लक्ष्मी उप्रेती
काँकरभिट्टा, २ पुस । प्रदेश नम्बर १ मै पहिलो पल्ट झापाको मेचीनगरमा छाडा चौपाया र अन्य जीवजन्तुको हेरचाह र संरक्षण गर्ने उद्देश्यले आवास तथा उपचार गृह सञ्चालनमा आएको छ ।
झापाको मेचीनगर—६ स्थित रमाइलो गाउँमा ‘होप फर एनिमल्स नेपालले’ सम्भवत १ नम्बर प्रदशेमा पहिलो पटक सञ्चालनमा ल्याएको आवास तथा उपचार गृहको मेचीनगर नगरपालिका वडानम्बर— ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेल, रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष कृष्णकान्त खनियाँ काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कोषाध्यक्ष दिलीप सुवेदीले संयुक्तरुपमा गर्नुभएको थियो ।
विभिन्न कारणले रोगी, बिरामी, असहाय, अशक्त, तथा घाइते भएका वन्यजन्तुको उपचार तथा व्यवस्थापनका लागि गृह सञ्चालनमा ल्याईएको ‘होप फर एनिमल्स नेपाल’ का अध्यक्ष डक्टर मनिषा सुवेदीले बताउनुभयो । उहाँले अहिले गृहमा सामुदायिक कुकुर, सर्प र विरालो राखिएको बताउनुभयो ।
‘ ‘होप फर एनिमल्स नेपालले ’ १८ अक्टोवरदेखि काम गरिरहेको छ ’ अध्यक्ष डक्टर सुवेदी भन्नुभयो—‘ हामीले पहिलो चरणमा करीव सात सय बढी सामुदायिक कुकुरहरुलाई हरियो वेल्ड लगाउने काम गर्यौ । जस्ले गर्दा रातको समयमा टाढैबाट कुकुरको पहिचान हुन सक्ने र सडमा जताभावीरुपमा छाडीएका सामुदायिक कुकुरका कारण सडक दुर्घटना कम होस भन्ने उद्घेश्यले यसो गरियौं ।’ त्यसपछि मानिसलाई गास र वासको आवश्यकता पर्छ त्यसरी नै जनावरलाई पनि खान र वस्न पाउनु पर्छ भन्ने उद्घेश्यले १५ दिनसम्म हामी सवै जनावारलाई खानाको व्यवस्था गरियौ । गासको व्यवस्था भएपछि अहिले आवासको व्यवस्था गरेको उहाँको भनाई छ ।
छाडा र वेवारिसे चौपाया तथा विभिन्न कारणले घाइते र रोगी भएका जनावरलाई तत्काल उद्घार गरी उनीहरुलाई उपचार गर्नका लागि हाल गृहमा तीनजना पशु चिकित्सकको व्यवस्था मिलाइएको छ । सकेसम्म गृहमै उपचार गर्ने गृहमा उपचार सम्भव नभए सुविधा सम्पन्न पशु अस्पताल र विशेषज्ञकहाँ आफै लिएर जाने गृहका पशु चिकित्सक सुशान्त ढकालले बताउनुभयो ।
रोगी वा घाइते जनावरलाई उपचार पछि उनीहरुकै बासस्थानमै लगेर छाडिने उहाँको भनाई छ । अहिले गृहमा आवश्यक उपकरण तथा औषधिको अभाव रहेकाले स्थानीय सरकारले सहयोग गरिदिन आग्रह गर्नुभयो ।
मेचीनगर नगरपालिका वडानम्बर—६ का वडाध्यक्ष ललितबहादुर तामाङ्ले मानिसको जस्तै पशुको पनि अधिकारी रहने भएकाले पशु अधिकारको रक्षा गर्नु मानवजातिको कर्तव्य रहेको बताउनुभयो । यसले गर्दा सडमा देखिने सामुदायिक कुकुरको आतंक कम हुने, सडकमा छाडीएका चौपायाका कारण हुने दुर्घटना न्यूनिकरण हुने विश्वास व्यक्त गर्नुभयो ।