📌 मुख्य बुँदाहरू:
- नायक राजेश हमालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारतसम्बन्धी अभिव्यक्तिको कडा आलोचना गरेका छन्।
- अर्थमन्त्रीले पदीय दायरा नाघेको र नेपालको लामो समयदेखिको परराष्ट्र नीतिको आधारलाई विकृत पार्ने जोखिम मोलेको उनको दाबी छ।
- परराष्ट्र नीति व्यक्तिगत विवेक वा राजनीतिक सुविधावादको विषय बन्न नहुने हमालको भनाइ छ।
काठमाडौं । नायक राजेश हमालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा हालै भारतलाई लक्षित गर्दै दिएको अभिव्यक्तिको तीव्र आलोचना गरेका छन्। अर्थमन्त्रीको उक्त भनाइलाई उनले ‘चाप्लुसीपूर्ण प्रस्तुति’ को संज्ञा दिएका छन्।
अर्थमन्त्री वाग्लेले आफ्नो पदीय दायरा नाघेको उल्लेख गर्दै हमालले यसले नेपालको लामो समयदेखिको परराष्ट्र नीतिको आधारलाई नै विकृत पार्ने जोखिम मोलेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो प्रस्तुतिले नेपालको सार्वभौमसत्ताको गरिमालाई कमजोर पार्ने बताएका छन्।

परराष्ट्र नीतिमा सम्झौता नगर्न चेतावनी
भारतको नयाँ दिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिटमा सहभागी हुने क्रममा अर्थमन्त्री वाग्लेले गत साता नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकिएको अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिको सन्दर्भलाई कोट्याउँदै हमालले नेपालको परराष्ट्र नीति सधैँ राष्ट्रिय सार्वभौमसत्ता, गरिमा र दीर्घकालीन सिद्धान्तमा आधारित रहेको बताएका छन्।
"यो व्यक्तिगत विवेक वा राजनीतिक सुविधवादको विषय बन्नु हुँदैन," उनले भनेका छन्, "कुनै पनि पदमा बसेको व्यक्तिले नेपालको अन्तर्राष्ट्रिय कदलाई कमजोर पार्ने बयान वा सर्तहरू मार्फत यी आधारहरूसँग सम्झौता गर्नु हुँदैन।"

नेपाल-भारत सम्बन्ध र कूटनीतिक विवेक
नेपाल–भारत सम्बन्ध भूगोल, इतिहास, संस्कृति र जनस्तरको सम्बन्धमा गहिरो रूपमा जोडिएको स्पष्ट पार्दै हमालले छिमेकीसँगको सम्बन्धलाई सुदृढ गर्न गरिने हरेक इमानदार प्रयासको स्वागत गर्नुपर्ने बताएका छन्। तर, यसका साथै देशका प्रतिनिधिहरूबाट परिपक्व कूटनीतिक विवेकको अपेक्षा गरिने उनको भनाइ छ।
यो सम्बन्धलाई व्यक्तिगत चाकरी वा सार्वजनिक उपहासको पात्र बन्ने खालका टिप्पणीहरूमा सीमित गर्न नमिल्ने धारणा व्यक्त गर्दै हमालले राष्ट्रिय अडानलाई सधैँ गरिमापूर्ण र सन्तुलित ढंगले प्रस्तुत गर्नुपर्नेमा जोड दिएका छन्।


















