मेचीनगर, साउन ५: महिला उद्यमी संघ नेपाल झापाले मेचीनगरमा सदस्य विस्तार कार्यक्रम सम्पन्न गरेको छ। सोमबार धुलाबारीमा आयोजित एक कार्यक्रममा मेचीनगरमा महिला उद्यमी संघको तदर्थ समिति गठन गरिएको हो। यो पहल महिला उद्यमीहरूका उत्पादनलाई सहज रूपमा बजारीकरण गर्न सहयोग पुर्याउने उद्देश्यले गरिएको हो।
मेची उद्योग वाणिज्य संघकी महिला उपाध्यक्ष निर्मला चौहान भण्डारीको संयोजकत्वमा मेचीनगरमा १० जना सदस्य रहने गरी महिला उद्यमी संघ नेपालको तदर्थ समिति गठन गरिएको छ।
संयोजक चौहानको नेतृत्वमा विमला भट्टराई, लक्ष्मी धिमाल, रेखा श्रेष्ठ, निर्मला खनाल, निलु राई, प्रमिला थेवे, रेणुका खनाल, लीला रिजाल, कविता खनाल मिजार, माया प्याकुरेल र सुस्मिता प्रधान सदस्य रहेका छन्। समितिमा रहेका कविता र माया मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्यसमेत हुन्। संयोजक चौहानले पछि कार्यसमितिलाई बढाएर बृहत् कार्यक्रम गरिने बताएकी छिन्।
कार्यक्रमका प्रमुख अतिथि मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री (किशोर) ले महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीलाई बजारीकरण गर्न संघले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा महिला उद्यमी संघ नेपाल झापाकी संस्थापक अध्यक्ष गोमा भट्टराई र हिमालयन इङ्लिस स्कुलका प्रिन्सिपल जगतबहादुर तामाङ लगायतले शुभकामना व्यक्त गरेका थिए।
महिला उद्यमी संघ नेपाल झापाकी पूर्व अध्यक्ष सुष्मा भण्डारीले संस्थाको गतिविधिबारे प्रकाश पारेकी थिइन् भने कार्यक्रमकी संयोजक निर्मला चौहानले स्वागत मन्तव्य दिएकी थिइन्। महिला उद्यमी संघ नेपाल झापाकी अध्यक्ष शर्मिला अधिकारीले कार्यक्रमको अध्यक्षतासहित औचित्यमाथि प्रकाश पारेकी थिइन् भने सचिव पुनम अधिकारीले कार्यक्रम सञ्चालन गरेकी थिइन्।





















