३ असार, मेचीनगर : झापाको निक्कै समस्याका रुपमा रहेको जंगली हात्तीको आतंक दीर्घकालीन समस्या समाधानका लागि आवश्यक बजेट प्रवन्ध गरिदिन नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय तथा कोशी प्रदेश सरकारलाई जिल्ला प्रशासन कार्यालय झापा र मेचीनगर नगरपालिका मार्फत अनुरोध गर्ने निर्णय भएको छ ।
मेचीनगर नगरपालिकाको बाहुनडाँगी क्षेत्रमा केही दिनयतादेखि भारततर्फबाट ठूलो संख्यामा हात्तीहरु आउने गरेको र त्यसलाई धपाउने क्रममा स्थानीय बासिन्दा घाइते भएको, स्थानीय बासिन्दाको खेतीबाली तथा बासस्थानमा समेत ठुलो क्षति पुर्याईरहेको सन्दर्भ उपर छलफल गरी महत्वपूर्ण ५ वटा निर्णय भएको हो ।

मंगलबार झापाको मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको कार्यकक्षमा कोशी प्रदेश सभा सदस्य गोपाल तामाङको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा जिल्लाका सुरक्षा निकायका उच्च अधिकारी, जनप्रतिनिधि, हात्ती पीडितसहित यसक्षेत्रमा क्रियाशील संघ संस्थाका प्रमुख प्रतिनिधिहरुको बैठकमा यस्तो निर्णय भएको हो ।

बैठकले यस कार्यका लागि सम्बन्धित क्षेत्रबाट संघिय सांसद र कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने माननीयहरुलाई समेत पहलकदमीका लागि अनुरोध गर्ने निर्णय गरेकोे बैठकमा सहभागी मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले बताईन् ।
हात्तीलाई धपाउने क्रममा स्थानीयबाट होहल्ला गर्दा हात्ती उत्तेजित भइ झन् धेरै क्षति गर्ने भएकाले हात्ती मानव द्वन्द कम गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, डिभिजन वन कार्यालय, झापा, स्थानीय जानकार व्यक्तिहरुको संलग्नतामा हाती मानव द्वन्द न्यूनीकरण गर्न पहल गर्ने, । तत्काल आवश्यक पर्ने इन्धन, टर्चलाइट लगायतका अत्यावश्यक सामग्री डिभिजन वन कार्यालय, झापाले उपलब्ध गराउने र नपुग भएमा मेचीनगर नगरपालिकाले सहयोग गर्ने समेत बैठकले निर्णय गरेको छ ।

दीर्घकालीन रुपमा समस्या समाधानका लागि फेन्सिङ, बत्तीको प्रवन्ध, सडक मर्मत, तटबन्धन र जनचेतना जगाउन जरुरी हुने भएकाले फेन्सिङका लागि के कति बजेट आवश्यक हुन्छ ? डिभिजन वन कार्यालय झापाले मेचीनगर नगरपालिका र मानव हात्ती द्वन्द व्यवस्थापन तथा वातावारण संरक्षण मञ्च समेतसग समन्वय गरी लागत अनुमान तयार गर्ने र स्रोतका लागि डिभिजन वन कार्यालयले प्राथमिकतामा राखी आवश्यक कार्य गर्ने नि समेत निर्णय भएको । नपुग बजेटका लागि मेचीनगर नगरपालिका लगायतका निकायसग समन्वय गर्ने बैठकले निर्णय गरेको छ ।
साथै एनटिएनसीले समेतत्यस विषयलाई गम्भीरतापुर्वक लिई फेन्सिङ र जनचेतनामुलक कार्यक्रमलाई बजेट प्रवन्ध गर्ने , ठुलो मात्रामा हात्ती आइरहने क्रम रहिरहेमा नेपाली सेनाले गर्न सक्ने सहयोगको बारेमा अरिदमन गणका गणपतिलाई आवश्यक सहयोग र समन्वयका लागि अनुरोध गर्ने ,ठाउँ ठाउँमा तटबन्धन निर्माणबाट पनि हात्ती प्रवेशमा न्यूनीकरण गर्न मद्धत पुग्ने भएकाले जनताको तटबन्धन कार्यालयलाई तटबन्धनको लागि जिल्ला प्रशासन कार्यालयले समन्वय गर्नेलगायतका निर्णय बैठकले गरेको उपप्रमुख मीना पोख्रेल उप्रेतीले बताइन् ।

बैठकमा मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, नेपाली सेना,अरिमदन गण चारआलीका प्रमुख प्रमुख सेनानी प्राजु वस्न्यात, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बु, सशस्त्र प्रहरी वल नेपाल, २ नम्बर हेडक्वाटरका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लामा,डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठ, एनटीएनसी कोशी प्रदेशका प्रमुख वीरेन्द्र गौतम, मेचीनगर–१ का वडाध्यक्ष रामकुमार राई, २ का वडाध्यक्ष दिपक बराल, ३ का वडाध्यक्ष हर्कबहादुर बस्नेत, ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, मानव हात्ती द्वन्द व्यवस्थापन तथा बातावरण संरक्षक मञ्च कार्यबहाक अध्यक्ष राजकुमार घिमिरे, पूर्व अध्यक्ष हरिप्रसाद उप्रेती, महासचिव रमेशकुमार दाहाल, कोषाध्यक्ष निर्मला सुवेदीलगायतले हात्तीका समस्या दिर्घकालिन समाधानका बारेमा बैठकमा छलफल गरेका थिए । बैठकको सहजीकरण झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले गरेका थिए ।

बैठकमा नेपाली सेनाको अरिमदन गण चारआलीका प्रमुख सेनानी बस्न्यातले निकुञ्जमा हात्ती धपाउन समस्या नरहेको बताए । उनले बाहुनडाँगी तथा झापामा निकुञ्ज क्षेत्र नभएकोले के गर्न सकिन्छ सम्बन्धित निकायमा जानकारी गराउने बताए ।
























