झापाको अर्जुनधारामा ११८औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीको अवसर पारेर सञ्चारकर्मी विष्णुकुल श्रेष्ठसहित विभिन्न क्षेत्रमा योगदान पुर्याउने चार जनालाई सम्मान गरिएको छ।
ज्येष्ठ नागरिक सामुदायिक मिलन समाज अर्जुनधारा–८ को आयोजनामा सम्पन्न कार्यक्रममा साहित्य, पत्रकारिता, अभिनयकला र खेलकुद क्षेत्रका व्यक्तित्वलाई नगदसहित सम्मान गरिएको हो।
अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष शेखरनाथ अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। संस्थाका उपाध्यक्ष नरेन्द्र तिम्सिनाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
चार विधाका व्यक्तित्व सम्मानित
कार्यक्रममा साहित्य विधातर्फ भक्त खपाङ्गी, पत्रकारितातर्फ एपीवान टेलिभिजनका झापा संवाददाता विष्णुकुल श्रेष्ठ, अभिनयकलातर्फ सृष्टि आचार्य र खेलकुदतर्फ फुटबल खेलाडी कमल प्रधानलाई सम्मान गरिएको थियो।
कविता, गजल र गीतले देवकोटाको सम्झना
कार्यक्रममा साहित्यिक तथा सांस्कृतिक प्रस्तुतिसमेत राखिएको थियो। साहित्यकार लोकनाथ पौड्याल र चित्रा पौड्यालले महाकवि देवकोटासम्बन्धी कविता वाचन गरेका थिए।
त्यस्तै, साहित्यकार टंक काफ्ले ‘विकल्प’ले कविता, सिन्धु निरौलाले गजल प्रस्तुत गरेका थिए। हस्त परियार, हरिप्रसाद काफ्ले, आकृति बिष्ट र प्रसुन गुरागाईंले गीत प्रस्तुत गरेर कार्यक्रमलाई सांगीतिक बनाएका थिए।
साहित्यकार भक्त खपाङ्गीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनी प्रस्तुत गरेका थिए। साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको नेतृत्वमा सामूहिक देउसी–भैलोसमेत खेलिएको थियो।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव कृष्णप्रसाद पौडेलले गरेका थिए।




















