मेचीनगर, झापा । रोटरी क्लब अफ मेचीनगरले झापाको मेचीनगर-७ स्थित अरनिको माध्यमिक विद्यालयमा नवनिर्मित छात्रामैत्री शौचालय विद्यालयलाई हस्तान्तरण गरेको छ। ग्रामीण क्षेत्रमा रहेको यस विद्यालयका छात्राहरूले भोग्दै आएको शौचालयको समस्या समाधान गर्ने उद्देश्यले क्लबले साढे सात लाख रुपैयाँको लागतमा दुई कोठे पक्की शौचालय निर्माण गरिदिएको हो।
सोमबार आयोजित एक विशेष कार्यक्रमका बीच क्लबकी अध्यक्ष शर्मिला पाठक, वडा नं. ७ का वडाअध्यक्ष प्रह्लादमणि ओली, वडा नं. १५ का वडाअध्यक्ष राजन भट्टराई र क्लबका संस्थापक अध्यक्ष कपिल क्षेत्रीले संयुक्त रूपमा शिलापत्र अनावरण गर्दै शौचालयको उद्घाटन गर्नुभयो।
शौचालय निर्माणका लागि नबिल बैंक, महालक्ष्मी बैंक, रोटरी डिस्ट्रिक्ट ३२९२ र मेचीनगर वडा नं. ७ को कार्यालयले आर्थिक सहयोग जुटाएका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाअध्यक्ष ओलीले रोटरी क्लबको यो कार्य अत्यन्तै सराहनीय रहेको बताउँदै मानवीय सेवामा वडा कार्यालयले सधैं सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो।
विद्यालयका प्रधानाध्यापक विशाल भट्टराईले आर्थिक संकटमा रहेको ग्रामीण विद्यालयलाई महत्वपूर्ण पूर्वाधार सहयोग गरेकोमा रोटरी क्लब र दाताहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। सुरुमा छात्रामैत्री मात्र बनाउने योजना रहे पनि आवश्यकता अनुसार छात्रहरूले पनि प्रयोग गर्न मिल्ने गरी दुई कोठे शौचालय तयार गरिएको क्लबकी अध्यक्ष पाठकले जानकारी दिनुभयो।


























