काठमाडौं, जेठ २२: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पतञ्जली योगपीठको जग्गा सट्टापट्टा/बिक्री प्रकरणमा अनियमितता गरेको आरोपमा अख्तियारले बिहीबार (आज) विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएको छ।
नेपालको इतिहासमा यो पहिलो पटक हो, जब कुनै पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ। यसअघि अख्तियारले यस विषयमा अनुसन्धानका क्रममा नेपालसँग बयानसमेत लिएको थियो।
यसका साथै, मन्त्रिपरिषद्को सामूहिक निर्णयमाथि नै भ्रष्टाचारविरुद्धको मुद्दा चलेको पनि यो पहिलो घटना मानिएको छ। भ्रष्टाचार मुद्दा दायर भएसँगै पूर्वप्रधानमन्त्री नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ।
अख्तियारले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ (१८,५८,५०,०००/-) बिगो कायम गर्दै जरिवाना र सजाय मागदाबी गरेको छ।
के हो पतञ्जली जग्गा प्रकरण र आरोप?
आयोगका अनुसार, भारतको पतञ्जली योगपीठले काभ्रेमा आयुर्वेद शिक्षालय, अस्पताल र जडीबुटी फार्म सञ्चालन गर्न भन्दै हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो। भूमिसम्बन्धी ऐन, २०२१ अनुसार उत्पादनमूलक उद्योग वा व्यवसायका लागि सरकारले हदबन्दीमा छुट दिने व्यवस्था छ। तर, त्यसरी छुटमा खरिद गरिएको जग्गा बिक्री गर्न पाइँदैन। कम्पनी विघटन भएको खण्डमा यस्तो जग्गा स्वतः सरकारीकरण हुने कानूनी व्यवस्था छ।
तर, २०६६ साल माघ १८ गते माधव कुमार नेपाल प्रधानमन्त्री रहेको मन्त्रिपरिषद्ले पतञ्जलीलाई काभ्रेमा ८१५ रोपनीसम्म जग्गा किन्न हदबन्दी छुट दिने निर्णय गरेको थियो। त्यसक्रममा पतञ्जलीले करिब ६ सय रोपनी जग्गा खरिद गरेको थियो।
खरिद गरेको केही समयपछि नै पतञ्जलीले सो जग्गा बेच्ने निर्णय गर्यो, जसलाई २०६६ सालमै तत्कालीन मन्त्रिपरिषद्ले अनुमति दिएको थियो। अख्तियारको ठहर छ कि हदबन्दी छुटमा पाएको जग्गा बिक्री गर्न सरकारले नै अनुमति दिनु अनियमितता हो। यस प्रकरणमा तत्कालीन कानून मन्त्री प्रेमबहादुर सिंह र भूमि सुधार सचिव छविराज पन्त लगायत पनि प्रतिवादी बनाइएका छन्।
माधव नेपालको प्रतिक्रिया
मुद्दा दायर भएपछि पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले आफूले यस प्रकरणमा कुनै बदमासी नगरेको दाबी गरेका छन्। उनले भने, “कसले के लुपहोल राखे होलान्, मलाई त्यसबारे जानकारी भएन। पतञ्जलिजस्तो संस्थामा त्यस्तो होला भन्ने मैले कल्पना पनि गरेको थिइनँ।” उनले प्रधानमन्त्रीले आफ्नो राजनीतिक भविष्य नै सिध्याउन खोजेको प्रतिक्रियासमेत दिएका छन्। उनले पतञ्जली योगपीठ प्रकरणमा मात्र नभई भ्रष्टाचार वा बदनियत राखेर कसैसँग एक रुपैयाँ पैसा नलिएको दाबी गरे।
एकीकृत समाजवादी पार्टीले भने यस विषयमा छलफल गर्न महासचिव भुसालको संयोजकत्वमा बैठक बस्ने जनाएको छ।




















