एजेन्सी ,माघ ८ । जो बाइडनले बुधबार ४६ औं अमेरिकी राष्ट्रपतिको शपथ लिएका छन् ।
अमेरिकाको डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतीय निर्वाचनमा जित हात पारेका बाइडनलाई सर्वोच्च अदालतका प्रधान्यायाधीश जोन रोबर्टले सपथ ग्रहण गराएका हुन् । सपथग्रहण समारोह वासिङटन डीसीस्थित यूएस क्यापिटलमा भएको थियो ।
कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण शपथ ग्रहण समारोहमा सीमित व्यक्तिलाई मात्र प्रवेश दिइएको थियो भने दुई साताअघि भएको हिंसात्मक प्रदर्शनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ।

बुधबार भएको शपथ ग्रहण समारोहमा लेडी गागाले अमेरिकाको राष्ट्रिय गान गाएकी थिइन् । जेनिफर लोपोजले पनि सांगीतिक प्रस्तुति दिएकी थिइन् ।
गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई पछि पार्दै बाइडन विजयी भएका थिए । उक्त निर्वाचनको नतिजामा ट्रम्पले असन्तुष्टि जनाउँदै आएका थिए । तर ट्रम्पका समर्थकहरूको विरोधका बाबजुद अमेरिकी संसदले बाइडनलाई विजयी घोषणा गरेको थियो ।
बाइडनभन्दा पहिला उपराष्ट्रपतिमा कमलादेवी ह्यारिसले सपथ लिएको थिइन् । ह्यारिस अमेरिकाको पहिलो महिला एवं अश्वेत उपराष्ट्रपति हुन् ।
सपथ ग्रहण समारोहमा बोल्दै बाइडनले यो दिन अमेरिकाको लागि इतिहास र आशाको दिन रहेको बताए । उनले आफू सबैको राष्ट्रपति बन्ने प्रतिबद्धता जाहेर गरेका छन् । उनले अहिले अमेरिकाले सामना गरिरहेको समस्या सबै मिलेर समाधान गर्ने बताए । उनले आफूले राष्ट्रपतिको रूपमा सकेसम्म राम्रो काम गर्ने बताए । उनले संविधान, प्रजातान्त्रिक पद्धति र अमेरिकाको हितमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्
























