झापाका स्वास्थ्यकर्मीले सरकारलाई ज्ञापन पठाए

A notice in Nepali from Mechinagar Ward No. 10

७ माघ भद्रपुर : झापाका स्वास्थ्यकर्मीहरुले कोभिड–१९ को विषयमा विभिन्न १४ बुँदै माग राख्दै सरकारलाई ज्ञापनपत्र पठाएका छन् ।
राष्ट्रिय स्वास्थ्यकर्मी संघमा आबद्ध स्वास्थ्यकर्मीहरुले कोभिड–१९ को आमिक्रोन भेरियन्ट समुदायस्तरमै तीव्र रुपमा फैलिइरहेको भन्दै अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न र नियमित तथा महामारीसम्बन्धी स्वास्थ्य सेवा प्रदान गर्न सक्रियताका साथ सरकारी संयन्त्र परिचालन हुनुपर्ने माग गरेका छन् ।

राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, जिल्ला कार्यसमिति झापाका अध्यक्ष भरत खतिवडाको नेतृत्वमा आज जिल्ला प्रशासन कार्यालय झापा पुगेको स्वास्थ्यकर्मीहरुको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् ।

स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई बुझाइएको ज्ञापनपत्रमा सरकारी, निजी, सामुदायिक र अध्ययन संस्थानहरुमा कार्यरत सबै स्वास्थ्यकर्मी र कर्मचारीलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने, सो सुविधा उपलब्ध नगराउने संस्थाहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने, अस्पताल र स्वास्थ्य संस्थामा काम गरिरहँदा संक्रमित भएका सबै स्वास्थ्यकर्मीहरका लागि सुविधायसक्त आइसोलेसनको व्यवस्था गर्नुपर्ने, संक्रमित स्वास्थ्यकर्मीहरुको निःशुल्क उपचार गर्नुपर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा कार्यरत सबै कर्मचारीको यथाशीघ्र बीमाको व्यवस्था गरिनुपर्ने उल्लेख छ ।

संघका केन्दीय सदस्यहरु डम्मरबल्लभ मिश्र, रामचन्द्र मिश्र, इन्द्रहरि भट्टराईसमेतको उपस्थितिमा बुझाइएको ज्ञापनपत्रमा सरकारले कोभिड १९ महामारीमा खटिने स्वास्थ्यकर्मीलाई उपलब्ध गराउने भनेको जोखिम भत्ताा हालसम्म पनि पूरा उपलब्ध नगराएकोले तुरुन्त उपलब्ध गराउनुपर्ने, स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा र खोप सेवा प्रदान गर्न खटिने स्वास्थ्यकर्मीलाई पर्याप्त स्वास्थ्य सुरक्षा सामग्री र निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरिनुपर्ने, आल खोप केन्द्रहरुमा देखिने भीड नियन्त्रणका लागि पर्याप्त मात्रामा स्वयम्सेवक र सुरक्षाकर्मी परिचालन गरिनुपर्ने, खोप वा स्वास्थ्य सेवा प्रदान गर्दा हुने भीडभाड, तोडफोड र हातपात गर्न खोज्नेलाई तुरुन्तै कारवाहीसँगै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने, यथाशक्य चाँडो सबै नागरिकलाई कोभिडविरुद्ध पूर्णमात्रा खोपको व्यवस्था गरिनुपर्ने, करारमा नियुक्त भई निरन्तर काम गरिरहेका स्वास्थ्यकर्मीहरुको म्याद थप गरिनुपर्ने, कडाइका साथ जनस्वास्थ्यको मापदण्ड पालना गराउन कडाइ गरिनुपर्ने, खोप सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिमको व्यवस्था गरिनुपर्ने, अस्पताल, सिमानाका हेल्थ डेस्क र स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य सेवा सुचारु गर्न थप जनशक्ति व्यवस्था गरिनुपर्ने र संघ तथा प्रदेशबाट हुने कर्मचारी समायोजन, सरुवा–बढुवा, स्तरबृद्धिलगायतका नियमित कामहरु पारदर्शी ढंगले सञ्चालन गर्न माग गरिएको संघका सचिव महेश नेपालले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मीहरुको मागप्रति नेपाल निजामती कर्मचारी संगठन झापाले ऐक्यबद्धता जनाएको छ भने निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन (सीबीए) झापाका अध्यक्ष लक्ष्मीप्रसाद गुरागाईंले स्वास्थ्यकर्मीहरुले उठाएका माग जायज रहेकोले सरकारले तत्काल ती माग पूरा गर्नुपर्ने बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी रिजालले ज्ञापनपत्र तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाइने प्रतिबद्धता जनाउनुभएको सचिव नेपालले बताउनु भयो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.