७ माघ, मेचीनगर : झापा जिल्ला स्तरीय अनुगमन टोलीले शुक्रबार मेचीनगरका तीनवटा पसललाई जरीवाना र केहीलाई सातदिनभित्र कार्यालयमा उपस्थित हुन पत्रचार गरेको छ ।
जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपाने नेतृत्वको टोलीले मेचीनगरको प्रमुख व्यपारिक बजार काँकरभिट्टा बजारमा किराना, औषधि, ज्वलर्स, मासु, होटल, मिठाईलगायतका पसल अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा आवश्यक कागजात चुस्तदुरुस्त नराखेका कारण २ वटालाई जनही ५÷५ हजार र एउटालाई २ हजार रुपैयाँ जरीवाना गराइएको अुगमनन टोलीमा संलग्न आन्तरिक कार्यालय झापाका प्रतिनिधि जनक बस्नेतले जानकारी दिनुभयो । केही मासु पसलाई ७ दिनभित्र सम्बन्धित कार्यालयमा उपस्थित भएर आवश्यक कागजात नवीकरण तथा व्यवसाय दर्ता गर्नका लागि अनुगमन टोलीले पत्र दिएको छ ।
कोभिड १९ संक्रमणको समयमा बजारमा खाद्यसहित अत्यावश्यक वस्तुको कृत्रिम अभाव हुन नदिन तथा बजारमा हुने कालोवजारी र खाद्य सामग्रीको मुल्य बृद्घि नियन्त्रण गर्न मेचीनगरमा बजार अनुगमन गरीएको सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो ।
टोलीले खुद्रा व्यवसायीहरुलाई होलसेल व्यवसायीले जारी गरेको वील विजक सुरक्षित राख्न संकटका बखत दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र कालो बजारी नगर्न व्यवसायीलाई सुझाव दिईएको थियो । अधिकाँश पसलमा मूल्यसूची राखेको नभेटेपछि टोलीले तत्काल मूल्य सूची राख्न र दैनिक ‘अपडेट’ गर्न भनेको छ । प्रत्येक खाद्य पदार्थको उत्पादन मिति, ‘एक्सपायर डेट’ लेवल हेरेर खरीद विक्री गर्न , खाद्य पदार्थको गुणस्तरमा ध्यान दिन सुझाँव दिइएको टोलीमा संलग्न मेचीनगर नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताउनुभयो । केही होटल र मिठाई पसलको भान्सा समेत मापदण्ड विपरीत भएकाले मापदण्ड कायम गर्न भनिएको छ ।
दैनिक उपभोग्य वस्तुलगायत स्वास्थ्य सामग्रीको बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, म्याद सकिएका खाद्य वस्तुको ‘रिलेवलिङ’ गर्ने जस्ता गैरकानुनी काम गर्ने उद्योगी व्यवसायीलाई कानून बमोजिम कडा कारवाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले चेतावनी दिनुभयो । कानून विपरीतको कार्य हुन नदिन जिल्ला तथा नगरस्तरीय बजार अनुगमन टोलीले बजार अनुगमनलाई तीव्रता दिने र कानून विपरीत कार्यमा संलग्न जो कोहिलाई पनि कानून बमोजिम कडा कारवाही गर्ने उहाँको भनाई छ । पुनः अनुगमन गर्दा यस्तै फेला परे कानुनी कारवाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो ।
अनुगमन टोलीमा मेचीनगर नगरपालिकाका खाद्य अधिकृत दीपेन्द्र कार्की, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका खाद्य अनुसन्धान अधिकृत भरतबहादुर पुरी, जिल्ला प्रशासन कार्यालय झापाका नायव सुब्बा यदुनन्दन दाहाल, घरेलु तथा साना उद्योग कार्यालय झापाका अधिकृत विनोद न्यौपाने, आन्तरिक राजस्व कार्यालय भद्रपुरकाजनक बस्नेत, गुणस्तर तथा नापतौल कार्यालय भद्रपुर अमितकुमार कर्ण, स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँ,इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी सहायक निरीक्षक महानन्द दुलाललगायतको सहभागिता थियो ।

























