११ भदौ,इटहरी । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यका भाइ राम आचार्यको असामयिक निधन नभएर आत्महत्या भएको पुष्टि भएको छ। बिहीबार उनको मृत्यु बिषसेवनबाट भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । शवको पोस्ट मोर्टममा संलग्न भएकी जिल्ला अस्पताल सुनसरीकी डाक्टर श्रीया पंगेनीका अनुसार उनको पेटमा बिषादीको असर देखिएको थियो ।
शरिरमा कुनै चोटपटक नभए पनि पेटमा विषको असर देखिएको उनले जानकारी दिइन् ।
पंगेनीले भनिन्, ‘बालीमा लाग्ने किरा मार्ने बिषको सेवनले मृत्यु भएको भित्री अंगहरुमा भएको असरहरुले देखिएको छ । अब कस्तो र कुन बिषबाट भन्ने भिसेरा रिपोर्ट आएपछि मात्रै भन्न सकिन्छ ।’
जिल्ला अस्पताल सुनसरीमा भिसेरा रिपोर्टका पुर्वाधार र जनशक्ति नभएकोले रिपोर्टको लागी बाहिरी ल्याबमा लानुपर्ने डाक्टर पंगेनीको भनाइ छ । भिसेरा परीक्षण पेटभित्रका अंगहरुमा परेको असर हेर्नलाई गरिन्छ ।
आचार्यले बिगत दश बर्षदेखि डिप्रेसनको औषधि सेवन गर्दै आएको पनि खुलेको छ । गम्भीर मानसिक रोगबाट पीडित रहेका उनलाई पछिल्लो दुई बर्षदेखि घरभित्रै राखिएको थियो । हत्पती कोठाबाट बाहिर निस्किन दिइन्नथ्यो । उनी आफ्नो कोठामा एक्लै सुत्थे ।
बाहिर निस्केपछि बेसुरले जहाँसुकै हिँड्ने भएकाले सम्भावित दुर्घटनाबाट जोगाउन घरमै राखिएको पाइएको छिमेकी बसन्त सुवेदीले बताए ।
हिजो बिहान ढिलोसम्म पनि नउठेकोले बोलाउँदा मृत भेटिएको स्थानिय सुबेदीको भनाइ छ । शव नजिकै विषको बट्टा भेटिएको उनले बताए ।
पोष्टमार्टमपछि आचार्यको हिजै स्थानीय सुनसरी नदीमा अन्त्येष्टी गरिएको थियो ।


























