६ मंसिर, मेचीनगर : आगामी स्थानीय तहको निर्वाचनमा झापाको मेचीनगर नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट नगर प्रमुखमा उम्मेदवारी दिने तयारीमा रहेका गोविन्द गिरीले आज पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) झापा जिल्ला कमिटी उपाध्यक्ष शिव ढुङ्गेललाई लिएर गिरी नेकपा (एमाले) को केन्द्रीय पार्टी कार्यालय ललितपुरको च्यासलमा अपरान्ह पुगेका थिए ।
करीव २० मिनेटको बसाईमा गिरीले पार्टी अध्यक्ष ओलीलाई आगामी स्थानीय तहको निर्वाचनमा मेचीनगर नगरपालिकामा एमालेका तर्फबाट नगर प्रमुखमा उम्मेदवारी दिने तयारीका जानकारी गराएका थिए । आफ्ना कुरालाई पार्टी अध्यक्ष ओलीले निक्कै ध्यान पूर्वक चासो दिएर सुनेको गिरीले बताए । ‘मलाई टिकट दिनुपर्छ, म निर्वाचनको तयारीमा लागि सके मैले पार्टी अध्यक्ष ओलीसँग कुरा राखे ’ गिरीले भने–‘ मेरा कुराप्रति उहाँ सकरात्मक देखिनुभयो, अनि भन्नुभयो मैले कुरा बुझे मेरो ध्यान अब तपाईसँग पनि छ ।
गिरीलाई पार्टीका माथिल्लो तहका नेता तथा राष्ट्रिय सभाका सदस्यहरुले समेत घुमाउँरो पाराले उम्मेद्वारी दिन संकेत गरेकाले आफु उम्मेद्वारी दिने तयारीमा रहेको गिरीले बताए । पार्टी अध्यक्ष केपी ओलीसँगको यो भेटघाट र आफ्ना कुरामा ओली सकरात्मक देखिएकाले उनलाई नगर प्रमुखको उम्मेद्वार बन्न थप बल र हौसला मिलेको प्रतिक्रिया दिए ।
केहीदिन अघिमा आफ्नो जन्मदिनको अवस पारेर झापा मेचीनगर नगरपालिका– ०६ काँकरभिट्टा निवासी गिरीले नगर प्रमुखमा उठ्ने भनेर सञ्चारमाध्यमहरुलाई बताएका थिए । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा प्रत्यक्ष निर्वाचनबाट दोस्रो पटक उपाध्यक्षमा बाजी मारेका गिरी समाजमा निक्कै लोकप्रिय भएकाले पनि उनको यो तयारीलाई सवैपक्षबाट सकरात्मक रुपमा हेरिएको छ ।




















