बाहुनडाँगी | बाहुनडाँगी जेसीजको १० औँ स्थापना दिवसमा अवसरमा शुक्रबार भव्य रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नोवल कोरोना भाइरस कोभिड १९ का कारण अहिले विश्व बन्दाबन्दीको अवस्थामा रक्त बैंकहरुमा रगतको अभाव नहोस भन्ने उद्घेश्यले आफ्नो स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको बाहुनडाँगी जेसीज सन् २०२० का अध्यक्ष सागर कार्कीले बताउनुभयो ।
यसअघि १८ औं पटक रक्तदान गर्नुहुने जेसीजका पुर्व अध्यक्ष बद्री निरौलाले रक्तदान गरी कार्यक्रमको विधिवत उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा यसअघि १३ पटक सम्म रक्तदान गर्नुहुने सुशील कार्कीले समेत रक्तदान गर्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाईटि भद्रपुर शाखाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ६ महिला र ३४ पुरुषगरी कुल ४० जनाले रक्तदान गरेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । संकलित रगत नेपाल रेडक्रस सोसाईटिलाई हस्तान्तरण गरिएको छ । यसअघिका वर्षमा विविध कार्यक्रमसहित संस्थाले आफ्नो स्थावपना दिवस मनाउदैं आएको भएपनि वर्तमान परिस्थितीलाई मध्यनजर गरी रक्तदान कार्यक्रम गरिएको अध्यक्ष कार्कीको भनाई छ ।
उहाँले रगत अभावमा कसैले पनि अकालमै मृत्युवरण गर्नु नपरोस र जिल्लाका रक्त बैंकहरुमा रगतको अभाव नहोस भन्ने उद्घेश्यले सामाजिक जिम्मेवारी वहनका लागि पनि रचनात्मक रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।