काँकरभिट्टा, फागुन ९ : यही फागुन २१ गतेदेखि सुरु हुने भनिएको पाँचौँ मेचीनगर गोल्डकप तीन दिनपछि सारिएको छ। प्रतियोगिता अब फागुन २४ गतेदेखि सुरु हुने आयोजक समितिले जानकारी दिएको छ।
आज मेचीनगर गोल्डकप मूल आयोजक समितिले स्थानीय पत्रकारहरूसँगको भेटघाटमा प्रतियोगिता तीन दिनपछि सार्ने निर्णय गरिएको जानकारी गराएको हो।
मूल आयोजक समितिका सहसंयोजक विमल आचार्यले प्राविधिक कारणबस प्रतियोगिता पछि सारिएको बताए। उनले भने, “हाल देशभर फुटबल प्रतियोगिताहरू भइरहेकाले ए डिभिजन क्लबका खेलाडीहरूको समय मिलाउनका लागि गोल्डकप पछि सारिएको हो।”
झापा जिल्ला फुटबल संघका महासचिव एवं गोल्डकप सदस्य शेरबहादुर बस्नेत (सुन्दर) ले मेचीनगर गोल्डकपमा ए डिभिजनका चार, मोफसलका दुई तथा भारतका दुई टोली गरी जम्मा आठ टोली सहभागी हुने जानकारी दिए।
मूल आयोजक समितिका संयोजक एवं कोशी प्रदेशका पूर्व सांसद एवं गोल्ड कप संयोजक श्रीप्रसाद मैनालीले प्रतियोगिता सफल बनाउन सबै राजनीतिक दल, व्यवसायी, समाजसेवी तथा खेलप्रेमीहरू मिलेर काम गरिरहेको बताए। उनले भने, “मेसीले अर्जेन्टिनालाई चिनाए जसरी, मेचीनगरलाई खेलकुदको हव बनाउन गोल्डकपले चिनाउने छ। यसका लागि सबै नगरवासीले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ।”
त्यसैगरी, आयोजक समितिले हालै निर्वाचित प्रेस क्लब मेचीनगरको कार्यसमितिलाई बधाई तथा सम्मानसमेत गरेको छ।
छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेल, सचिव प्रविण अधिकारीलगायतले आफ्नो धारणा राखेका थिए। कार्यक्रमको सहजीकरण आयोजक समितिका सदस्य सचिव राजु कार्कीले गरेका थिए।