काँकरभिट्टा, ५ चैत | पूर्वीनाका काँकरभिट्टा भएर चालु आर्थिक वर्ष २०७७/०७८ को माघ मसान्तसम्ममा ४ अर्व २२ करोड ७१ लाख रुपैयाँ बराबरको अलैची निर्यात भएको छ । जुन परिमाण वितेको आर्थिक वर्ष २०७६/०७७ को सोहि अवधिको तुलनामा अलैचीको निर्यात तेव्वर रुपमा वृद्घि भएको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ ।
कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ को साउनदेखि माघ मसान्तसम्ममा यो नाका भएर १ अर्व ४७ करोड ७० लाख रुपैयाँको अलैची निर्यात भएको थियो । भन्सार अधिकारीहरुले बताए अनुसार चालु आर्थिक वर्ष २०७७/०७८ को माघ मसान्तसम्ममा यो नाका भएर भारत, बंगलादेश। भुटान, चीन तथा तेस्रो मुलुकसँग हुने व्यपार नेपालको पक्षमा वलियो देखिएको छ । आयात भन्दा निर्यात बढी भएका कारण व्यपार नेपालको पक्षमा वलियो देखिएको भन्सार अधिकारीहरु बताउछन् । चालु आर्थिक वर्षमा पहिलो पटक तिलको पिना निर्यात भएको छ । नेपालबाट ५ करोड रुपैयाँ मुल्यको पिना बंगलादेश निर्यात भएको हो ।
भन्सार प्रमुख अधिकृत ध्रुवराज विश्वकर्मा आयात क्रमस ओरालो लाग्नु र निर्यातमा बृद्घि हुनुलाई सकरात्मक संकेत ठान्नुहुन्छ । उहाँका अनुसार चालु आर्थिक वर्ष २०७७/०७८ को माघ मसान्तसम्ममा यो नाका भएर ७ अर्व ९६ करोडको नेपाली मालवस्तु निर्यात भएको छ भने गतवर्षको सोहि अवधिमा ६ अर्व ५७ करोड रुपैयाँका मालवस्तु आयात भएका थिए ।
सिटिसि चियाको निर्यात समेत दोव्वररुपमा बृद्घि भएको छ । गतवर्ष यहि अवधिमा १ अर्व ६३ करोडको सिटिसि चिया निर्यात भएको थियो । यो वर्षको माघ मसान्तसम्ममा २ अर्व ५७ करोड ९४ लाख रुपैयाँको चिया निर्यात भएको छ । अदुवा गतवर्ष करीव साढे १४ करोडको निर्यात भएको थियो । यस पटक भने पौने १९ करोडको निर्यात भएको छ । गतवर्ष साढे ३ करोड रुपैयाँको बन्दाकोपी यो वर्ष भने साढे ४ करोड रुपैयाँको निर्यात देखिएको छ । यसैगरी, गतवर्ष २२ करोड ६७ लाख बढीको अम्रिसोको कुचो निर्यात भएको थियो ।
तर, बंगलादेश निर्यात हहुने मसुरो दालको निर्यात भने ओरालो लागेको छ ।