ्यो होला नि ।

सबैको ग्रोथ एकै किसिमको छैन, केही कमजोरी छन् । लगानीकर्ताले धेरै बढ्यो भन्ने बुझ्नु हुन्छ । ‘म्यानुपुलेसन’ भइरहेको छ, छैन ? यो किन बढ्यो यो किन बढेन ? यहाँ कर्नरिङ भयो, यसमा किन भएन ? कर्नरिङ भएकोमा कति, अर्कोमा कति जोखिम जोखिम छ ? यी कुरा लगानीकर्ताले बुझ्न थालेका छन् । लगानीकर्ताले यो बुझ्नै पर्छ ।

यस्तोमा नियामक निकायको पनि भूमिका पनि हुनुपर्यो होला नि ?

लगानीकर्ताले स्वविवेकले निर्णय गर्ने हो । हामीले यो यसरी गएको छ भन्ने हो । कुनै कम्पनीको अप्राकृतिक तरिकाले बढ्यो भने यहाँ जोखिम हुनसक्छ होसियार हुनुस् है भन्ने हो । यसको बढेको राम्रो, यसको बढेको नराम्रो हामीले भन्ने होइन । हामीले विवेक प्रयोग गर्नुस्, राम्रो गर्नुस् भन्ने हो ।

पहिलेको अवस्था अहिले छैन । अहिले लगानीकर्ताको राम्रै उपस्थिति छ । ४–५ लाख त दैनिक कारोबार गर्ने छन् । पहिला ११ हजार थिए । त्यसमा पनि सीमित समूहले म्यानुपुलेट गर्थे । अहिले डिम्याट प्रयोगकर्ता नै २६ लाख पुगेका छन् । कुनै समूहले म्यानुपुलेट गर्ने सम्भावना छैन । सबैले अवसर हेरिरहेका छन् । कुन बढ्छ, कुन घट्छ त्यो हेर्न लगानीकर्ता सक्षम छन् । पहिलेको जस्तो असाध्यै घट्ने वा असाध्यै बढ्ने सम्भावना छैन ।

तिहारपछि बजारले राम्रै गति लिएको देखिन्छ, अब यसरी बढ्दैन ?

बढ्न त अहिले पनि राम्रै बढिरहेको छ । बढ्ने भनेर ह्वात्तै बढ्ने अब नहोला । अहिले जति बढेको छ, यो नराम्रो होइन । समानुपातिक ढंगले अघि बढ्नु पर्छ ।

बजार त म आएदेखि नै बढ्न थालेको छ । घटबढ बजारमा निर्भर रहन्छ । समग्रमा, बजार राम्रै दिशामा अघि बढ्छ । धेरै घट्ने वा निकै बढ्ने हुँदैन । यसमा लगानीकर्ताले नै ध्यान दिनु पर्ने हुन्छ ।

आफूले सेयर किनेको कम्पनीले प्रतिफल दिन सक्छ, सक्दैन । कम्पनी सञ्चालक कस्ता छन् ? संस्थापकहरु कस्ता छन् ? सबै कुरा हेर्नु पर्ने हुन्छ । बजार घट्यो भने आफूलाई कत्तिको जोखिम हुन्छ भन्ने पक्ष हेरेर लगानीकर्ताले लगानी गर्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.